दोलखा । दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेर पर्यटकिय महत्व बोकेको धार्मिक तथा प्राकृतिक सम्पदा जटापोखरीमा राज्यका कुनैपनि निकायको ध्यान पुग्न नसकेको पाईएको छ ।
धार्मिक तथा प्राकृतिक सम्पदाको रुपमा रहेको जटापोखरी र पाँच पोखरी संरक्षण र प्रबद्र्धनमा कुनै तहको सरकारले पनि तदारुकता नदेखाएको जिरी नगरपालिका वडा नं १ श्यामाका स्थानीय सूर्य बस्नेतको गुनासो छ । विशेष गरी हरेक बर्ष जनैपुर्णिमाको अवसरमा दर्शन र स्नान गर्न हजारौं भक्तजनहरुको भिड लाग्ने भएपनि प्रहरी प्रशासन लगायत राज्यका कुनै पनि निकायको उपस्थिती भने रहने गरेको छैन् ।
जटापोखरी महादेवको दर्शन गर्दा मनले चिताएको वरदान पाईन्छ भन्ने विश्वासका साथ हरेक बर्ष हजारौं भक्तजनहरु त्यहाँ पुग्ने गरेका छन् । खास गरेर दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुपाल्चोक लगायत देशका विभिन्न जिल्लाबाट जटापोखरीमा स्नान र दर्शन गर्न भक्तजनहरु पुग्ने गरेका छन् । समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाईमा रहेको यस पोखरीमा दर्शन गर्न हिँडेका केहि भक्तजनहरु लेक चढ्न नसकेर फर्कने गरेका छन् । यस पोखरीमा परापुर्वक कालदेखि नै जनैपुर्णिमाको दिन ठुलो मेला लाग्ने गरेको स्थानिय बयोबृद्धाहरुको भनाई छ ।
त्यस्तै जटापोखरीबाट करिब पौने घण्टाको पैदल यात्रामा पुगिने पाँच पोखरी भने समुद्री सतहबाट ४ हजार ५ सय १४ मिटर उचाईमा पर्दछ । पाँच पोखरीलाई भने प्राकृतिक सम्पदाका रुपमा चिन्ने गरिन्छ ।
यसबर्ष पनि जनैपुर्णिमाको मेला भर्खरै सकिएको छ । मेलाबाट फर्केपछि धेरै दर्शनार्थीहरुले फेसबुक लगायतका सामाजिक सञ्जालमा त्यस क्षेत्रमा लिईएको तस्बिर र भिडियो सार्वजनिक गरीरहेका छन् । ती तस्बिर र भिडियो हेरेर धेरैले कमेन्ट मार्फत नै त्यहाँ पुग्ने ईच्छा समेत देखाएका छन् । यसबाट जटापोखरी र पाँच पोखरीको प्रचारप्रसार गर्न सके पर्यटकिय विकासमा धेरै टेवा पुग्ने प्रष्ट छ । लुकेको धार्मिक आस्थाभन्दा देखिएको प्राकृतिक सुन्दरताले अझ मानिसहरुलाई धेरै लोभ्याएको छ ।
यसबर्षको मेलामा दोलखा लगायत विभिन्न जिल्लाबाट २० हजार भन्दा बढी मानिसहरु त्यहाँ पुगेको स्थानिय र दर्शनार्थीहरुकै अनुमान छ । कोरोना संक्रमणको जोखिमका कारण गरिएको लकडाउनमा धेरै मानिसहरु गाउँघरमै रहेकोले यस बर्ष भक्तजनहरुको भिड लागेको स्थानियबासी बताउँछन् । दोलखाको जिरी हुँदै रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेको खरानेटार तथा श्यामाको पुम्पा नाकाबाट धेरै मानिसहरु यस क्षेत्रमा पुग्ने गरेका छन् । श्यामाको पुम्पाबाट पुरापुर एकदिनको पैदल यात्रापछि जटापोखरी पुग्न सकिन्छ । यसका साथै दोलखाको उत्तर पुर्वी क्षेत्र चेर्दुङ र सोलुखुम्बु उत्तर पश्चिमबाट पनि त्यस पोखरीमा आउने नाका रहेको स्थानीयको भनाई छ ।
यति धेरै पर्यटकिय सम्भावना बोकेको ठाउँमा भने अहिलेसम्म स्थानिय सरकारले समेत उचित व्यवस्थानमा चासो नदिएको हो । रात नै बास बसेर दर्शन गर्नुपर्ने र हजारौं मानिसहरु पुग्ने ठाउँमा एउटा शौचालय समेत नहुँदा मानिसहरुबाट बिसर्जन भएको फोहोर मैला र अन्य फोहोरले प्राकृतिक सुन्दरता प्रदुषण बढ्दै जाने निश्चित छ । अर्को कुरा महिला र पुरुष दुवैले एउटै ठाउँमा स्नान गर्नुपर्ने बाध्यताले गर्दा महिलाहरुलाई अत्यन्तै असहज भएको महिला दर्शनार्थीले गुनासो गरेका छन् ।
यसका साथै हजारौं दर्शनार्थीले चढाउने भेटी बापतको पैसा अहिलेसम्म कुनै पनि पक्षले जर्गेना गर्न नसक्दा बर्षेनी झण्डै लाखौं रुपैँया खेर गईरहेको छ । तसर्थ स्थानिय सरकारको अगुवाईमा यस्ता धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुको उचित व्यवस्थापनका लागि संरक्षण समिति गठनदेखि अन्य व्यवस्थापिकिय पक्षमा ध्यान दिनुपर्नेमा स्थानियले जोड दिएका छन् । तथापि दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने यस क्षेत्र कुन जिल्लाको मान्ने भन्ने विषयमा मतमतान्तर देखिन थालेपछि दुवै जिल्लाका सरोकारवाला निकायहरु मौन देखिएको कतिपयको बुझाई रहेको छ ।