काठमाण्डौं विश्वविद्यालय अन्तर्गत धुलिखेल शिक्षण अस्पतालले आफ्नो शाखाको रुपमा दोलखा बजारमा दोलखा अस्पताल संचालनमा ल्याएको छ । गत भाद्र १ गतेबाट पूर्णरुपमा सेवा प्रवाह गर्न थालेको अस्पतालका विशेषता र नागरिकमा स्वास्थ्य सेवाको पहुँचको विषयमा काठमाण्डौं विश्वविद्यालय धुलिखेल शिक्षण अस्पतालका सहप्रध्यापक तथा दोलखा अस्पतालका प्रबन्ध निर्देशक डा.रोशनकुमार महतोसँग भिलेज खबरले गरेको कुराकानी ः
कोरोना महामारीकैबिच धुलिखेल अस्पतालले दोलखामा शाखा बिस्तार गर्नुको खास कारण के हो ?
धुलिखेल अस्पतालले २०७२ को भूकम्पको केहि महिनापछि तत्कालिन गौरीशंकर जनरल अस्पताल नेपाल छारेरोग संघसँग सम्झौता गरेर लिएको हो । भूकम्पले जिर्ण बनेको भवनको हामीले पुनःनिमार्ण गरेर नयाँ भवनबाट करिब एक बर्षअघिदेखि सेवा दिन शुरु गरेका थियौं । अहिलेचाहिँ हामीले करिब एक महिनाअघिदेखि पूर्णरुपमा सेवा शुचारु गरेको हो । हामी भर्खरै महामारीकोबिचमा आएको भन्नेचाहिँ होईन् । सन् १९९६ देखि नै धुलिखेल अस्पतालले स्वास्थ्य सेवा जनताको घरदैलोमा भन्ने कार्यक्रम अन्तर्गत विभिन्न नौ जिल्लामा १८ वटा स्वास्थ्य केन्द्रसहित संचालनमा आएका थियौं र त्यहि क्रममा सन् २०१२ मा किर्नेटार स्वास्थ्य केन्द्र शुरु गरेर दोलखा प्रवेश गरेकोमा हाल दोलखा अस्पताल संचालन गरेका हौं । यसबाट विशेषज्ञ सेवा जनताको घरदैलो र जनताको पहुँचमा पुगोस भनेर हामीले सेवा विस्तार गरेका हौं ।
दोलखा अस्पतालले पूर्णरुपमा सेवा शुचारु गरेर के–कस्ता स्वास्थ्य सेवाहरु नगरिकलाई दिईरहेको छ ?
हामीले भाद्र १ गतेदेखि पूर्णरुपमा सेवा शुचारु गरेपछि २४ सै घण्टा आकस्मिक सेवा, विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म ओपिडी सेवा संचालन गरेका छौं । विशेषज्ञहरुद्वारा स्त्री रोगको उपचार, फिजीयोथेरापी, ईसिजी, सामान्य शल्यक्रिया, दन्त सेवा, शल्यक्रियासहितको प्रसुती सेवा, एपेन्डिक्ससाईटको अपरेसन लगायतका उपचारहरु गरीरहेका छौं । त्यस्तै नेपाल सरकारसँगको सहकार्यमा सर्पले टोकेका बिरामीको उपचार र निःशुल्क परिवार नियोजन सम्बन्धि सेवाहरु पनि दोलखा अस्पतालमा उपलब्ध छन् । अब सेवा थपको विषयमा पनि हामी तयारी गरीरहेकै छौं । ठुलो उमेरको मानिसहरुको लागि ३ वेड र बच्चाको लागि ५ बेडसम्मको आईसियु र एनआईसियु तयारी गर्ने कामहरु भईरहेको छ । अहिलेका लागि यहाँबाट प्रदान गर्न नसकिने सेवाहरु एमआरआई, सिटी स्क्यान लगायतका लागि धुलिखेल अस्पताल रेफर गर्ने नै हाम्रो विकल्प हो ।
ठूलो–ठूलो अस्पतालले आफ्नो शाखा अस्पताललाई रेफरल सेन्टरको रुपमा विकास गरेर बिरामी आफूतिर तान्ने र गरेको भन्ने आरोप लाग्ने गरेको छ, दोलखा अस्पतालको हकमा तपाई के भन्नुहुन्छ ?
धुलिखेल अस्पताल सन् १९९६ मा ‘जनताको घरदैलोमा स्वास्थ्य सेवा’ भनेर शुरु गरिएको समुदायको अस्पताल हो । धुलिखेल अस्पतालमै हामी ४० रुपैँयामा नयाँ बिरामी जाँच्छौं, ३५ रुपैँयामा फलोअपमा आउने बिरामी जाँच्छौं, ३ सय ५० रुपैँयामा दैनिक ४ छाक खाना खुवाएर बिरामी भर्ना गर्छौ । समुदायमा यसरी स्वास्थ्य सेवा दिने अस्पतालले विरामी तान्न कुनै दुःख गर्न पर्दैन जस्तो लाग आजको सिनारियोमा । निजीमा त्यस्तो हुन सक्ला । हामीले त जहाँ स्वास्थ्य सेवाको पहुँच छैन, त्यहाँ मात्र शाखा बिस्तार गरेको हौं । पूर्ण रुपमा सेवा शुचारु गरेको एक महिनामा लकडाउनकै अवधिमा पनि करिब एघार सय नागरिकलाई सेवा दिएका छौं । जसमध्ये २ सय ३५ जना त भर्ना भएर उपचार गर्नुभयो । ८ वटा शल्यक्रिया सहितको २३ जनालाई प्रसुती सेवा र एकजनाको एपेडिक्ससाईटको अपरेसन समेत गरेका छौं । हामी त नेपाल सरकारले दिएका कुनै पनि सेवामा डुप्लिकेसन अर्थात दोहोरोपना नहुने गरी सेवा प्रदान गर्न चाहान्छौं । तपाईले भनेजस्तो आरोप नआउला भन्न सकिन्न तर हाम्रो उद्धेश्य त्यस्तो होईन् ।
तपाईहरुले जसरी सर्वसुलभ मूल्यमा स्वस्थ्य सेवा दिईरहँदा बिरामीको चाप अस्पतालमा बढ्यो भने गुणस्तरिय सेवा कसरी दिनसक्नुहुन्छ ?
हो, बिरामीको संख्या बढ्यो भने गुणस्तरीय सेवा दिन कठिनाई हुन सक्छ । तसर्थ अघि मैले भनेझैं बिरामी तान्ने भन्दा पनि हामीले समुदायका नागरिकहरु बिरामी नै नपरुन भनेर स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु समेत गर्ने गरेका छौं । यसबाट पनि त पुष्टी हुन्छ, कि धुलिखेल अस्पताल बिरामी तान्न होईन सकेसम्म जनचेतना जगाएर बिरामी पर्ने अवस्था नै आउन नदिन र कोहि बिरामी परिहाले सर्वसुलभ मुल्यमा उपचार दिन तयार छ ।
धुलिखेल अस्पताल र दोलखा अस्पतालमा पाउने सेवा सुविधामा के फरक छ ? वा उस्तै छन ?
नागरिकलाई स्वास्थ्य सेवा दिने कुरामा दुवै अस्पताल बराबर जिम्मेवार र सक्षम छन् । तथापि करिब २५ बर्षअघिदेखि संचालित धुलिखेल अस्पतालमा पाउनेजति सबै सुविधा दोलखा अस्पतालमा पूर्णरुपमा अहिले नै हामी दिन सक्दैनौं । त्यहाँका विशेषज्ञहरु पनि यहाँ आएर यहाँको नियमित भन्दा बढी सेवा दिनुहुनेछ । शुल्कको विषयमा अझ हामी धुलिखेल अस्पतालभन्दा दोलखा अस्पतालमा ३० देखि ४० प्रतिशत कम मुल्यमा सेवा दिईरहेका छौं । दोलखामा हामीले ३० रुपैँयामा नयाँ बिरामी र २५ रुपैँयामा फलोअपमा आउने बिरामी जाँचिरहेका छौं । १ सय रुपैँया इर्मजेन्सी चार्ज र २ सय ५० रुपैँयामा एक रात बिरामीलाई भर्ना गरेर राख्ने गरेका छौं । निःशुल्क सेवा दिगो हुँदैन् भन्ने मान्यताका साथ सर्वसुलभ मुल्यमा हामीले सेवा दिईरहेका हौं । हामीलाई दोलखाबाट केहि लिएर धुलिखेल जानु छैन् । यहिँको श्रोत साधन यहिँ खर्च गर्ने हो ।
दोलखामा निजी क्षेत्रबाट संचालित अस्पतालहरुले महंगो शुल्क लिएरै स्वास्थ्य सेवा दिँदा त दिगो र गुणस्तरीय नभएको जनगुनासो छ, यसरी कम मुल्यको स्वास्थ्य सेवा गुणस्तरीय र दिगो कसरी हुन सक्छ ?
मैले यो अस्पतालमा काम गरेको करिब २० बर्ष हुन लाग्यो । धुलिखेल अस्पताल एउटा शिक्षण अस्पताल पनि हो । हाम्रा उत्पादनमूलक साथीहरु विभिन्न देशमा हुनुहुन्छ । उहाँहरुले ‘नेपाली मेट’ भन्ने संस्थामार्फत भवन निमार्ण तथा उपकरण खरिदका लागि सहयोग गर्नुहुन्छ । जनशक्तिको कुरा गर्नुपर्दा धुलिखेल अस्पतालमा १४ सय जना जनशक्ति छौं । त्यहि जनशक्तिको सानो अंश दोलखामा छ । यो सँगसँगै समुदायमा अन्य विभिन्न माईक्रो फाईनान्स सम्बन्धि कामहरु गरेर आर्थिक व्यवस्थापन गरीरहेका छौं । यस कारण हाम्रो सेवा दिगो र गुणस्तरिय हुनेमा त्यस्तो कुनै आशंका गर्नुपर्ने ठाउँ छैन् ।
किर्नेटार स्वास्थ्य केन्द्र सेवा दिँदादिँदै दोलखा अस्पताल संचालन गर्नुभयो, यसको सेवा क्षेत्र कति हो ?
दोलखा अस्पताल हाम्रो सेवा केन्द्रहरुमध्ये सबैभन्दा ठुलो अर्थात ५५ शैयाको अस्पताल हो । अरु सेवा केन्द्रहरु पाँच दश शैयाको मात्र छन् । यस अस्पतालको सेवा क्षेत्र दोलखा मात्र होईन् । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुसमेत हाम्रो सेवा क्षेत्र हुन् । स्वास्थ्य क्षेत्रमा एक सेकेण्डले धेरै महत्व राख्दछ । तसर्थ धुलिखेल अथवा काठमाण्डौंका अस्पताल पुग्नु भन्दा पहिले नै नजिकमा रहेको दोलखा अस्पतालले बिरामीलाई सेवा दिन सक्यो भने ज्यान बचाउन सकिन्छ ।
अहिले कोरोना महामारी चलिरहेकै छ, यस्तो अवस्थामा दोलखा अस्पतालले कोरोनालाई लक्षित गरेर के गरीरहेको छ ?
यसबारेमा धुलिखेल अस्पतालले शुरुदेखि नै चासो र सरोकारवाला निकायसँग समन्वय गरेर काम गरीरहेको छ । दोलखा अस्पताल र किर्नेटार स्वास्थ्य केन्द्रले जिल्लाका सरोकारवाला निकायसँग मिलेर स्वाब संकलन गरेर धुलिखेल अस्पतालमा परिक्षण गराउने गरिएको छ । दोलखा अस्पतालमा विशेष व्यवस्था गर्न नसकिए पनि आएका बिरामीसँग ट्रियाज विधिमार्फत ज्वरो जाँच र चार वटा प्रश्न सोधिसकेपछि शंकास्पदलाई छुट्टै टेन्टमा राखेर उपचार दिने र कोरोनाको रिर्पोट आईसकेपछि मात्र आवश्यकता अनुसारका व्यवहार गर्छौ । तर किर्नेटार स्वास्थ्य केन्द्रबाट भने नियमित स्वाब संकलन गरी कोभिड डेडिकेटेड एम्बुलेन्स मार्फत स्वाब धुलिखेल पु¥याउने गरेका छौं । साथै कोरोनाका बिरामीलाई लक्षित गरेर ५ बेडको आईसोलेसन कक्षको व्यवस्था छ । हुन त नेपाल सरकारले लक्षणबिहीन कोरोनाका विरामीलाई होम आईसोलेसनमा बस्न भनिसकेको छ । यदि लक्षणसहितको बिरामी भएमा उनीहरुलाई जुनसुकै बेला भेन्टीलेटर चाहिन सक्ने भएकोले त्यो सुविधा हामीसँग नभएको हुँदा धुलिखेल अस्पताल पठाउनुपर्ने हुन्छ । धुलिखेलमा हाम्रो प्रयोगशाला मात्र नभएर कोभिड विशेष प्रदेश प्रयोगशालाले समेत परिक्षणको काम गरीरहेका छ भने जटिल बिरामीका लागि धुलिखेल अस्पतालमा भेन्टीलेटरसहितको सुविधा रहेको छ ।
अन्तमा दोलखाबासी र सरोकारवाला निकायको सहयो कत्तिको पाउनुभएको छ ?
यसमा त शुरुदेखि नै साथ सहयोग पाईरहेकै छौं । जसका कारण आज हामी यो अवस्थामा आईपुगेका हौं । धुलिखेल अस्पतालले समुदायसँगै काम गरेको दुइ दशक नाघिसक्यो । स्वास्थ्य सेवा सबैको पहुँचमा हुनु जरुरी छ । यो कुरा सम्बन्धित सबैले बुझ्नुपर्छ । यसक्रममा स्वास्थ्य कार्यालय दोलखा, भीमेश्वर नगरपालिका, छारेरोग संघ, लायन्स क्लब अफ दोलखा लगायतको सहयोग पाईराखेकै छौं । यसको निरन्तरता र नागरिकको सुझावको सदैव अपेक्षा गर्दछौं, जसले गर्दा हामीले सुलभ मुल्यमा गुणस्तरीय सेवा दिन सकौं ।