दोलखा । युवा क्लबहरुको सक्रियतामा तामाकोशी गाउँपालिका वडा नं ६ च्यामामा कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै १० बेडको क्वारेन्टाईनस्थल स्थापना भएको छ ।
तस्वीरः सामाजिक संजाल
रोजगारीका लागि विभिन्न देशमा पुगेका स्थानीय नागरिकहरु नजिकिँदै गरेको दशैँ तिहार जस्ता चाडपर्वको समयमा गाउँ फर्कने भएकोले उनीहरुलाई व्यवस्थापन गर्ने उद्धेश्यले क्वारेन्टाई निमार्ण गरिएको डाईनामिक युबा क्लबका अध्यक्ष नवराज फूयाँलले जानकारी दिनुभयो । स्थानीय डायनामिक युबा क्लब र सभ्य जागरण युवा क्लबको सक्रियतामा सूर्योदय प्राथमिक विद्यालयको प्रयोगविहीन पुरानो भवनलाई मर्मत गरी क्वारेन्टाईनस्थल बनाईएको हो ।
क्वारेन्टाईन निमार्णका लागि स्थानीय डिल्लेश्वर सामुदायिक वनबाट काठ सहयोग मागेर ल्याई १० वटा बेड निमार्ण गरिएको छ । त्यसैगरी १० वटा बेडको लागि ओड्ने ब्लाङकेट, डस्ना, तन्ना, सिरानी र झुलको समेत व्यवस्था गरिएको छ । चाडपर्वको समयमा गाउँमा मानिसहरु भित्रिने भएकोले क्वारेन्टाईनको आवश्यकता महसुश गरेर काम थालिएको करिब २० दिनमा झण्डै ९० हजार रुपैँया लागतमा निमार्ण सम्पन्न गरिएको सभ्य जागरण युवा क्लबका अध्यक्ष शान्तकुमार चौँलागाँईले बताउनुभयो ।
दुई महिना अगाडि मात्र विधिवत रुपमा दर्ता भएका दुई क्लब मिलेर विदेशबाट फर्किए पनि होम क्वारेन्टाईनमा बस्ने वातावरण नभएकाहरुलाई राख्नको निम्ती क्वारेन्टाईन निमार्ण गरिएको क्लबका पदाधिकारीहरुले बताएका छन् । तत्कालका लागि युवा क्लबले काम गरेको र विभिन्न निकायबाट आर्थिक सहयोग गर्ने आश्वासन समेत आएकोले क्लबको आर्थिक बोझ घट्नेमा क्लबका युवाहरु आशावादी देखिएका छन् ।
कोरोना महामारीको शुरुवाती चरणमा सार्वजनिक ठाउँमा क्वारेन्टाईन निमार्ण गर्न खोज्दा क्वारेन्टाईनमा बस्नेहरुबाट रोग सर्ने त्रासका कारण क्वारेन्टाईन निमार्ण गर्न नदिएकोमा अहिले जनचेतनाको बृद्धि भएसँगै स्थानीयहरुले समेत सहयोग गर्न थालेको भन्दै वडा अध्यक्ष झनकबहादुर खत्रीले खुसी व्यक्त गर्नुभयो ।
गत मंगलबार वडा अध्यक्ष खत्रीसहित गाउँपालिकाका स्वास्थ्य संयोजक अरुणकुमार मिश्र लगायत विभिन्न सरोकारवाला र स्थानीयको सहभागितामा क्वारेन्टाईनस्थलको उद्घाटन गरिएको हो । क्वारेन्टाईन उद्घाटनकै भोलिपल्ट अर्थात बुधबार भारतबाट फर्केका एक पुरुष अहिले सोहि क्वारेन्टाईनमा बसीरहेका छन् ।
यस वडामा सरकारी तबरबाट दुई ठाउँमा व्यवस्थापन गरिएको १० बेडको क्वारेन्टाईनस्थल रहेकोमा नयाँ क्वारेन्टाइएनस्थल निमार्ण भएपछि २० बेडको क्वारेन्टाईनस्थल तयारी अवस्थामा रहेको वडा अध्यक्ष खत्रीको भनाई छ ।