दोलखा । भीमेश्वर नगरपालिका वडा नं ७ नेवारगाउँकी कल्पना श्रेष्ठका दुईवटी छोरीहरु नजिकैको कुटीडाँडा माध्यामिक विद्यालयमा पढ्छन् । दुई छोरीमध्ये जेठी छोरी कक्षा ८ र कान्छी कक्षा ५ मा पढ्छिन् । खेतिपाती गरेर जिविकोपार्जन गर्दै आउनुभएकी कल्पनालाई जेठी छोरी पढाउँदा भन्दा कान्छी छोरी पढाउँदा धेरै सजिलो महसुश भएको छ । यसको कारण प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले निःशुल्क रुपमा प्रदान गर्दै आएको विद्यालय पोशाक र झोला हो । “जेठी छोरीलाई विद्यालयमा पढ्न पठाउने बेलामा विद्यालयको डे«ेस, झोला, खाजादेखि सबै व्यवस्था आफैँले गर्नुपथ्र्यो अहिले कान्छी छोरीलाई विद्यालयको डे«स, झोला र खाजा खर्च समेत सरकारले दिने गरेकोले धेरै सजिलो भएको छ” श्रेष्ठले भन्नुभयो । प्राथमिक तहका विद्यार्थीहरुलाई नगरपालिकाले निःशुल्क विद्यालय पोशाक, झोला र खाजाको समेत व्यवस्था गर्ने गरेको छ ।
भीमेश्वर नगरपालिका वडा नं १ सुष्पाक्षमावतीका गोपाल थामीलाई आफ्नो जातिय संस्कृतिको पहिचान र उत्थान गर्नुपर्छ भन्ने लागेको धेरै भईसकेको थियो । संघिय संरचनामा देश नजाँदै गाविसबाट बजेट विनियोजन गराएर यसको लागि काम गर्न केहि कोसिशहरु भए तर पनि खासै प्रभावकारी रुपमा शुरुवात हुन सकेको थिएन । तर अहिले उहाँकै वडामा रहेको राङराङथलीमा राष्ट्रिय थामी संग्रहालय बनाउने कामको शुरुवात भएपछि धेरै खुसी देखिनुभएको छ । राङराङथली नजिकै परापुर्वक कालदेखि थामी समुदायले मान्दै आएको भूमेपूजा गर्ने सेतीदेवी थान र कुण्डसँगै निमार्ण भईरहेको तिलक पोखरी भीमेश्वर नगरपालिका र आसपासका स्थानीय तहको समेत पर्यटकिय गन्तव्य हुन थालेको थामीको भनाई छ ।
राङराङथली थामी संग्रहालय नजिकै निमार्णाधिन अवस्थामा रहेको तिलक पोखरी
भीमेश्वर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि गरिएको धेरै काममध्ये माथि उल्लेख गरिएका दुईवटा उदहारण मात्र हुन् । पर्यटनको क्षेत्रमा लाँकुरीडाँडामा पर्यटन सूचना केन्द्रसहित बन्दै गरेको प्रवेशद्वार, पार्कहरु, बसपार्कका लागि भईरहेको अध्ययनका कामहरु आफूहरु निर्वाचित भएपछि शुरु भएको नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नं ४ का वडा अध्यक्ष हरिवंश चौँलागाँईले बताउनुभयो । त्यसैगरी एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत तरकारी खेतीमा अगाडि रहेको वडा नं ४ लाई सिँचाईको प्रबन्ध र गोबर ग्याँस उत्पादन गर्नेगरी शहरी क्षेत्रको ढल प्रशोधन गर्न प्रक्रिया थालनी भईसकेको प्रवक्ता चौँलागाँईले जानकारी दिनुभयो ।
प्रस्तावित चरिकोट अस्पतालको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा चार वेडको सघन उपचार कक्ष (आईसियु) र एक वेडको भेन्टीलेटर निमार्णका लागि नगरपालिकाले ७५ लाख रुपैँयाको लगानीमा सामाग्री खरिद गरिसकेको नगर प्रमुख भरत केसीले जानकारी दिनुभयो ।यहि अस्पताललाई प्रदेश स्तरको अस्पतालको रुपमा स्तरोन्नती गर्न लागिएको केसीले बताउनुभयो । उहाँका अनुसार कृषि, पर्यटनसँगै टँुडिखेल रङ्गशाला, कवर्ड हल, खुल्ला चिडियाना, रिचार्ज पोखरी निमार्ण कार्य धमाधम भईरहेको छ । त्यसैगरी भटमासे–जिलु र पाटिखोला–उखुबारी सडक कालोपत्रेका लागि टेण्डर भईसकेको छ । अहिलेसम्म नगरपालिकाले गरेका अधिकांश कामहरु निर्वाचनको बेला आफ्नो पार्टीले स्थानीयस्तरमा बनाएको घोषणा पत्रको आधारमा गरिएको नगर प्रमुख केसीको दाबी छ ।
निर्वाचन बेला घोषणा पत्रमा उल्लेख गरे बमोजिम नै नगरपालिकाले ‘भीमेश्वर उन्नती कोष’ स्थापना गरेको छ । रोजगारको अवसर सीर्जना गर्ने लक्ष्यसाथ स्थापित कोषलाई कार्यान्वयन गर्न वडा नं ७ को भूलभुले औद्योगिक ग्राम निमार्णका लागि भौतिक पूर्वाधारको काम भईरहेको नगरपालिकाले जनाएको छ । घोषणापत्रमा उल्लेख गरेका मध्ये अलपत्र अवस्थामा रहेको चरङ्गे हाईड्रोको व्यवस्थापन गर्न नसकिएको नगर प्रमुख केसीले स्वीकार गर्नुभयो । केसीले भन्नुभयो, “त्यतिबेला साना हाईड्रोको स्कोप थियो, अहिले अवस्था त्यस्तो छैन । अनि लगानीको राम्रो प्रतिफल नआउने भएपछि जनताबाट शेयर उठाएर लगानी गर्नबाट पछाडि हट्नु परेको हो ।” त्यस्तै भीमेश्वरलाई शैक्षिक गन्तव्य बनाउने भनिएकोमा अन्य प्राविधिक धारका शिक्षण संस्थालाई सहयोग गर्दै सर्व मावि जिलुमा बाली विज्ञान विषयमा स्नातक तहको अध्यापन गराउन भौतिक पूर्वाधारको काम भईरहेको छ ।
नगरपालिकाको २० बर्षे आवधिक योजना निमार्णको अन्तिम चरणमा पुगेकोले दिर्घकालिन योजनाको शुरुवात र अल्पकालिन योजनाका कामलाई आफ्नै कार्यकालमा पूरा गर्ने नगर प्रमुख केसीले बताउनुभयो ।
नौ वटा वडा रहेको भीमेश्वर नगरपालिकामा नगर प्रमुख, उपप्रमुखसहित सातजना वडा अध्यक्ष तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ । शिक्षामा लगानी स्कूल जान्छन नानी, रोकौं विदेश जान, खोलौं आफ्नै कारखाना, हाम्रो सडक, राम्रो सडक जस्ता जनमुखी नाराहरु नेकपा एमाले भीमेश्वर नगरपालिकाको चुनावी घोषणा पत्रमा उल्लेख गरिएको छ ।