राजविराज– पूर्वी तराईमा फैलिएकोे डेंगु रोग सप्तरीमा समेत फेला परेको छ। कञ्चनरुप नगरपालिका वडा नं ६ का २७ वर्षीय रामकान्त चौधरीमा डेंगुको संक्रमण देखिएको हाे।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्वर गुप्ताले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपको ल्याबमा चेकजाँच गर्दा चौधरीलाई डेंगुको संक्रमण देखिएको जानकारी दिए। सोही ठाउँका अर्का एक व्यक्तिमा पनि डेंगुको आशंका गरिएको छ। तर उनी चेकजाँचका लागि नआएकाले पुष्टि हुन नसकेको स्वास्थ्य शाखाले जनाएको छ।
त्यसैगरी जमुवामा आठ जनामा ज्वरो तथा डेंगुको लक्षण देखिएको बताइएको छ। बिहिबार वडा मै गएर अन्य व्यक्तिको बारेमा बुझ्ने तथा डेंगुका विषयमा जनचेतना र सावधानीबारे कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए।
उनले भने,‘हामीसँग डेंगु परिक्षण गर्ने किटको अभाव छ। यष विषयमा मन्त्रालयमा जानकारी गराएका छौँ। सबै व्यवस्था भयो भने चेकजाँच र उपचारको व्यवस्था सुरु हुन्छ।’
यसअघि डेंगुका बिरामी धेरै भेटिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ।
बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको हो। धरानमा सबैभन्दा बढी वडा नम्बर १५ र ८ मा डेंगुका विरामी भेटिएका छन्। ती वडालाई डेंगु संकटग्रष्त क्षेत्रघोषणा गरिएको छ। एकै परिवारका चारै जनामा समेत डेंगुको संक्रमण देखिएको छ ।
त्यसका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ सय ७४ जनामा डेंगुको संक्रमण भेटिएको छ। दैनिक ३० जना डेगु संक्रमित प्रतिष्ठानमा आउने गरेका छन्। धरानका अन्य अस्पतालमा थप ७१ जना डेंगुका बिरामी उपचाररत रहेको धरान उपमहानगरपालिकाले जनाएको छ।
वैशाख ३१ गते पहिलो पटक धरान उपमहानगरपालिका १५ मा डेंगु देखिएको थियो। अहिले सुनसरीको इटहरी, बराहक्षेत्र, मोरङको सुन्दरहरैंचा, पथरी शनिश्चरे र विराटनगरसम्म डेंगुका बिरामी फेला परेका छन्।
डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ।
डेंगुको संक्रमण भएपछि एक्कासी उच्च ज्वरो आउने र ५ देखि ७ दिनसम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू देखा पर्ने चिकित्सकहरु वताउँछन् । स्वास्थ्य खबर डटकम