वन संरक्षणमा नेपालले अपार सफलता हात पारेको छ । आज भन्दा २५ वर्ष अगाडि नेपालको कुल भूभागको ३९ दशमलव ६ प्रतिशत जमिनमा वन थियो । अहिले ५ प्रतिशत भन्दा वढि वन क्षेत्र थपिएको छ । उजाड हुन लागेको भिरपाखा फाँटमा हरियाली छाएको छ । वन संरक्षणमा आम समुदायको सकरात्मक योगदान रहेको छ । वन क्षेत्रका अधिकारवाला तथा सरोकारवालाहरुको धारणामा रुपान्तरण भएको छ । वन संरक्षणमा जति उपलब्धि प्राप्त भएको छ त्यसलाई समृद्धिसँग जोड्न सकिएको छैन । वन संरक्षण गर्ने अघिल्लो पुस्ताले वन जोगाइदिए तर अहिलेको पुस्ताले त्यसलाई सहि व्यवस्थापन गरी प्रयोग गर्न सकेको छैन । यस लेखमा वनलाई समृद्धिको साधन वनाउने उपायहरुका बारेमा चर्चा गर्ने कोशिस गरिएको छ ।
अंकमा वन
नेपालमा ६६ लाख ९ हजार ९ सय ४० हेक्टर क्षेत्रफलमा वन रहेको छ । यसलाई प्रतिशतमा लैजाँदा कुल भूभाग मध्ये ४४.७४ प्रतिशतमा वन हुन आउँछ । भूस्वामित्वको आधारमा वन दुई प्रकारको पाइन्छ । एउटा राष्ट्रिय वन र अर्को निजी वन । राष्ट्रिय वन विभिन्न तरिकाबाट व्यवस्थापन भैरहेको छ । ती मध्ये धेरै नागरिक वा जनताको सहभागिता रहेको पद्धती सामुदायिक वन हो । २२ हजार ६ सय ४५ सामुदायिक वन उपभोक्ता समूहहरुलाई झण्डै २२ लाख ७८ हजार ९ सय ८० हेक्टर राष्ट्रिय वन क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण भएको छ । सामुदायिक वन अभियानमा ३१ लाख ८ हजार ९ सय ४४ घरधुरी आवद्ध रहेका छन् । संरक्षित क्षेत्र वाहेक वाँकी रहेको ४९ लाख २९ हजार हेक्टर मध्ये ४५ प्रतिशत सामुदायिक वनको रुपमा देखिन्छ । नेपालको कुल वन क्षेत्रकै हिसाव गर्ने हो भने ३३ प्रतिशत सामुदायिक वनको रुपमा व्यवस्थापन भैरहेको छ । नेपालको कुल भूभागको हिसाव गर्ने हो भने सामुदायिक वनले ओगटेको क्षेत्रफल १५ प्रतिशतको हाराहारीमा हुन आउँछ ।
संरक्षण मात्र गरिरहने सोच र व्यवहार
वन व्यवस्थापनको चर्चा गर्दा संरक्षणमुखी सोच नैं हावी भएको छ । सरकार नियन्त्रित वनको व्यवस्थापनको कुरा त त्यस्तै हो सवैभन्दा कुशलतापूर्वक व्यवस्थापन भएको भनिएको सामुदायिक वन पनि संरक्षणमुखी भन्दा माथि उठ्न सकेको छैन् । यसो हुनुमा नीति निर्माता, वन प्राविधिक, उपभोक्ताहरु सवैको संरक्षणमुखी मानसिकता भएर हो ।
रुख काट्नु वन विनास हो भन्ने सोच अझै पनि छ । सामुदायिक वनको अवधारणा सुरु गर्दा कैं सोच अहिले पनि छ । त्यती वेला वन विनास भएको थियो त्यसैले सवै भन्दा पहिला संरक्षण गर्नु आवश्यक थियो र हुनु पनि पर्दछ । विद्यार्थीको लागि १२ कक्षा भनेको जस्तो । १२ कक्षा पास गरेपछि के बन्ने सोही अनुसार आफनो अध्ययन अगाडि वढाउँछन् । त्यसैगरी सामुदायिक वन पनि संरक्षण पहिलो अनिवार्य विषय हो । त्यसपछि व्यवसायिक बाटो समात्न सक्नुपर्दछ । तर संरक्षण मात्र गर्ने सोच अझै हटेको छैन । एउटा विद्यार्थीले सधैं भरी १२ कक्षा दोहोर्याई– दोहार्याई पढेर वस्दैन् । तर त्यो पढेको विषय बिर्सने पनि गर्दैन । त्यसैले १२ कक्षा पास गरेपछि हरेक विद्यार्थीले लाइन लिनु पर्दछ । मेडिकल, इन्जिनियरिङ्ग, व्यवस्थापन वा अन्य कुन लाइनमा जाने हो निक्र्यौल गरी अगाडि बढ्नु पर्दछ । त्यसैगरी हरेक सामुदायिक वनले संरक्षणको पढाई राम्रोसँग सम्पादन गरेपछि अब व्यवसायिकताको लाइन लिन सक्नुपर्दछ ।
हामी चाँही संरक्षण मात्र गरेर बसेका छौं । अलि–अलि प्रयोग गरे पनि व्यवसायिक भएकै छैन । यसमा सामुदायिक वनको नेतृत्वकर्र्ता र सहयोगी सवै पक्ष जिम्मेवार छौं । सामुदायिक वन अवधारणा विकास गर्दाका समयका उपभोक्ता, सहयोगी, सरकारी संरचना सफल भए । किनकी त्यो बेलामा सामुदायिक वन मार्फत वन संरक्षण गन्तव्य वनाए । संरक्षणमुखी त्यो गन्तव्य प्राप्त भएको धेरै समय भैसक्यो । ५ प्रतिशत त वन क्षेत्र नैं वढ्यो ।
खेर गएको वन स्रोत
हरेक सामुदायिक वनसँग करोडौंको स्रोत लडेर सडेर गएको छ । ती स्रोतलाइ मानविय श्रम जोडेर सम्पत्ति वनाउन सकिएको छैन । स्रोत आफैँमा काम लाग्ने हुँदैन । त्यसलाई श्रम जोडेर सम्पत्तिमा रुपान्तरण गर्न जरुरी हुन्छ । सामुदायिक वनका रुख, काठपात, जडिवुटी उपयोग गर्न सकेका छैनौं । यसलाई खेर गईरहेको भन्दा कुनै फरक पर्दैन । वन नविकरणीय स्रोत पनि भएकोले सदुपयोग गर्नुको विकल्प छैन् । सामुदायिक वनले केही काठ दाउरा वेचेर, सदस्य शुल्क उठाएर पैसा जम्मा गरेका छन् । त्यो पनि वैंकमा जम्मा गरेर राखेको पाइन्छ । वैंकमा पैसा राख्नु दुरुपयोग भन्ने शव्दावली प्रयोग गर्न नमिल्ला तर पनि सदुपयोग भने हुँदै होइन ।
सामुदायिक वन उपभोक्ता समूहसँग वन स्रोत र मानविय स्रोत अथाह छ । तर ती सवै खेर गईरहेका छन् । प्रति एक हेक्टर वनले कम्तीमा १ जनालाई वर्षभरी नैं रोजगार दिन सक्छ भन्ने एक अध्ययनले देखाएको छ । तर खै सामुदायिक वनमा ? २ रोपनी कृषि भूमिले परिवार पाल्न सकिने अवस्था भैसकेको छ, तर नेपालको झण्डै आधा भूमिमा रहेको वनले पर्याप्त रोजगारी दिन सकेको छैन । अझ भनौं नेपालको आधा भूमि उत्पादन विहिन भएको छ । त्यसैले स्रोत खेर गएको भन्दा कसैलाई लान्छाना लगाएको ठहर्दैन ।
पुराना गफ छाडौं, उद्यमशिल काम गरौं
उजाड भैसकेको वा उजाड उन्मुख क्षेत्रमा हरियाली छायो । अब सामुदायिक वनको नयाँ गन्तव्य निर्धारण गरी सो प्राप्तीका लागि क्रियाशिल हुनु पर्ने हो । त्यसमा हामी चुकेका छौं । ३१ लाख घरधुरी आवद्ध भएको, एक करोड ५० लाख नागरिकहरुलाई समेटेको, २ लाख भन्दा वढि सामुदायिक वनको नेतृत्व तहमा क्रियाशिल भएको, समावेशी लोकतन्त्रको समुदाय स्तरमा अभ्यास गरेको, जैविक विधिता जोगाएको भनेर फुर्ति लगाएर मात्र हुँदैन ।
अहिलेसम्मका सफलतालाई आधारको रुपमा स्वीकार गरी वन क्षेत्रको अधिकतम् सदुपयोग गर्नु पर्दछ । यसले कमजोर वर्गको जिविकोपार्जनमा के सुधार ल्यायो ? समृद्ध नेपाल वनाउन के योगदान गर्यो ? कुन पालिकावाट कति फर्निचर निकासी भए ? त्यसको लेखाजोखा गरौं । स्थानीय तहले रुखका मुडामा होइन फर्निचर निकाशीमा कर लगाउने सोचोस् । सामुदायिक वन र स्थानीय तह मिलेर काठ फर्निचर कारखाना, जडिवुटी प्रशोधनका काम गरौं । अनि रोजगार र कर वृद्धि भैं आर्थिक समृद्धि वढ्दछ । वन क्षेत्र गाडेर राखिएको धन जस्तो भएको छ । छैन भन्दा छ तर जीवन उपयोगी वनाउन सकिएको छैन ।
आर्थिक समृद्धिको लाइन नलिने असल होइन
कोरानाको कहरमा लखरलखर हिड्ने मान्छे असल होइन भने जस्तै वन स्रोतमा आधारित उद्यम नगर्ने सामुदायिक वन पनि असल हुन सक्दैन भन्ने माहौल सिर्जना गरौं । सवै सामुदायिक वनहरुले वन स्रोतको समुचित परिचालनबाट आर्थिक स्रोत वटुल्न सक्नु प¥यो । यो कार्यमा स्थानीय सरकारको सहजिकरण र सहकार्य आवश्यक पर्न सक्दछ । कुन सामुदायिक वनमा के कस्तो उद्यमको संभावना छ ? भनेर सामुहिक रुपमा खोजी गरौं ।
रुख भनेको काट्नैको लागि हो । यो नविकरण गर्न मिल्ने प्राकृतिक स्रोत हो । परिपक्व भएको रुख काट्ने विरुवा लगाउने वा विरुवा हुर्कने वातावरण तयार गर्नु पर्दछ । नेपालको वनवाट निकाल्न सकिने मात्राको केही अंश पनि काठ निकाल्न सकिएको छैन । हिजो कुनै ठाउँमा काठ लडेर सडेर गएको ठाउँ देखियो भने वन कार्यालय रहेछ भनेर अनुमान गर्न सकिन्थ्यो । अहिले यो रोग सामुदायिक वन तिर पनि सर्न लागेको भान हुन्छ ।
वन गहना हैन, समृद्धिको साधन हो
वनमा काठ सडेर गएको छ । तर घर बनाउन फलामे रड र आल्मुनियमको झ्याल राख्नु पर्ने बाध्यता भैसकेको छ । वनको दिगो व्यवस्थापन गरेको खण्डमा नेपालको आन्तरिक मागको तुलनामा दोव्वर भन्दा वढि काठ निकाल्न सकिन्छ भनी आंकलन गरिएको छ । तर गत वर्ष मात्र नेपालमा गोलिया काठ नैं आयात गरेको सरकारी आंकडावाट देखिन्छ । गत आर्थिक बर्षमा काठ तथा काठजन्य सामाग्रीहरु झण्डै ६ अर्ब रुपैयाको आयात गरिएको तथ्य भेटिन्छ ।
वन क्षेत्रलाई सौन्दर्यको साधान वनाउन खोजिदैं छ । तर वन भनेको समृद्धिको साधन हुनुपर्ने हो । सामुदायिक वनको अवधारणा विकास गर्दाका समयको दुःख सम्झेर अहिले पनि रुख काट्न माया गरिराखेका छौं । नेपालको झण्डै आधा भूमिका वन छ त्यो सवै क्षेत्र देखाउने मात्र गरेर उपयोग नगर्ने हो भने मुलुक र मुलकवासीको समृद्धि हावादारी गफ मात्र हुनेछ ।
नेपाल सरकारले समृद्ध नेपाल, सुखी नेपाली भन्ने अवधारणा अगाडि सारेको छ । सवै क्षेत्रबाट त्यो सोच कार्यान्वयनका लागि सामुहिक पहल हुनु पर्ने हो । तर वन क्षेत्रलाई उत्पादनमूलक काममा प्रयोग भएकै छैन । अनि कसरी सम्भव छ नेपाल सरकारको महत्वाकांक्षी सोच ।
वन क्षेत्रको अबको गन्तव्य वनको दिगो व्यवस्थापनमा आधारित हुनु पर्दछ । सामुदायिक वनमा त झन् उपभोक्ताको समृद्धिलाई केन्द्र विन्दु बनाएर वनको दिगो व्यवस्थापनमुखी योजना कार्यान्वयन हुनु पर्दछ । सामुदायिक वनको अवधारणा विकास हुँदाको समयमा हरेक घरपरिवार कम्तीमा पनि दिनको एक पटक जानु पर्दथ्यो । प्रत्यक्ष वनको सम्पर्क विना जीविकोपार्जन सम्भव थिएन । अहिले उपभोक्ताको आवश्यकता फेरिएको छ । यहि अवस्थालाई सम्बोधन हुने गरी योजना वनाउनु पर्दछ ।
अहिले वनवाट दाउरा चोरी होला भन्ने त्यती धेरै चिन्ता छैन । शहर वरिपरीका सामुदायिक वनहरुले पर्यापर्यटनमा ध्यान दिनु सान्दर्भिक हुन्छ । रुख राम्रो भएका सामुदायिक वनले रुख काट्ने र विरुवा हुर्काउने अवधारणा सुरु गर्नु पर्दछ । हामीसँग भएको वनको व्यवस्थापनबाट मुलुक र मुलुकवासी धनी हुने हो ।
खाँचो यूवा सोचको
खाडीमुलुकको तेल र चाइनाको सामान वेचेर हामी समृद्ध हुन खोज्नु गोरु पालेर गाईको दुध खान खोज्नु जस्तैं हो । वनवाट समृद्धि ल्याउनका लागि यूवा पुस्ताको प्रवेश हुनु जरुरी छ । सामुदायिक वनको नेतृत्वमा ४० वर्ष नाघेकाहरुको मात्र वाहुल्यता छ । वन क्षेत्रसम्वन्धी कानून बनाउने, कार्यान्वयन गर्ने सवै ४० नाघेका भएकाले उनीहरुमध्ये अत्यन्त कमले मात्र सामुदायिक वनवाट आफनो व्यक्तिगत भविष्य देख्छन् ।
त्यसैले सामुदायिक वनको नयाँ गन्तव्य तयार भएको छैन । ४० नाघेकाको अनुभव र युवा पुस्ताको अठोेटको समायोजन गर्नु पर्दछ । सामुदायिक वन क्षेत्रमा युवाहरुको प्रवेश भएमा नविनतम् सिर्जना गर्न सक्दछन् । आफ्नो भविष्य खोज्न थाल्दछन् । व्यवसायिक वन व्यवस्थापन सुरु गर्न सक्छन् । अनी वन क्षेत्र समृद्धिको साधन हुन सक्दछ । नत्र त गफ गर्ने मेसो मात्र भईरहन्छ ।
[email protected]