काठमाण्डौं । आइतबार सेयर बजारमा ६ अर्ब ९० करोड रुपैयाँको कारोबार हुँदा लगानीकर्ताले कमिसन मात्रै करिब ६ करोड ४२ लाख रुपैयाँ ब्रोकरलाई बुझाए । त्यस्तै, गत बिहीबार ६ अर्ब ११ करोडको कारोबर हुँदा ब्रोकरले कमिसनबापत मात्रै साढे ६ करोड रुपैयाँभन्दा बढी उठाए । मुलुकमा रहेका ५० वटा ब्रोकरले औसतमा दैनिक १० लाख रुपैयाँ कमाइरहेका छन् । अझ केही ठूला ब्रोकरको दिनकै आम्दानी करोड हाराहारी पुग्ने गरेको छ ।
सेयर कारोबारमा औसत ब्रोकर कमिसन ० दशमलव ४५ प्रतिशत छ । तर, यो कमिसन सेयर किन्ने तथा बेच्ने दुवैले तिर्नुपर्ने हुनाले वास्तविक कमिसन ० दशमलव ९० प्रतिशत हाराहारीमा हुन्छ ।
दोस्रो बजारमा सेयर कारोबार गर्दा लगानीकर्ताबाट ब्रोकरले लिने कमिसन अत्यधिक भएको लगानीकर्ताको गुनासो छ । पछिल्लो समय कारोबार रकम अत्यधिक हुन थालेको तथा अनलाइन कारोबारले ब्रोकरको भूमिका पनि घटेका कारण ब्रोकर कमिसन घटाउनुपर्ने आवाज पनि उठ्ने गरेको छ ।
‘पहिले दैनिक २०–३० करोडको कारोबार हुने गरेकोमा अहिले २–३ अर्बको कारोबार हुन थालेको छ,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तमकुमार अर्यालले भने, ‘अहिले सबै काम अनलाइनबाट हुन थालेको छ, ब्रोकरहरूको भूमिका र जोखिम घटेको छ, त्यसैले कमिसन पनि घट्नुपर्छ ।’ करिब चार वर्षअघि साउन ०७३ मा ब्रोकर कमिसन ४० प्रतिशतसम्म घटाइएको थियो ।
तर, कमिसन दर तोक्ने काम धितोपत्र बोर्डको रहेको सेयर ब्रोकर नरेन्द्र सिजापतिको भनाइ छ । उनी भन्छन्, ‘सरकार र सरकारी निकाय आफैँले घटाउन सक्छन्, हामीले भन्ने कुरा होइन ।’ कारोबारबाट ब्रोकरले मात्र पाउने कमिसनलाई अलग्याएर हेर्दा धेरै नभएको सेयरका प्राविधिक विश्लेषक तथा लगानीकर्ता विष्णु बस्यालको समेत तर्क छ । ‘नेपालमा भारतको तुलनामा ज्यादै धेरै होइन,’ बस्यालले भने, ‘भारतमा अन्तरदिनको कारोबार र राफसाफ हुने कारोबारमा अलग–अलग दर छ, जुन औसतमा शून्य दशमलव २५ प्रतिशत हुन्छ ।’ बस्यालले यसअघि भारतीय ब्रोकरेज कम्पनी मास्टर्स ट्रस्टमा सेयर विश्लेषकका रूपमा समेत काम गरेका थिए ।
भारतमा स्टक एक्सचेन्जले ब्रोकरको कमिसनमा हिस्सेदारी नलिने, तर प्रतिकरोड भारुबराबर कारोबारमा ब्रोकरबाट ३ सय ५० भारु अर्थात् ०.०३५ प्रतिशत लिने गरेको उनले जानकारी दिए । भारतमा धितोपत्रबाहेक फ्युचर कन्ट्र्याक्टलगायतका अन्य उपकरणहरूको पनि कारोबार हुने गरेकाले तिनीहरूमा भने अलग्गै शुल्क छ ।
भारतीय बजारमा ब्रोकरहरूले चाहिने प्रविधि उनीहरू आफैँले विकास गर्ने भए पनि नेपालमा ब्रोकरका लागिसमेत नेप्सेले प्रविधि विकास (कारोबार व्यवस्थापन प्रणाली–टिएमएस) गरेकाले आफ्नो कमिसन धेरै नभएको नेप्सेको भनाइ छ । ‘पछिल्लो समय अनलाइनको समेत विकास गरेपछि हामीले प्रणालीमै वार्षिक १५ करोडसम्म खर्च गर्नुपर्ने देखिएको छ,’ नेप्सेका प्रबन्धक निरञ्जन फुँयालले भने, ‘त्यस्तै, करिब १५ करोड जनशक्ति खर्च छ ।’
कसलाई कति ?
अहिले ५० हजारदेखि १ करोडभन्दा माथिसम्मका लागि कारोबारअनुसार शून्य दशमलव ४ देखि शून्य दशमलव ६ प्रतिशतसम्म कमिसन लाग्छ । ५० हजारभन्दा कम रुपैयाँको कारोबारमा प्रतिकारोबार २५ रुपैयाँ शुल्क ग्राहकले तिर्नुपर्छ । यसले गर्दा औसतमा यस्तो दर शून्य दशमलव ४५ प्रतिशत हुने सरोकारवाला बताउँछन् । किन्ने र बेच्ने दुवैले यस्तो कमिसन तिर्नुपर्छ, अर्थात् ६ अर्ब ९० करोडको कारोबार हुँदा १३ अर्ब ८० करोड रकममा ग्राहकहरूले शून्य दशमलव ४५ को दरमा ६ करोड २१ लाख रुपैयाँ तिर्नुपरेको हो ।
यसबाहेक ग्राहकबाट धितोपत्र बोर्डले अलग्गै प्रतिकारोबार शून्य दशमलव ०१५ प्रतिशत शुल्क पाउँछ । अर्थात्, बोर्डले अलग्गै २० लाख ७२ रुपैयाँ ग्राहकबाट पाएको छ । ब्रोकरले ग्राहकबाट उठाउने कमिसनमा धितोपत्र बोर्ड, नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) सबैले हिस्सा पाउँछन् । कमिसनबाट उठेको रकममा धितोपत्र बोर्डले ०.६ प्रतिशत, नेप्सेले १९ प्रतिशत र सिडिएससीले १ प्रतिशत पाउँछन् । अर्थात्, ६ अर्ब ९० करोड कारोबार हुँदा ६ करोड २१ लाख कमिसन मात्रै हुन्छ । यसमा बोर्डले थप ३ लाख ७२ हजार, नेप्सेले १ करोड १८ लाख र सिडिएससीले ६ लाख २१ हजार पाउँछन् । यसअनुसार बोर्ड, नेप्से र सिडिएससीबाट घटाएपछि ५० वटा ब्रोकरहरूले ४ करोड ९३ लाख रुपैयाँ कमिसनबापत पाउँछन् ।
यो भनेको १३ अर्ब ८१ करोड रकमको शून्य दशमलव ३५ प्रतिशत हुन आउँछ । ब्रोकरहरूले वार्षिक करबापत तिर्ने रकमलाई समेत हिसाब गरेर ब्रोकर कमिसन कम भएको गुनासो भने गर्ने गरेका छन् । ग्राहकले कारोबारका क्रममा सेयर राफसाफका लागि निक्षेप संग्रहकर्ता (सेयर डिम्याटकर्ता–डिपी) मार्फत सिडिएससीलाई प्रतिकारोबार २५ रुपैयाँसमेत बुझाउने गरेका छन् । लगानीकर्तालाई लागत बढेको भन्दै कमिसन दर कम गर्न लगानीकर्ताले माग गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित भएको छ ।