बुटवल – पछिल्ला वर्ष नेपाली युवापुस्ता अध्ययनको नाममा होस् वा काम गर्न विदेश जाने क्रम दिनदिनै बढ्दो छ । जसले गर्दा नेपाली तन्नेरी पुस्ता युरोपियन मुलुकतिर हानिएका छन् । गाउँ खाली भएका छन् तर रूपन्देहीका एक युवा युरोपियन मुलुक छाडेर आफ्नै देशमा केही गर्नुपर्छ भनी नेपाल फर्किएर तरकारी बिक्री गर्न थालेका छन् ।
ती युवा हुन् रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ योगीकुटीका २८ वर्षीय लक्ष्मण शर्मा ।
उनले तरकारी पसलमा ३ करोड रूपैयाँ लगानी गरेका छन् । आधुनिक प्रविधि र फरक शैलीबाट उनले बुटवलबासीलाई स्वच्छ र ताजा तरकारी प्रदान गरिरहेका छन् । उनको प्रयासलाई जुनसुकै युवाले अनुशरण गरी मुलुकमै केही गर्न सकिन्छ भन्ने प्रेरणा लिन सक्छन् । उनको पसल छ बुटवल–९ तीनकुनेमा ।
युरोपियन देश फिनल्याण्डबाट कन्सट्रक्सन इञ्जिनीयरिङ अध्ययन गरी ५ वर्षपछि नेपाल फर्केर उनले बुटवलमा ‘हरियो तरकारी’ नामक तरकारी पसल सञ्चालन गरेका हुन् । उनलाई फिनल्याण्डमा विभिन्न कम्पनीले ठूला अफर गरी काम गर्न आग्रह गरेका थिए तर उनले त्यो आग्रहलाई अस्वीकार गरी नेपालमै केही गर्नुपर्छ भनेर यहाँ आएर नयाँशैलीमा तरकारी बिक्री गर्न थालेका छन् ।
२०६५ सालमा एसएलसी उत्तीर्ण गरी उच्च शिक्षाका लागि काठमाडौं गएका शर्मा ट्रिनिटी इन्टरनेसनल कलेजमा २ वर्ष अध्ययन गरेपछि प्राइम कलेजमा सीए अध्ययन गरे । सोही क्रममा मोटरसाइकल दुर्घटना भई खुट्टा भाँभिएका उनको भेट १ जना विदेश जाने तयारी गरेका साथीसँग भयो । सोही क्रममा उनले आफ्नो लागि पनि ‘अप्लाई’ गर्न आग्रह गरे ।
त्यतिबेला उनी वैशाखीको सहारामा हिड्थे । उनलाई सफलता मिल्यो, भिसा लाग्यो । उनको खुट्टा पूर्ण निको नभई अध्ययनका लागि फिनल्याण्ड पुगेका उनले त्यहाँ जागिर र अध्ययन दुवै एकसाथ अगाडि बढाए ।
१ वर्षअघि नेपाल फर्केका उनले १० महिनाजति पसल खोल्ने तयारीमा लगाए । झण्डै १ वर्ष पसलको लागि जग्गा खोज्नेदेखि, पसल दर्ता, भवन निर्माण र पसल सञ्चालनमा खटिरहे । केही समय उनले गाडीमा किसानबाट फलफूल, तरकारी खरिद गरी उपभोक्ताको घरघरमा पुर्याएको उनी सम्झन्छन् ।
नेपालका प्रतिष्ठित कलेजमा अध्ययन गरेका, सीए तथा कन्सट्रक्सन इन्जिनीयर उनी युरोपका अवसरलाई छोडेर नेपाल फर्किएर तरकारी व्यवसायमा लाग्नु अनौठो घटनाजस्तै हो ।
‘तरकारी आधारभूत आवश्यकतामध्ये नभई नहुने महत्त्वपूर्ण खाद्यवस्तु हो,’ शर्मा भन्छन्, ‘ताजा र स्वस्थ तरकारी खाइएन भने स्वास्थ्यमा ठूलो असर पर्छ । गाउँमा किसानले उत्पादन गरेको फलफूल तरकारी सस्तोमा पनि बिक्री नभएर फाल्नुपरेको सुनिन्छ भने शहरमा बासी र महंगो तरकारी खान बाध्य छौं । यस्ता विषयलाई मध्यनजर गरी तरकारी व्यवसाय गर्ने सोचका साथ शुरू गरेका हौं ।’
‘युरोपमा बसिरहे आफ्नो जीवन मात्र राम्रोसँग बित्ने तर स्वदेशमा आएर केही गरे आफूलगाएत अरुलाई पनि हुने सोच र आफ्ना बुवाले भन्ने गरेको मरेपछि कम्तीमा पनि सय जनाले राम्रो थियो भन्ने काम गरी असल बन्नुपर्दछ ।’
हरियो तरकारी रंगको २ तला भवन (ट्रस) मा धेरैको नजर जान्छ । हरियो रंगको भवनको माथि हरियो तरकारी लेखिएको छ । ठूलो र आकर्षक भवनमा ‘हरियो तरकारी’ लेखेको देख्दा सबैलाई भित्र कस्तो होला भन्ने जिज्ञासा लाग्छ र भवनभित्र पसेपछि जिज्ञासा मेटिन्छ । अर्थात् भित्र सफा, सुग्घर र ताजा स्वदेशी तथा विदेशी पलफूल र तरकारी देखिन्छ । त्यो पनि आकर्षक तवरले सज्जाइएको ।
शर्मालाई साथ दिएका छन् उनका साथी सन्दिप ज्ञवालीले । दुवैले संयुुक्त लगानीमा पसल सञ्चालन गरेका हुन् । करीब ३ करोड रुपैयाँ लागतमा सञ्चालनमा आएको हरियो तरकारी पूर्णरुपमा भने सञ्चालन भएको छैन । पहिलो तल्लाबाट मात्र सेवा दिएको पसलमा हाल फलफूल, तरकारी र विभिन्न फलफूलका ताजा जुस बिक्री गरिएको छ ।
बुटवलको बढ्दो जनसंख्या र सो अनुसार तरकारीको आयात नभएको अवस्थालाई बुझेर मध्य बुटवलमा हरियो तरकारी पसल सञ्चालन गरेको सञ्चालक लक्ष्मण शर्मा बताउँछन् । ‘शहरबासीहरूलाई आफूले चाहेजस्तो ताजा र स्वस्थ तरकारी र फलफूलको परिकार सहजरुपमा पाउन गाह्रो भएको देखियो । सोही अभावलाई पूरा गर्न तरकारी पसल सञ्चालन गरेका हौं,’ उनले भने ।
तरकारी पसल सञ्चालन गरी उपभोक्तालाई ताजा र स्वस्थ फलफूल तथा तरकारी उपलब्ध गराउने र आफूले मुनाफा खाने मात्र उद्देश्य नभई किसानलाई उचित मूल्य प्रदान गरी उत्पादनमा प्रेरणा र सहयोग प्रदान गर्ने उनले बताए ।
ताजा र स्वस्थ तरकारी प्रदान गर्ने उद्देश्यसहित सञ्चालित हरियो तरकारी पसलमा स्थानीय, छिमेकी जिल्ला, चितवन, रोल्पा, कपुरकोट, काठमाडौं, धादिङबाट किसानबाट सिधा खरिद गरी तरकारी ल्याउने गरेको उनले बताए । २ वटा भित्री च्याम्बरमा २८ टन तरकारी अट्ने क्षमता रहेको र बाहिर ३० टन क्षमता रहेको हरियो तरकारीमा फलफूल तथा तरकारीलाई विभिन्न प्रक्रिया पुर्याएर मात्र बिक्रीका लागि राखिने उनले बताए ।
खरिद गरेर ल्याइएको तरकारीलाई पुडिङ (छानेर), प्रिकुुलिङ गरेर, स्टोरेजमा राखेर मात्र बिक्रीका लागि तयार गर्ने पद्धति रहेको उनी बताउँछन् । ‘किसान वा अन्य स्थानबाट फलफूल वा तरकारी ल्याएपछि पहिला छानिन्छ, तापक्रम मिलाइन्छ, लामो समयसम्म पनि नबिग्रने गरी फोहर र दूषित पदार्थ हटाई पूर्ण तयार गरेपछि मात्र बिक्रीका लागि राखिन्छ,’ उनले भने । हरियो तरकारीमा एउटै छानामुनी संसारका फलफूल, तरकारी, जुस, ग्यास जलाउनेदेखि पकाउनेसम्मका सामग्री उपलब्ध गराउने उनले बताए ।
‘हजुरको स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने नारासहित सञ्चालन आएको तरकारी पसलमा उनीहरू र घरका सदस्यसहित १४ जनाले रोजगार प्राप्त भएको छ । प्रारम्भिक चरणमा रहेको तरकारी पसलले आगामी महिनादेखि आफैं झोला लिएर आउने ग्राहकलाई २ प्रतिशत छूट दिने, केही महिनापछि निरन्तर ५ पटक आउने ग्राहकलाई आफ्नै वातावरणमैत्री झोला प्रदान गर्ने, ६ महिनामा अर्को शाखा सञ्चालन गर्ने, २ वर्षपछि मुनाफाको १० प्रतिशत कृषि क्षेत्रमा सहयोग गर्ने लगायतका योजना रहेको शर्माले बताए ।Lokaantar.com