दोलखा । तामाकोशी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता इन्जिनियर अभिषेक सुवेदी चुनावी मैदानमा हुनुहुन्छ ।
आगामी बैशाख ३० गते हुन लागिरहेको स्थानीय तह निर्वाचन अन्तर्गत आईतबार र सोमबार दुई दिनसम्म मनोनयन दर्ता भएकोमा अध्यक्ष पदमा ६ जनाको उम्मेद्वारी परेको छ । ६ जनामध्ये ३१ बर्षिय सुवेदी सबैभन्दा कान्छा उम्मेद्वार समेत हुनुहुन्छ ।
राजनीतिक पृष्ठभूमी
२०६३ सालमा साविक मालू गाविसमा अवस्थित गोल्मेश्वर माविमा कक्षा नौ मा अध्ययनरत रहँदा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रारम्भिक कमिटी अध्यक्ष भएर सुवेदीले आफ्नो राजनीतिक यात्रा शुरुवात गर्नुभएको थियो । अध्ययनको सिलसिलामा थापाथली ईन्जिनियरिङ क्याम्पस काठमाण्डौंमा पुग्नुभएका सुवेदी क्याम्पस प्रारम्भिक कमिटी सचिव, अध्यक्ष हुँदै अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको थियो । हाल उहाँ अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य हुनुहुन्छ ।
शैक्षिक योग्यता
सिभिल ईन्जिनियर सुवेदीले आर्किटेक्ट ईन्जिनियरिङमा समेत डिप्लोमा गर्नुभएको छ । २०६४ सालको प्रवेशिका परिक्षामा विशिष्ट श्रेणी (डिस्टिङसन) प्राप्त गर्नुभएको थियो । सिभिल ईन्जिनियर सुवेदीले दोलखामा शैलुङ गाउँपालिकाको यातायात गुरुयोजना निर्माण, गौरीशङ्कर गाउँपालिकाको रिङरोडको डिजाईन, कालिञ्चोक कुरीमा कुरी स्की एड्भेन्चर्स गुरुयोजना बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नुभएको हो ।
राजनीतिमा युवा
राजनीतिमा चुनाब लड्दा कपाल फुलेको, चस्मा लगाउनुपर्ने र दाँत फुस्केको हुनुपर्छ भन्ने मानसिकतालाई चिर्न आफू युवा अवस्थामा चुनाव लड्न लागेको सुवेदीको भनाई छ । भिलेजखबरसँग कुराकानी गर्नुहुँदै सुवेदीले भन्नुभयो, “युवाहरु अब अगाडि सर्नुपर्ने आवश्यकता छ, राजनीतिमा फोहोर देख्नेले हेरेर बस्ने होईन आफैँ पसेर सफा गर्ने हो ।” तामाकोशी गाउँपालिकामा तपाई भन्दा धेरै अग्रज नेता हुँदाहुँदै ३१ बर्षकै उमेरमा तपाई किन पालिका अध्यक्ष बन्न हतार गर्नुभएको ? भन्ने प्रश्नमा सुवेदीले भन्नुभयो, “ यो मेरो पार्टीले गरेको निर्णय हो, यो हतारो पनि होईन अनि ढिलो पनि होईन् ।”
राजनीतिक प्रतिबद्धता
तामाकोशी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएपछि गाउँपालिकालाई विकासमा नमूना गाउँपालिका बनाउने सुवेदीको योजना छ । फरक फरक हावापनी रहेको गाउँपालिकामा फरक फरक किसिमको कृषि उपार्जन गराउने, गुणस्तरीय शिक्षा गाउँमै व्यवस्था गरेर शिक्षाकै लागि शहर पस्न नपर्ने वातावरण बनाउने उहाँको प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै युवाहरुलाई उत्पादनसँग जोडेर विदेश जानबाट रोक्ने र विदेश गएकाहरुले कमाएको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गरिने सुवेदीले बताउनुभयो ।