दोलखा । नेपाली काङ्ग्रेस दोलखाले पार्टीसँग असन्तुष्ट भई स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएका आफ्ना नेता कार्यकर्तालाई कारबाही गर्ने क्रममा नेकपा एमालेका वडा कमिटी उपाध्यक्षलाई समेत कारबाही गरेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर–२, झुलेमा गठबन्धन विरुद्ध बागी उम्मेद्वार दिएका आफ्ना नेता कार्यकर्तालाई कारबाही गर्ने क्रममा काङ्ग्रेस दोलखाका सभापति वर्मा लामाले सोहि वडाका एमाले उपाध्यक्ष इन्दिरा कार्कीलाई समेत पार्टीबाट निष्काशन गर्नुभएको हो । लामाले झुलेबाट वडा अध्यक्षका बागी उम्मेद्वार इश्वरराज कार्की, सदस्यहरु कृपाध्वज कार्की, नानीकाजी तामाङ, सङ्गीता विक लगायतलाई कारबाही गरिएको भन्दै आईतबार निकालिएको विज्ञप्तीमा एमालेबाट स्वतन्त्र बन्नुभएकी इन्दिरा कार्कीकाे पनि नाम उल्लेख गरिएकाे छ ।
भिलेज खबरसँग कुराकानी गर्नुहुँदै इन्दिरा कार्कीले आफू एमाले झुलेको वडा कमिटी उपाध्यक्ष रहेको र आफ्नो पार्टीले वडा सदस्यमा उम्मेद्वार नबनाएपछि स्वतन्त्रबाट उम्मेद्वारी दिएको बताउनुभयो । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यको उम्मेद्वार बनेर पराजित हुनुभएकी कार्कीले आफू एमाले छोडेर कतै प्रवेश नगरेको पनि स्पष्ट पार्नुभयो ।
स्वतन्त्र उम्मेद्वारी दिएको भएपनि कार्कीलाई नेकपा एमालेले समेत कारबाही नगरिसकेको झुलेका एमाले नेता नरबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस विषयमा काङ्ग्रेस दोलखाका सभापति लामासँग प्रश्न गर्दा इन्दिरा कार्कीले पहिले नेपाली काङ्ग्रेसको पनि साधारण सदस्यता लिएकोले कारबाही गरिएको भन्दै आफ्नो बचावट गर्नुभएको छ ।
सभापति लामाले आईतबार विज्ञप्ती सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँग कतिपयले एमालेलाई कारबाही गरेको भन्दै ब्यङ्ग्यात्मक टिप्पणी समेत गरेका छन् ।
यस्तो छ कारबाहीको विज्ञप्ती