दोलखा । आगामी असार १ गते चयन हुन लागेको जिल्ला समन्वय समिति दोलखाको नयाँ नेतृत्वका लागि प्रमुखमा २ र उपप्रमुखमा ३ सहित १९ जनाको उम्मेद्वारी परेको छ ।
शनिबार भएको उम्मेद्वारी दर्ता अनुसार प्रमुखमा नेकपा एमालेको तर्फबाट ऋषिकेशव उप्रेति र सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बर्जुराम घतानीको उम्मेद्वारी परेको छ । उपप्रमुखमा भने नेकपा एमालेकी गोमा केसी, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका दोर्जी शेर्पा र स्वतन्त्र उम्मेद्वार नानीकाजी तामाङको उम्मेद्वारी परेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी नेकपा एमालेको तर्फबाट महिला सदस्यमा भीमेश्वर नगरपालिकाका एकमाया भुजेल र कविता मुग्राती तथा कालिञ्चोक गाउँपालिकाकी देवी बसेल र दलित तथा अल्पसंख्यक सदस्यमा मेलुङ गाउँपालिकाका कमल लकान्द्रीले उम्मेद्वारी दिनुभएको छ । खुल्ला सदस्यमा जिरी नगरपालिकाका जम्के बहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका नर बहादुर कार्की र शैलुङ गाउँपालिकाका नवराज कार्कीको उम्मेद्वारी परेको छ ।
गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका महिला सदस्यमा मेलुङ गाउँपालिकाकी चन्द्रकला ठकुरी, कालिञ्चोक गाउँपालिकाकी कल्पना थामी र भीमेश्वर नगरपालिकाकी मेनुका चौलागाँईले उम्मेद्वारी दिनुभएको छ । दलित तथा अल्पसंख्यक सदस्यमा मनफिन्जु शेर्पा, खुल्ला सदस्यमा बैतेश्वर गाउँपालिकाका अनिलकुमार तामाङ, शैलुङ गाउँपालिकाका कृष्ण बहादुर श्रेष्ठ र विगु गाउँपालिकाका टसी शेर्पाको उम्मेद्वारी परेको छ ।
नौ वटा पालिका रहेको दोलखामा १८ जना मतदाता रहेकोमा नेकपा एमालेको ७, नेपाली काङग्रेसको ६, माओवादी केन्द्रको ४ र एकिकृत समाजवादीको १ मत रहेको छ । स्थानीय तह निर्वाचनमा सहमति भए बमोजिम सत्तारुढ गठबन्धनमा जिल्ला समन्वय समिति प्रमुख नेकपा माओवादी केन्द्र, उपप्रमुख नेकपा एकिकृत समाजवादी र सबै सदस्य नेपाली काङ्ग्रेसका हुने सहमति अनुसार नै गठबन्धनले उम्मेद्वारी दिएको छ ।