दोलखा । बागमति प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि बुधबार ७० अर्ब ९३ करोड ९२ लाख रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।
बागमति प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बजेट सार्वजनिक गर्नुभएको हो । विगतदेखि नै बागमति प्रदेश सरकारको बार्षिक बजेट तथा नीति कार्यक्रमबाट ओझेलमा पर्दै आएको दोलखा यस पटक पनि नजरमा पर्न नसकेको पाईएको छ । जिरीमा मानव निर्मित तालका लागि रु.१५ करोड र लामाबगर हुँदै चिनको सिमाना जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्न रु.१० करोड गरी जम्मा २५ करोड विनियोजन भएको छ । यो रकम कुल बजेटको ०.३५ प्रतिशत हो ।
दोलखासँग सम्बन्धित बजेटका पाँच बुँदा यसप्रकार छन् । यहाँ बजेटको बुँदा नम्बरसहित उल्लेख गरिएको छ ।
बुँदा नं ५६.लाङटाङ, जुगल, गणैश तथा गौरीशङ्कर हिमाल क्षेत्रमा साहसिक तथा पर्वतीय पर्यटन प्रबद्र्धन गरिने छ । तामाकोशी, भोटेकोशी, त्रिशुली, नारायणी लगायतका नदीहरुमा जल पर्यटनको विकास गरिनेछ ।
बुँदा नं ५७. दोलखा जिल्लाको पर्यटकियस्थल जिरी क्षेत्रको एकिकृत गुरुयोजना कार्यन्वयन गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ । जिरीमा मानवनिर्मित पर्यटकिय तालको निर्माण गर्न रु. १५ करोड विनियोजन गरिएको छ ।
बुँदा नं १००. हेटौंडा, भक्तपुर, त्रिशुली, सिन्धुली र पशुपति चौलागाँई स्मृति अस्पताललाई क्रमशः स्तरोन्नति गरी विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण, विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, सुविधा सम्पन्न प्रयोगशालासहितको भौतिक पूर्वाधारको व्यवस्था गर्न बजेटको गरिएको छ । यी अस्पतालबाट महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मेमोग्राफी मेसिन मार्फत निःशुल्क सेवा प्रदा गर्ने व्यवस्था मिलाईएको छ ।
बुँदा नं १०७. रसुवा, नुवाकोट र धादिङ जिल्लाका लागि धादिङमा, काठमाण्डौ उपत्यकाका लागि काठमाण्डौमा, सिन्धुली, चितवन र मकवानपुर जिल्लाका लागि मकवानपुरमा र रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेका लागि काभ्रेमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गरिनेछ ।
बुँदा नं १५७. दोलखा जिल्लाको लामाबगर हुँदै चिनको सिमाना जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्न रु.१० करोड विनियोजन गरिएको छ । काभ्रे जिल्लाको राम्चेदेखि दोलखा जिल्लाको खरिढुङ्गा जोड्ने चौँरी राजमार्ग निर्माणका लागि रु.५ करोड विनियोजन गरिएको छ ।