दोलखा । तामाकोशी गाउँपालिकाले दलितका लागि छुट्टै ‘दलित किरियापुत्री प्रतिक्षालय’ निर्माण गर्न बजेट विनियोजन गरेको छ ।
शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेटमा दलितका लागि छुट्टै किरियापुत्री प्रतिक्षालय निर्माण गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । गाउँपालिकाको वडा नम्बर–५ शहरेमा परेका १९ वटा योजनामध्ये दलित किरियापुत्री प्रतिक्षालय निर्माण गर्न पनि बजेट परेपछि दलित र गैरदलित सबै पक्षबाट आलोचना भएको छ । जातिय रुपमा विभेद गर्न खोजेको भन्दै आलोचना भएको हो ।
वडा अध्यक्ष शम्भु फुयाँलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडामा परेका योजना सार्वजनिक गरेपछि १९ वटा योजनामध्ये १५ औं नम्बरमा ‘दलित किरियापुत्री प्रतिक्षालय’ उल्लेख छ । वडा अध्यक्षले सार्वजनिक गरेका योजनामा ‘दलित किरियापुत्री प्रतिक्षालय’ बनाउन बजेट विनियोजन गरेको देखेपछि स्थानीय दलित समुदायका अगुवा दिलिप सुन्दासले असन्तुष्टी व्यक्त गर्दै फेसबुकमा लेख्नुभएको छः–
तिमिले बधाई, शुभकामना दिएको नवनिर्वाचित जनप्रतिनिधिको प्रतिक्षलय देख्यौं होला नि ! मलाई कसैसँग आशा छैन अब । समाज कता लैजाँदैछौं ?
त्यसैगरी दलितका लागि अहिले छुट्टै प्रतिक्षालय आयो । भोलि छुट्टै स्कुल, छुट्टै शौचालय, छुट्टै अस्पताल ल्याउने ? भन्दै स्थानीयले प्रश्नसहितको आलोचना गरेका छन् ।
विरोधपछि वडा अध्यक्ष फुयाँलले फेसबुकबाटै गल्ती स्वीकार गरेर उक्त प्रतिक्षालयको नाम ‘साउने पँधेरो किरियापुत्री प्रतिक्षालय’ राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको संविधान र कानुननले जातिय रुपमा समानता कायम गर्न खोजेपनि यस्ता घटनाबाट जननिर्वाचित जनप्रतिनिधिहरुले नै विभेदलाई बढवा दिन खोजेको सामाजिक अगुवाहरुको विश्लेषण छ ।
शुक्रबारको गाउँसभामा पेश गरिएको आगामी आर्थिक बर्षको बार्षिक बजेट तथा नीति कार्यक्रम सबैले हेर्न मिल्नेगरी यो समाचार प्रकाशित भएको समयसम्म सार्वजनिक गरिएको छैन् । गाउँपालिकाका सुचना प्रविधि अधिकृत पवनराज फुयाँलले सभामा प्रस्तुत भएको बजेटमा केहि त्रुटी हुनसक्ने भएकोले सच्याएर आईतबार वेबसाईटमा सार्वजनिक गरिने जानकारी दिनुभयो ।