दोलखा । नेकपा एमालेका जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद (जबज) को सिद्धान्त कार्यान्वयनको अवस्था पार्टीभित्र फितलो रहेको पाईएको छ ।
मदन भण्डारी फाउण्डेस दोलखाले बिहीबार चरिकोटमा आयोजना गरेको ‘वर्तमान परिवेशमा जबजको सार्थकता’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि एमाले नेता कार्यकर्ताले जबजको पालना पार्टीभित्र हुन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका हुन् । एमाले जिल्ला कमिटी सदस्य रामचन्द्र बस्नेतले जबजको सिद्धान्त कार्यकर्तालाई सिकाउने नेता नै व्यक्तिगत स्वार्थका कारण पार्टी परिवर्तन गर्नेसम्मका गतिविधिमा संलग्न हुँदा कार्यकर्तामा निराशा छाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यकर्तालाई जबज सिकाउने नेता नै आफ्नो फाईदाका लागि कतिबेला पार्टी परिवर्तन गर्छन थाहा हुँदैन । अनि हामीले कसको विश्वास गर्ने ?”
पार्टीको सिद्धान्त अनुसार नेतृत्वले काम नगर्दा धेरैजसो पार्टीका कार्यकर्ताहरु बिचलित भएर पार्टी परिवर्तन गर्नुका साथै स्वतन्त्र बस्नेसम्मका काम भईरहेको एमाले जिल्ला कमिटी पुर्व सचिवालय सदस्य होम पाठकको भनाई छ । वैचारिक राजनीतिक नेतृत्व तयार पार्न पार्टीभित्र रहेका विभिन्न प्रतिष्ठानहरुले युवा पुस्तालाई वैचारिक प्रशिक्षणमा संलग्न गराउनुपर्ने पाठकको सुझाब छ ।
त्यसैगरी कार्यक्रममा आफ्नो विचार राख्नुहुँदै एमाले बागमति प्रदेश कमिटी सदस्य चिरञ्जीवी मास्केले जबजको पूर्ण कार्यान्वयनबाट मात्रै पार्टीले तय गरेको समाजवादको लक्ष्य भेट्टाउन सकिने भएकोले पार्टीका हरेक गतिविधिमा जबजको सिद्धान्त खोज्नुपर्नेमा जोड दिनुभयो ।
जबजको सिद्धान्तमा उल्लेख गरेजस्तो प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल गर्ने कुरा पार्टीको आन्तरिक जीवनमा कडाईका साथ कार्यान्वयन गर्न नसके संगठन कमजोर हुँदै जाने एमाले बागमति प्रदेश कमिटी सदस्य कालिका पाठकले बताउनुभयो ।
एमाले बागमति प्रदेश कमिटी सचिवालय सदस्य तथा दोलखा इन्चार्ज इश्वरचन्द्र पोखरेलले जबजका सिद्धान्त पूर्णरुपमा कार्यान्वयन गर्न सक्ने गरी एमालेको नेतृत्वमा सरकार बन्न नसकेको तथापि केहि कामहरु भएको बताउनुभयो । पार्टी सङ्गठन थप व्यवस्थित र अनुशासित नभएसम्म जबजका सिद्धान्त कार्यान्वयनमा भने चुनौति रहेको पोखरेलले स्वीकार गर्नुभयो ।
७१ औं मदन जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउण्डेस दोलखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष हरिवंश चौलागाँईले वैचारिक क्षमता विकासका लागि वडा तहसम्म फाउण्डेसन गठन गर्ने योजना रहेको बताउनुभएको छ ।
कार्यक्रममा फाउण्डेसनका सचिव कृष्ण बस्नेतले जनताको बहुदलिय जनवादका विशेषताहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेकपा एमालेले आफ्नो पार्टीका जननेता तथा जबजका प्रतिपादक मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेदेखि देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईरहेको छ ।