मेरो भाग्यमानी देशमा,
सयौं अर्बपतिहरु,
हजारौं करोडपतिहरु,
लाखौं लखपतिहरु,
र, तिनका छोरा नातिहरु,
एक झुप्रो बास,
र एक सुर्को बारी नहुनेभन्दा,
दसौं गुना अभागी छन्।
किनकि:
जुन धर्ती टेकेर गरिबहरू बाँचेका छन्,
धनीका पैतालाले वर्षौंदेखि,
त्यही माटोसँग खेल्न पाएका छैनन्।
जुन सूर्य ओडेर गरिबहरू बाँचेका छन्,
धनीका छोराछोरीहरुले वर्षौंदेखि,
त्यही सूर्य उदाएको देखेका छैनन्।
जुन मुहानको पानी खाएर,
गरिबका रगत भरिएका छन्,
धनीहरुले वर्षौंदेखि,
ताजा पानी देख्न पनि पाएका छैनन्।
जुन जंगलको हावा खाएर,
गरिबहरुले निरोगी मुटु चलाई रहेका छन्,
धनीहरुले,
एकमुठी दुबो मुठ्याउन पनि पाएका छैनन्।
जुन अन्नका दानाले गरिबहरू संसार पालिरहेका छन्,
धनीका नातिहरुले,
दुई बोट मकै हुर्काउने अवसर पनि पाएका छैनन्।
धनीका छोराछोरीहरूले शायद,
ताराहरु झुल्किएको र अस्ताएको पनि देखेकै छैनन्।
धनीकै जति सुगर, प्रेसर र मुटुरोग,
गरीबहरुलाई लाग्ने हो भने,
गरिबहरू सकिएर,
मेरो देश दुई तिहाई जंगल बनिसक्ने थियो।
हो, आजका दिनमा मेरो देशमा,
अर्बपतिहरु अभागी बनिरहेका छन्।
धनीहरु नै प्रकृतिसँग बिरानो बन्दै गइरहेका छन्।
धनीहरु नै निन्द्रा गुमाइरहेका छन्।
धनीहरु नै मुस्कान गुमाइरहेका छन्।
धनीहरु नै सामाजिकता टुटाई रहेका छन्।
धनीहरु नै मानवता फुटाइ रहेका छन्।
फेरि पनि,
तिनै अभागीहरुले नै देशलाई घोडा बनाइरहेका छन्।
अभागीहरुको शासनमा,
देश कसरी भाग्यमानी बन्न सक्छ र?
विचरा, अभागी अर्बपतिहरू,
तिम्रो मुक्तिका लागि,
आज एकै साँझ भए पनि,
आऊ प्रकृतिको रोधी घरमा नाचौं।
र, प्रकृतिसँगै अमर भएर बाँचौं।