‘आगो ताप्नु मुढोको, कुरा सुन्नु बुढोको’ भन्ने नेपाली भनाई नसुन्ने शायदै होलान । जसरी मुढोको आगो तत्काल ननिभ्ने अर्थात दिगो हुन्छ, जसले लामो समयसम्म न्यानोपन दिन सक्छ । त्यसैगरी बुढो मान्छेले भनेको कुरा पनि व्यवहारिक हुन्छ, किनकि उसले आफ्नो भोगाईबाट अनुभव गरेको आधारमा कुरा गरेको हुन्छ ।
आजकल यो भनाई भनाईमै सिमित हुन लागि सकेको छ । किनभने बुढो मान्छे अर्थात अनुभवी पाका मान्छेका कुरा हत्तपत्त कसैले सुन्दैनन् । शायद त्यहि कुराको विश्लेषण गरेर होला दोलखाको भीमेश्वर नगरपालिकाले गत आर्थिक बर्ष ‘अर्ती पुर्खाको’ भन्ने कार्यक्रम आफ्नो बार्षिक नीति कार्यक्रम तथा बजेटमा राख्यो ।
नगरपालिकाको सहयोगमा बुधबार रेडियो शैलुङले द राइजिङ स्टार ईङ्लिस बोर्डिङ स्कुल चरिकोटमा सञ्चालन गरेको कार्यक्रममा दर्जनौं विद्यार्थीले बुढापाका अर्थात पाँचजना जेष्ठ नागरिकका कुरा सुने अनि आफ्ना जिज्ञासाहरु पनि राखेर थप प्रष्ट हुने प्रयास गरे । कार्यक्रममा बोल्नुहुँदै विद्यार्थीहरुलाई जेष्ठ नागरिकहरुले आमा, बुबा गुरुलाई सम्मान गर्न, आमा जान्दिनन् कहिल्यै नभन्न अर्ती दिनुभयो ।
कल्याणी थपलिया, शैलुङ गाउँपालिका
दोलखा शैलुङकी कल्याणी थपलियाको ८ वर्षमा विहे भयो । वि.सं २००७ सालको क्रान्तिको समयमा उहाँ ३ वर्षकी हुनुहुन्थ्यो । राणा पक्ष भएका कारण उहाँका पिता कालुमान उप्रेती (ठालु) लाई तत्कालीन काँग्रेसले गाउँबाट लखेट्यो । २ महिनाको भाइ च्यापेर आमा र बुबा लगायत बढेका दाजुहरु जङ्गलै जङ्गल कालिञ्चोकको जङ्गलमा पुगे । ढुङ्गाको ओढारमा माघको चिसोमा सुत्केरी आमाले निक्कै सास्ती व्यहोर्नु परेको थियो ।
करिब सात महिना जङ्गलको बासपछि बा आमा घर त फर्किए । तर सैयाँैको ज्यान मुद्धा लाग्यो कालुमान ठालुलाई (ठालु तत्कालीन राणाले दिएको पदवी) । वि.ंसं २०१२ सालमा राजा महेन्द्रको सवारी भएको समयमा पवटीको दोवाटे पाटीमा मुद्धा फुकुवा भयो । यो अवधि १८ सन्ताका पिता कालुमान ठालुलाई सन्तान व्यवस्थापनमा निक्कै कठिन भयो । त्यही बीचमा ८ वर्ष पुगेकी कल्याणीसहित अन्य तीन छोरीको एकै लगन विवाह भयो । ८ वर्षको उमेरमा पराई घरको कुचो, पोतो, जाँतो, ढिकीसंग संघर्ष गर्दै जीवन अगाडि बढ्यो । २६ वर्षको भर्खरको उमेरमा एकल महिला बन्नु भएकी थपलियाले २ नाबालक सन्तानको एक्लै जिम्मेवारी निर्वाह गर्नुभयो ।
७६ वर्षीया कल्याणीले जीवनमा शिक्षाको महत्व धेरै भएकोले मेहनत गरेर राम्रो शिक्षा लिन बालबालिकालाई अनुरोध गर्नुभयो । आफ्नो समयमा आफूले पढ्न नपाएको स्मरण गर्दै अवसर पाउनेले समयलाई सदुपयोग गर्न सुझाउनुभयो । जीवनमा जति समस्या परेपनि स्वाभीमानमा बाँचेको संघर्ष सुनाउँदै स्वाभीमान र इमानको ज्ञान हाँसिल गर्न उपदेश दिनुभयो ।
पिताम्बर सेढाँई, कालिञ्चोक गाउँपालिका
कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका ८६ वर्षीया पिताम्बर सेढाईँले जन्मदिने मातापिता र गुरुको मान्यता गर्न सम्झाउँदै अनुशासित र आज्ञाकारी बन्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विहान सबैरै उठ्नु । आमालाई जान्दिनन् कहिल्यै नभन्नु । जीवनमा सानातिना दुःखबाट कहिल्यै नआत्तिनु ।”
ज्योतिष उपनामले चिनिनुहुने जेष्ठ नागरिक सेढाईँले ज्योतिष विद्याको महत्व र विज्ञानको सम्बन्धका विषयमा पनि विद्यार्थीलाई जानकारी दिनुभयो । आफ्नो समयमा प्र्रयोग हुने पानी घडी अनि पाटीमा पढेको भरमा ज्योतिष विद्या हाँसिल गर्न सफल भएको कुरा बालबालिकालाई सुनाउनुभयो ।
रामदास श्रेष्ठ, भीमेश्वर नगरपालिका
कार्यक्रममा स्रोत व्यक्तिको रुपमा रहनु भएका अर्का ८१ वर्षीय जेष्ठ नागरिक रामदास श्रेष्ठले विगतको स्वास्थ्य सेवाको पद्धति र वर्तमानको स्वास्थ्य पद्धतिको विषयमा अनुभव सुनाउनु भयो । वि.सं २०२४ सालबाट सिनियर अहेबको जागिर खानुभएका श्रेष्ठले स्वास्थ्य क्षेत्रको अनुभव सुनाउँदै भन्नुभयो, “त्यो समय औषधी नपाएर धेरै नागरिकको ज्यान जान्थ्यो । अहिलेको जस्तो रोग पत्ता लगाउने स्वास्थ्य सामग्री थिएन । अनुमानको भरमा चेकजाँच गरिन्थ्यो तर पनि ७५ प्रतिशत रोग निको हुन्थ्यो । साधारण औषधीले पनि काम गथ्र्यो ।”
ऋषि प्रसाद न्यौपाने, भीमेश्वर नगरपालिका
समाजसेवी जेष्ठ नागरिक ऋषी प्रसाद न्यौपानेले नैतिवान हुन बालबालिकालाई अनुरोध गर्नुभयो । राजनीतिले नैतिक शिक्षालाई छायाँमा पारेको भन्दै नैतिकतालाई जीवनको हतियार बनाएर अगाडि जान सुझाव दिनुभयो । आफूलाई शिक्षा दिने गुरु र मातापिता अनि अभिभावकले देखाएको बाटो नहिड्ने व्यक्तिले प्रगति गर्न सक्दैन भन्दै आफूलाई शिक्षा दिने गुरुलाई जीवनभर सम्मान गर्न नभुल्न बालबालिकाको ध्यान केन्द्रित गर्नुभयो ।
रङ्गध्वज बुढाथोकी, भीमेश्वर नगरपालिका
जिल्ला जेष्ठ नागरिक संघ दोलखाका अध्यक्ष समेत रहनुभएका रङ्गध्वज बुढाथोकीले घरमा भएका जेष्ठ नागरिकको भावना बुझेर व्यवहार गर्न बालबालिकालाई अनुरोध गर्नुभयो । बालबालिकालाई शिक्षा मार्फत जीवन उपयोगी सीपको विकास गर्न र सत्कर्मलाई जीवनको लक्ष्य बनाउन भन्दै आफ्ना जीवनका यात्रा सुनाउनु भएको थियोे ।
जेष्ठ नागरिकसंग साक्षात्कार गर्न पाउँदा निक्कै गर्वको महशुस भएको कक्षा १० मा अध्ययनरत इच्छा शिवाकोटीको भनाइ छ । “पुर्खाको विगत कस्तो छ ? भन्ने थाहा थिएन । यो कार्यक्रमले जानकारी गराइदियो ।” अर्का विद्यार्थी अजपा शिवाकोटीले भन्नुभयो । कार्यक्रमबाट नयाँ कुरा प्राप्त भएको भन्दै विद्यार्थीले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने बताएका छन् ।