दोलखा । तामाकोशी गाउँपालिकास्थित जफे–हाँवा सडक खण्ड आवश्यक मर्मत नहुँदा बर्षाको समयमा जोखिमपूर्ण बनेको छ ।
मुख्यतयाः जफेको ढोलीखोला जेरो किलोदेखि शहरेको भँगेरी गोलाईसम्मको दर्जनौं ठाउँमा सडक माथिबाट खसेको पहिरोले नाली पुरिएर सडकबाटै खोला बग्दा पिच भत्किन थालेको छ । पिच भत्किएर सडकमा खाल्डाखुल्डी हुनुका साथै सडकबाट बगेको पानीका कारण पहिरो जाँदा सडक भत्काउने जोखिम बढेको स्थानीयको गुनासो छ ।
पिपलडाँडा नजिक पहिरो खसेर नाली पुरिएको दृश्य ।
नालीमा खसेको पहिरो नपन्छाउनु र सडकको आसपासमा उम्रिएका झाडी सफा नहुँदा जुनसुकै बेला सवारी दुर्घटना हुन सक्ने तामाकोशी गाउँपालिका वडा नम्बर–६ का स्थानीय बोलेरो चालक आनन्द फुयाँलले गुनासो गर्नुभयो ।
प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय अन्तर्गतका दुईजना सडक हेरालु कर्मचारी भएपनि कर्मचारीले काम नगरिदिँदा सडक आसपासमा उम्रिएका घाँसपात र रुख विरुवाले सडक झाडीमा परिणत हुन लागेको छ ।
तिलक स्मृति प्रतिक्षालय नजिक सडकबाटै पानी बगेर बाटो बिगारेको दृश्य ।
हेरालु कर्मचारी परिचालन गर्ने अधिकार पालिकालाई नभएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रको भनाई छ । तर पालिका मार्फत काम गर्नेगरी सडक बोर्ड नेपालबाट जफे–हाँवा सडक खण्ड मर्मतका लागि विनियोजन भएको १४ लाख रुपैयाँ रकमको भने अहिलेसम्म काम हुन सकेको छैन् ।
ढोलीखोला जेरो किलोदेखि गाउँपालिकाको कार्यालय जामुनेसम्म पिपल्स हाईड्रो पावर कम्पनीले मर्मत गरिदिने आश्वासन दिएपछि पालिकाले हाईड्रो पावर कम्पनीको बाटो कुरेर बसको प्रमुख प्रशासकीय अधिकृत मिश्रको भनाई छ ।
जफे–हाँवा सडक एडिबी र नेपाल सरकारको साँझेदारीमा करिब दुई बर्षअघि कालोपत्रे भएको हो । नयाँ जनप्रतिनिधि आएको दुई महिना हुन लाग्दा समेत पालिकाका ७ मध्ये ६ वटा वडामा पुगेको उक्त सडक मर्मतमा ध्यान पुग्न सकेको देखिँदैन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडाका वडा अध्यक्षहरु दैनिकजसो यात्रा गर्ने गरेका छन् ।