दोलखा । नेकपा एमाले दोलखाले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भएको अन्तरघातको छानविन गर्न कार्यदल गठन गरेको छ ।
मङ्गलबार सम्पन्न जिल्ला कमिटीको पाँचौं पूर्ण बैठकले उपसचिव धर्मेन्द्र मोक्तानको संयोजकत्वमा छानविन कार्यदल गठन गरेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । त्यसैगरी एमाले नेता स्वर्गीय पशुपति चौलागाँईको स्मृतिमा स्मारिका प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सोमबार र मङ्गलबार दुईदिनसम्म चलेको बैठकले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै पार्टी शुद्धीकरण र सुदृढीकरणको योजना निर्माण गरेको छ । पार्टी कार्यकर्ताको सुरक्षाको लागि जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धरको नेतृत्वमा कार्यकर्ता कल्याण कोष स्थापना कार्यदल गठन भएको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अन्तरविरोध र अन्तरघात, टिकट वितरणमा देखिएको समस्या, सत्तारुढ गठबन्धनले गरेको सत्ताको दुरुपयोग लगायतका कारण पराजय व्यहोर्नु परेको पालिका तहका नेताहरुले बैठकमा जानकारी गराएका थिए । २०७४ मा ७ पालिकामा विजयी भएको एमाले गत स्थानीय निर्वाचनमा दुई पालिकामा प्रमुख, उपप्रमुख र तीनवटा पालिकामा उपप्रमुखमा सिमित भएको थियो ।
बैठकले श्रावण १४ गते जिल्ला, पालिका तथा वडा कमिटीको लागि प्रशिक्षण गर्ने, भाद्र १४ गतेसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । बैठकलाई नेकपा एमाले वाग्मती प्रदेशका इन्चार्ज काँशीनाथ अधिकारी, पोलिटब्युरो सदस्यहरु आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत लगायतका नेताहरुले बैठकलाई सम्बोध गर्दै आगामी निर्वाचनको लागि रणनीतिक रुपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
बैशाख ३० मा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि निर्वाचन समिक्षाका लागि एमाले दोलखा जिल्ला कमिटीको पूर्ण बैठक पहिलो पटक बसेको हो ।