काठमाण्डौं । ‘मिस्टर मोडल अफ द वर्ल्ड’ मा नेपालबाट प्रतियोगी छनौट गर्न ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ प्रतियोगिता हुने भएको छ ।
नेपाली प्रतियोगी छनौटका लागि आगामी भाद्र १८ गते अर्थात सेम्टेम्बर ३ तारिखका दिन ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ को अन्तिम प्रतियोगिता हुने इभेन्ट मेनेजर राजन बुढाथोकीले जानकारी दिनुभयो । शनिबार भक्तपुरमा भएको मिस्टर मोडल अफ द वर्ल्ड नेपाल घोषणा कार्यक्रममा टाइटल स्पोन्सरका लागि एन प्लस प्रोफेशनलकी ब्राण्ड एम्बेसडर विना श्रेष्ठ र मिस्टर मोडल अफ द वर्ल्ड टिमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताबाट छनौट भएका विजेता आगामी नोभेम्बर ३ देखि ७ तारिखमा थाइल्याण्डको बैंककमा हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड’ मा प्रतिस्पर्धा गर्न पाउनेछन् । यसअघि अन्य प्रतियोगिताबाट छनौट भएका मोडल पनि ‘मिस्टर मोडल अफ द वर्ल्ड’ मा सहभागि हुने गरेकोमा यस बर्षदेखि ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का विजेता मात्र सहभागि हुन पाउनेछन् ।
प्रतियोगितामा सहभागि हुनका लागि नेपाल वा विदेश जहाँ बसेपनि १८ देखि ३२ बर्ष उमेर समूहको हुनपर्नेछ । ‘मिस्टर मोडल अफ द वर्ल्ड’ ले तोकेको मापदण्ड नै ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ को मापदण्ड हुने आयोजकले जनाएको छ । ‘मिस्टर मोडल अफ द वर्ल्ड’ मा भाग लिन जाने ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का विजेताको खर्च ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ ले व्यहोर्नेछ ।
भक्तपुरस्थित हेरिटेज प्यालेसमा आयोजना गरिने प्रतियोगिताका लागि आवेदन दिन इमेल ठेगाना [email protected] वा मिस्टर मोडल अफ द वर्ल्ड नेपालको फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ ।
मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की रहनुभएको छ । कार्की सन् २०१८ को मिस्टर मोडल अफ द वर्ल्डको उपाधी विजेता हुनुहुन्छ । क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी तथा म्यानेजिङ डाइरेक्टर आशिष नापित र इभेन्ट मेनेजर राजन बुढाथोकी रहनुभएको छ ।
यसअघि सन् २०१८ र २०१९ मा ‘मिस्टर मोडल अफ द वर्ल्ड’ प्रतियोगिता भएकोमा २०२० र २०२१ मा कोरोना महामारीका कारण हुन सकेको थिएन ।