दोलखा । शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिकाको सिमानामा रहेको अँधेरीखोलामा दोलखा जिल्लाकै सबैभन्दा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, शैलुङ गाउँपालिकाको १३ प्रतिशत र स्थानीय समुदायको २ प्रतिशत लागत साँझेदारी गरी जम्मा ४६ लाख ६८ हजार २ सय १८ रुपैयाँ लागतमा पुल निर्माण भएको दिगो विकासका लागि नागरिक मञ्च (सिभिक फोरम), दोलखाका प्राविधिक असिस्टेन्ट सव इन्जिनियर विपिन्द्र खतिवडाले जानकारी दिनुभयो । खोलाको सतहदेखि ३९ मिटर उचाईमा रहेको उक्त पुल दोलखा जिल्लाकै अग्लो पुल भएको खतिवडाले बताउनुभयो । सिभिक फोरम, दोलखाले पुल निर्माणमा सामाजिक तथा प्राविधिक सहयोग गरेको हो ।
शैलुङ गाउँपालिकाको वडा नम्बर ७ फस्कु र मेलुङ गाउँपालिकाको वडा नम्बर १ पवटीलाई जोड्ने १ सय १५ मिटर लामो अँधेरीखोला साँगुते झोलुङ्गे पुल निर्माण भएको निर्माण उपभोक्ता समितिका सचिव सुजन शिवाकोटीले जानकारी दिनुभयो । पुल निर्माण भएसँगै दुईवटा वडाका २ सय ८० घरधुरीका १ हजार ४ सय जना लाभान्वित भएका छन् ।
२०७८ को माघबाट निर्माण शुरु भएको पुल पाँच महिनाको अवधिमा २०७९ को जेठ मसान्तमा सम्पन्न भएको सचिव शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार मेलुङ गाउँपालिकापट्टी पर्ने पुलको दाया किनाराको जगका लागि स्थानीय खड्ग प्रसाद शिवाकोटीले करिब एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनु भएको हो ।
जिल्लामा एकैबर्ष १० वटा पुल बने
असिस्टेन्ट सव इन्जिनियर खतिवडाका अनुसार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत र स्थानीय समुदायको २ प्रतिशत लागत साँझेदारी मोडलमा दोलखामा गत आर्थिक बर्ष अँधेरीखोला साँगुतेसहित १० वटा झोलुङ्गे तथा ट्रसपुल निर्माण भएका छन् । उक्त मोडलमा ट्याम्पेथाली झोलुङ्गे पुल (कालिञ्चोक–२), चर्नावती ट्रसपुल (शैलुङ–४), टेरुङ ट्रसपुल (शैलुङ–१), गुमुखोला झोलुङ्गे पुल (कालिञ्चोक–७) र जम्सिङ ट्रसपुल (शैलुङ–२) निर्माण भएका हुन् ।
त्यसैगरी चंखु बरुखोर झोलुङ्गे पुल (गौरीशङ्कर–६), अँधेरीखोला ट्रसपुल (शैलुङ–७), घट्टेखोला ट्रसपुल (जिरी) र सिमखर्क मेहेले झोलुङ्गे पुल (जिरी) पनि गत आर्थिक बर्ष निर्माण सम्पन्न भएका छन् ।
दोलखाको विभिन्न पालिकामा एउटै साँझेदारी मोडलमा अझै ९ वटा झोलुङ्गे तथा ट्रसपुल निर्माणाधिन अवस्थामा रहेका सिभिक फोरम, दोलखाले जनाएको छ ।