दोलखा । नेकपा एमाल जिरी नगर कमिटीको एक महिने सङ्गठन शुद्धिकरण तथा सुदृढीकरण (शुसु)अभियान सम्पन्न भएको छ ।
गत श्रावण ११ गतेदेखि शुरु भएको अभियान भाद्र ११ गते सम्पन्न भएको अभियानका जिरी नगरपालिका संयोजक तथा नेकपा एमाले जिल्ला कमिटी दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । अभियानबाट पार्टीभित्र रहेको अन्तरद्वन्द्व समाधानको शुरुवात भएको, एमालेले जनमत जोगाउन नसक्दा निर्वाचन परिणाम तलमाथि हुन गएको, एमालेको वैचारिक दुरदर्शीतासहितको बारेमा बुझाउन नसक्दा जनगुनासो बढेकोले जनगुनासो सम्बोधन गर्न नेता, जनप्रतिनिधि र नागरिकबिच छलफल जरुरी रहेको निष्कर्ष निकालिएको छ ।
अभियानका क्रममा ५ सय भन्दा बढी नेता, कार्यकर्ता, शिक्षक, व्यवसायी, किसान, विद्यार्थी, सर्वसाधारणसँग जिरी नगरपालिकाको विकासका लागि नेकपा एमालेले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल भएको संयोजक मानन्धरले बताउनुभयो । एक महिनाको अवधिमा जिरी नगरपालिकाभित्रका ३० प्रतिशत भन्दा बढी पार्टी सङ्गठित सदस्यले सदस्यता नविकरण गरेका र काठमाण्डौं बस्नेहरुले काठमाण्डौंमै नविकरण गर्न पाउने गरी नगर कमिटी अध्यक्ष केशव कार्कीसहितको टोली काठमाण्डौं पुगेको छ ।
अभियानमा अभियानका सहजकर्ता तथा एमाले बागमती प्रदेश कमिटी सदस्य मित्र जिरेल, प्रदेश कमिटी सदस्य लक्ष्मण गुभाजू, जिल्ला कमिटी सदस्य टंक जिरेल, जिल्ला समन्वय समिति पूर्व उपप्रमुख मनमाया जिरेल, जिरी नगर उपप्रमुख कृष्णमाया बुढाथोकी लगायत नेताहरुको सक्रिय सहभागिता रहेको एमाले जिरी नगर कमिटीले जनाएको छ ।