दोलखा । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका दोलखा भीमेश्वरको मन्दिर शनिबारदेखि दर्शनार्थीका लागि खुला भएको छ ।
शुक्रबार बसेको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिको बैठकले यहि मंसिर १८ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दोलखाको बैठकले मठ मन्दिर खोल्न निर्देशन गरे बमोजिम शनिबारबाट मन्दिर खुल्ला गर्ने निर्णय गरेको समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
दर्शनार्थीका लागि समितिले जारी गरेका सूचनामा तोकिएका नयाँ नियमहरुः
१.सम्पूर्ण दर्शनार्थीले २/२ मिटरको फरक पारेर लाईन बसी मन्दिर प्रवेश गर्नुपर्ने ।
२.सम्पूर्ण दर्शनार्थीले अनिवार्य रुपमा माक्स लगाउनुपर्ने ।
३.सम्पूर्ण दर्शनार्थीले साबुन पानीले हात धुनुपर्ने वा स्यानीटाईजरको प्रयोग गर्नुपर्ने ।
४.सम्पूर्ण दर्शनार्थीले मन्दिरको मूल ढोकाबाट मात्र पूजा गर्न पाईने ।
५.बली पूजा समितिले तोकेको स्थानमा मात्र गर्न सकिने ।
बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दोलखाको बैठकले नित्य पूजाबाहेकका गतिविधिमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयले दशैँ लगायतका चाडपर्वको समयमा मठ मन्दिरमा हुने भिडभाडका कारण कोरोना संक्रमण फैलन सक्ने भन्दै गत असोज ३० गतेबाट जिल्लाभरका मठ मन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न प्रतिबन्ध लगाएको थियो । कोरोना संक्रमण जोखिम बढेपछि जिल्लाका धेरैजसो मठ मन्दिर गत बर्षको चैत्र महिनादेखि नै बन्द रहेका थिए ।