दोलखा । प्रदेशसभा निर्वाचन क्षेत्र दोलखा ‘क’ का नेकपा एमाले उम्मेद्वार नर बहादुर श्रेष्ठले मंसिर ४ को निर्वाचन जितेर जितको ह्याट्रिक गर्ने बताउनुभएको छ ।
बिहीबार भिलेज खबरसँग कुराकानी गर्नुहुँदै श्रेष्ठले २०५४ र २०७४ को स्थानीय निर्वाचन जितिसकेको भन्दै अब प्रदेशसभाको निर्वाचन पनि जितेर जितको ह्याट्रिक गर्ने बताउनुभएको हो । एक महिना भन्दा लामो चुनावी प्रचार अभियानका क्रममा एमालेको पक्षमा जनलहर देखिएको र एमालेले गरेका सकरात्मक कामको प्रभावकै कारण पनि दोलखाका सबै एमाले उम्मेद्वारले निर्वाचन जित्ने एमाले दोलखाका अध्यक्ष समेत रहनुभएका श्रेष्ठको दाबी छ ।
एक अर्को सन्दर्भमा कुरा गर्नुहुँदै श्रेष्ठले गत स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका उम्मेद्वारले जितेको पालिकाका जनप्रतिनिधि आन्तरिक झमेलामा अल्झिएर जनपक्षीय कामको शुरुवात समेत गर्न नसकेकोले पनि एमालेमा जनलहर उर्लिएको बताउनुभयो ।
सरकारी जागिरमा रहेकै बेला पार्टीले बोलाएर २०५४ मा तत्कालिन भेड्पू गाविसको अध्यक्ष जितेर काम गर्नुभएका श्रेष्ठ २०७४ को स्थानीय निर्वाचनमा मेलुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गरीसक्नुभएको छ ।
२०७८ को पुसमा सम्पन्न एमाले दोलखाको दशौं जिल्ला अधिवेशनबाट लोकप्रिय मतसहित पार्टी अध्यक्ष बन्नुभएका श्रेष्ठसँग निर्वाचनको धेरै अनुभव रहेको छ ।
राजनितिक जीवनी
बुबा बुिद्धमान श्रेष्ठ तथा आमा मनमायाको कोखबाट नवौं सन्तानको रुपमा वि.स २०२१ साल मंसिर २६ गते दोलखाको साविक भेड्पू गाविस वडा नम्बर ५ लामाटार (हाल मेलुङ गाउँपालिका वडा नम्बर–४) मा जन्मिनुभएका भएका श्रेष्ठ विद्यार्थी जीवनदेखि नै राजनितिमा लाग्नुभएको हो । २०३६ सालमा त्रिभुवन माध्यामिक विद्यालय मेलुङमा कक्षा ६ मा अध्ययनरत रहँदा तत्कालिन मालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रारम्भिक कमिटीबाट राजनितिक जीवन शुरु गर्नुभएका श्रेष्ठ १८ बर्षको कलिलो उमेरमै २०३९ सालमा अनेरास्ववियु दोलखाको चौथो अध्यक्ष बनेर काम गर्नुभएको थियो ।
अनेरास्ववियुबाट नै पञ्चायत विरोधी आन्दोलन गर्ने क्रममा श्रेष्ठले २०४१ देखि २०४३ सम्म पटक पटक नजरबन्दमा पर्नुको साथै जेल जीवन समेत भोग्नु परेको थियो । विभिन्न आन्दोलनमा सहभागि भएकै कारण प्रहरी प्रशासनको निशानामा पर्नुभएका श्रेष्ठले विभिन्न शारिरिक यातना पाउनुभयो । छोराले यातना पाएको सुनेपछि आमामा मानसिक समस्या देखा पर्न थाल्यो । यसै रोगले आमाको देहान्त भयो ।
२०४२ सालमा युथ लिगको सदस्यता प्राप्त गर्नुभएका श्रेष्ठ २०४७ सालमा पार्टीको संगठित सदस्य हुँदै २०५७ सालमा जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । जिल्ला कमिटी सदस्य बने लगत्तै पार्टी जिल्ला कमिटीको आर्थिक विभाग प्रमुखको जिम्मेवारी पाउनुभएका श्रेष्ठको कार्यकुशलताकै कारण २०६७ देखि २०७० सम्म सचिवालय सदस्य बन्नुभएको थियो । पार्टी जीवनकै लागि कष्टपूर्ण संघर्ष गर्नुभएका श्रेष्ठले २०७० मा भएको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबी गर्नुभएको भएपनि सहमतिबाट कमिटी गठन गर्ने नेतृत्वको अनुरोधमा इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा गठित जिल्ला कमिटीको उपाध्यक्ष पदमा रहेर करिब नौ बर्षदेखि काम गरिरहनुभएको छ ।
विभिन्न क्षेत्र र ठाउँमा सेवारत रही पार्टीमा योगदान गरीरहेका कार्यकर्ताहरुलाई २०५४ सालमा पार्टीले बोलाएर निर्वाचनमा उम्मेद्वार बन्ने अवसर दिएको बेला २०५४ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्नुभएका श्रेष्ठ तत्कालिन भेड्पू गाविसको गाविस अध्यक्षमा अत्याधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । निर्वाचित जनप्रतिनिधिको रुपमा काम गरीरहेका बेला २०५२ देखि चलिरहेको राज्य र तत्कालिन नेकपा माओेवादीबिचको ससस्त्र द्वन्द्वको समयमा दुवै पक्षबाट पिडित बन्नुभएको थियो ।
नेकपा एमालेको नेता तथा जनप्रतिनिधि भएकै कारण २०५८ सालमा माओवादी पक्षबाट अपहरणमा पर्नुभएका श्रेष्ठ ठूलो मानसिक यातना सहेर ५ दिनपछि रिहा हुनुभएको थियो । माओवादीको धम्किका कारण गाउँबाट विस्थापित हुनुभएका श्रेष्ठ तीन बर्षपछि २०६१ मा गाउँ फर्कनुभएको थियो । गाउँबाट विस्थापित भएपछि चरिकोटमा गौरीशंकर मेडिकल हल सञ्चालन गरेर बसेको समयमा समेत माओवादीको मेडिकल उपचारमा सहयोग गरेको आरोप लगाएर तत्कालिन राज्य पक्षले नियन्त्रणमा लिई निर्घात कुटपिट गरी तत्कालिन प्रतिपक्ष दल नेकपा एमालेको दबाबमा २४ घण्टापछि रिहा गरेको थियो ।