दोलखा । नेपाल सङ्घीय संरचनामा गईसकेपछि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो निर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ ७ स्वतन्त्रसहित २१ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ‘क’ मा ७ स्वतन्त्रसहित १८ जना र प्रदेशसभातर्फ क्षेत्र नम्बर ‘ख’ मा ४ स्वतन्त्रसहित १३ उम्मेद्वार चुनावी मैदानमा छन् । यसरी प्रतिनिधिसभा र प्रदेशसभा गरी १८ जना स्वतन्त्रसहित ५२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।
रोचक तथ्यहरु
१.उम्मेद्वारमध्ये सबैभन्दा धेरै १२ जना भीमेश्वर नगरपालिकाका रहेका छन् ।
२.उम्मेद्वारमध्ये सबैभन्दा कम विगु, शैलुङ र जिरीका ३/३ जना रहेका छन् ।
३.दुईजना उम्मेद्वार जिल्ला बाहिर (भक्तपुर) का छन् । उनीहरु दुवैजना नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेद्वार हुन् ।
४.प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ का उम्मेद्वार टिका बहादुर तामाङ निर्वाचन क्षेत्र ‘ख’ (कालिञ्चोक गा.पा–१) का स्थायी बासिन्दा हुन् ।
५.प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेद्वार नेपाली काङ्ग्रेसका बर्मा लामा निर्वाचन क्षेत्र ‘क’ (मेलुङ गा.पा–६) का स्थायी बासिन्दा हुन् ।
६.तामाकोशी नदीले दुई भागमा विभाजित दोलखामा नेकपा एमालेका तीनैजना उम्मेद्वार तामाकोशी पश्चिमका छन् । सत्तारुढ गठबन्धनका उम्मेद्वारमध्ये प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेद्वार बर्मा लामा तामाकोशी पश्चिमका हुन् भने अन्य दुईजना तामाकोशी पूर्वका हुन् ।
७.दुई ठूला राजनीतिक दलमध्ये नेकपा एमालेका जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठ प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र नेपाली काङ्ग्रेसका जिल्ला सभापति बर्मा लामा प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट उम्मेद्वार बनेका छन् । यसमा अर्को संयोग के छ भने श्रेष्ठले निर्वाचन जितेमा जितको ह्याट्रिक हुनेछ भने लामाले हारेमा हारको ह्याट्रिक हुनेछ ।
८.५२ जना उम्मेद्वारमध्ये एकजना पनि महिला उम्मेद्वार छैनन् ।
९.अहिलेका निर्वाचनमा सबैभन्दा कान्छा उम्मेद्वार २६ बर्षका दावा तामाङ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का स्वतन्त्र उम्मेद्वार हुन् भने नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभाका उम्मेद्वार गोपाल बहादुर शिवाकोटी ६५ बर्षका छन् ।
१०.उम्मेद्वारहरुमध्ये २६ जना ब्राह्मण क्षेत्री, २४ जना जनजाति र दुई जनाले दलित समुदायबाट उम्मेद्वारी दिएका छन् ।