तत्कालिन नेकपा एमाले र एकिकृत नेकपा माओवादीबिच चुनाबी गठबन्धनबाट शुरु भएको पार्टी एकता प्रक्रिया तीन बर्ष नपुग्दै फुटतर्फ उन्मुख भईरहेको छ । एउटै पार्टीका दुई अध्यक्षले सचिवालय बैठकमा पेश गरेको एकअर्काबिच अविश्वास झल्किने आरोपप्रत्यारोपसहितको फरक–फरक प्रस्तावले पार्टी दुर्घटनाको गम्भीर मोडमा पुगेको भन्दै नेता कार्यकर्ताहरु नै निराश बनिरहेका छन् । पार्टीमा देखिएको विवादको जड, विवादकै कारण पार्टी फुट्ने सम्भावना, एकता प्रक्रियामा भएका कमजोरी अनि पार्टी एकता कायम राख्न अबको विकल्प लगायतका विषयमा नेपाल सरकारका पुर्व पर्यटनमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा बागमती प्रदेश कमिटीका सचिव आनन्दप्रसाद पोखरेलसँग भिलेज खबरले गरेको कुराकानीको सम्पादित अंश ।
नेकपामा अहिले जुन खालको विवाद देखिएको छ, यसले अब पार्टी फुटतर्फ जान लागेको संकेत गरेको हो ?
तपाईँले पनि धेरै नेताहरुको अभिव्यक्ति सुन्नु भएकै होला । पार्टीका दुईजना अध्यक्षले छुट्टाछुट्टै प्रस्ताव सचिवालय बैठकमा पेश गर्नुभएको छ । विशेषतः दुई अध्यक्षको समन्वयमा बैठकमा प्रस्ताव लैजानुपर्ने विधि विपरित अध्यक्ष कमरेड प्रचण्डले एकतर्फी प्रस्ताव बैठकमा पेश गर्नुभयो । यसले गर्दा दुई अध्यक्ष एउटै पार्टीमा बस्न सक्दैन्न कि भन्ने कतिपय मानिसहरुमा बुझाई छ । कम्युनिष्ट पार्टीमा पहिले–पहिले पनि यस्ता विवादहरु हुने गरेका थिए र लामो समयको वार्ता, संवाद र छलफलपछि मिल्ने गरेका छन् । अहिले पनि बागमती प्रदेश कमिटीको सचिवको भूमिकामा रहँदा पार्टी एकता जोगाई राख्न धेरै गृहकार्यहरु गरीरहेकै छु ।
पार्टी एकताको नायक केपी ओलीले पार्टी फुटाउने कल्पना पनि गर्न सकिँदैन् । अर्का अध्यक्ष प्रचण्ड लगायत पाँचजना साथीहरुले पार्टीभित्र प्रायोजित रुपमै बहुमत तयार गरेर प्रस्तुत गरेको प्रस्ताव र उनीहरुका अभिव्यक्ति लगायतलाई हेर्दा पार्टी विभाजनमा लैजान खोजेको प्रष्ट हुन्छ । यसबिचमा पनि एकता कायम राख्नका लागि नेताहरुको भाव उत्तेजनालाई काबुमा राख्नका लागि कमरेड केपी ओलीले भरमग्दुर प्रयास गरीरहनुभएको छ । त्यसका लागि दुई अध्यक्षको सहमतिमा प्रस्ताव तयार गर्न पहल गर्नुको साथै बैठकहरु केहि समयपछाडि धकेल्ने लगायतका कामहरु भईरहेका छन् । एकता कायम राख्नुपर्छ भन्ने पक्षमा हामी पनि निरन्तर गृहकार्य गरीरहेकै छौं ।
नेताहरु प्रायोजित ढंगबाट पार्टी विभाजनमा लागेका छन् भन्नुभयो, प्रायोजित भन्नाले केलाई संकेत गर्न खोज्नुभएको हो ?
प्रायोजित भन्नाले चाहेर नचाहेर जे भएपनि नेताहरुको समूहबद्धता छ । तसर्थ उहाँहरु स्थायी समितिको बैठकको निर्णय नमान्ने, राजनितिक नियुक्तिदेखि मन्त्रीसम्म आफू निकटका मान्छेहरु नपरेको आरोप लगाएर आफ्नो भाग नपाए त्यहि दिनदेखि पार्टी विभाजन शुरु गर्छौ भनेर प्रधानमन्त्रीलाई धम्क्याउने र प्रचण्डको नामबाट जसरी प्रस्तावपत्र भनेर स्थायी समितिमा पेश भयो म त भन्छु त्यो त पाँचजनाको संयुक्त आरोपपत्र हो । त्यसरी त्यो दस्तावेज पेश गर्नु नै पार्टी विभाजन गराउने योजना हो । किनकि पार्टी कार्यालयमा बसेर तय गर्नुपर्ने एजेण्डा तथा गर्नुपर्ने छलफल सचिवालयका पाँचजना छुट्टै बसेर गर्नु र दुई अध्यक्षको सहमतिमा आउनुपर्ने प्रस्ताव एक पक्षिय तबरबाट आउनुलाई मैले प्रायोजित भनेको हुँ ।
पार्टी एकताको शुरुवातमा के त्यस्तो गलत सहमति वा कमजोरी भयो, जसले पार्टी अहिलेको विवादित अवस्थामा आईपुग्यो ?
पार्टी एकताको प्रक्रिया शुरु हुँदा अत्यन्त पवित्र सोचबाट शुरु गरिएको थियो । त्यसलाई आम नेता कार्यकर्ताहरुले स्वीकार गरेका थिए । जब कमरेड प्रचण्डले भारत भ्रमणका क्रममा केपी ओलीको सरकार विकल्परहित होईन्, विकल्पसहितको हो । आलोपालो सरकारको नेतृत्व गर्ने हाम्रो सहमति छ भनेर अस्थिरताको सीर्जना गर्नुभयो, त्यहिँबाट अन्तरविरोधको विजारोपण भएको हो । नेपाली जनताले दिएको जनमत स्थिर सरकार र मुलुकको स्थायीत्वका लागि हो । तर जब दुई अध्यक्षकाबिचमा अन्तर विरोध देखियो, त्यसमा अरु मान्छेहरुले खेल्ने अवसर पाएकोले पार्टीमा अहिलेको परिस्थिती निमार्ण भएको हो ।
अर्को कुरा केपी ओलीको व्यक्तित्व बन्नुमा भारतसँग लिएको अडान हो । संविधान जारी गर्ने बेलामा रोक्न आएको भारतीय टोलीलाई अटेर गरेर संविधान जारी गरेपछि भारत रिसाएको थियो । त्यसको प्रतिफल स्वरुप भारतले नाकाबन्दी लगायो । त्यसबेला केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो र उहाँले भारतका सामु घुँडा नटेक्ने अडान लिएपछि नाकाबन्दी खोल्न भारत आफैँ बाध्य भएको थियो । त्यस्तै नेपाल भारतवेष्ठित थियो, जब चिनसँग पारवाहन सन्धि गरेर नयाँ विकल्प खोजेपछि भारत त्यसमा पनि चिडिएको थियो । अर्को कुरा नेपालले सबै दलहरुको सहयोगमा जसरी लिम्पियाधुरा र लिपुलेकसहित समेटेर नेपालको नयाँ नक्सा जारी ग¥यो यसले त नेपाल भारतविच युद्ध हुने खालकै वातावरण बनेकोले ओली नेतृत्वको सरकार भारतलाई मन परेकै छैन् । यति मात्र होईन नेपालमै पनि कम्युनिष्ट सरकार मन नपराउने गैर कम्युनिष्टहरुले पनि यो सरकार ढलाउन खोजिरहेकै कारण पार्टीमा यो अवस्था आएको हो ।
अर्का अध्यक्ष प्रचण्डलाई २०७६ मंसिर ४ को स्थायी समिति बैठकले कार्यकारी अध्यक्षको भूमिका दिने निर्णय गरेकोमा किन अध्यक्ष र प्रधानमन्त्रीको भूमिकामा नै केपी ओली बस्नुपरेको त ? कि एकता प्रक्रियामा भएको सहमति नै त्यहि हो ?
त्यसमा के हो भने जब पार्टीमा अध्यक्षको कार्यविभाजन भयो त्यसमा एकजनाले कार्यकारी अध्यक्षको रुपमा काम गर्ने र अर्कोले प्रधानमन्त्रीको रुपमा काम गर्ने निर्णय भएको हो । तरपनि विधानतः दुई अध्यक्ष भएकोले पार्टीका काममा सरसल्लाह त हुनु नै पर्छ । कमरेड प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा काम गर्न नपाएकोमा समस्या हो भन्ने त मलाई लाग्दैन् । मात्रै ओलीको कार्यशैली ठिक नभएको भन्ने उहाँहरुको आरोप हो । यसमा पार्टी, सिद्धान्त, राष्ट्रियता यी कुनै विषयको चिन्ता होईन् । यो त मात्रै कसलाई कुन पद दिईयो वा दिईएन भन्ने विषय मात्रै उहाँहरुको चिन्ताको विषय भएको छ ।
जब पार्टीको एकता प्रक्रिया शुरु भयो त्यतिबेला तपाँईहरु गाउँ गाउँमा पुगेर फरक राजनितिक आस्थाका कारण चिढिएका तत्कालिन एमाले र माओवादीका कार्यकताहरुलाई मिल्नुपर्छ भन्नुभयो । अहिले त फेरी तीनै कार्यकर्ताहरुले अध्यक्षज्यूहरु मिलिदिनुहोस भनेर पो बिन्ती बिसाउँदा पनि मिल्ने छाँटकाँट छैन नि ?
तपाईँले ठिकै भन्नुभयो । हामीले धेरै मेहनत गरेका छौं । हो त्यतिबेला हामीले कार्यकर्ताहरुलाई मिल्नुपर्छ भन्यौं । अहिले अध्यक्षद्वयलाई मिल्नुपर्छ भनीरहेकै छौं । कस्तो हुँदो रहेछ भने ज्योतिष शास्त्र अनुसार नौ वटा ग्रह हुन्छन् । ती ग्रहहरु अशान्त भएभने पूजापाठ, जपतप गरेर ठिक हुन्छन् भन्ने विश्वास छ । तर पूर्वाग्रह भनेकोचाहिँ यस्तो हुँदोरहेछ, जसलाई कुनै पूजापाठ, जपतप गरेर ठिक पार्न नसकिने रहेछ । आज नेतृत्वबिचमा आग्रह पूर्वाग्रह बढी छ ।
संयोगवश नेकपाको सचिवालयमा पनि त नौ जना नेताहरु हुनुहुन्छ, यो नौ जनाको नेतृत्व रहेको सचिवालयबाटै विवाद शान्त हुन सक्ने सम्भावना कत्तिको छ ?
सचिवालय त मलाई भन्नुहुनछ भने सम्मानित नेताहरुलाई त्यसो भन्न रहर होईन तर जसरी हामीले उहाँहरुलाई विश्वास र सम्मान गरेर पार्टीको ठुलो जिम्म्ेवारी सुम्पियौं त्यसरी उहाँहरुले त्यो सम्मान बोक्न सक्नुभएन् । तसर्थ अहिले अध्यक्ष कमरेड केपी ओलीले अब सचिवालयका सबैजनाले राजिनामा गरेर नेतृत्व अर्को पुस्तामा हस्तान्तरण गरौं भनेर प्रस्ताव गरीसक्नुभएको पनि छ । हामी चाहान्छौं अझै पनि हालकै नेतृत्वमा सहमति जुटोस । त्यसो हुन सकेन् भने पार्टीलाई विधि र पद्धतिबाट चलाउनका लागि हामी अर्को पुस्ताका नेताहरु पनि तयार रहेको अवस्था हो । त्यो कुरा अहिलेको नेतृत्वले स्वीकार गरेर उनीहरु सल्लाहकारको भूमिकामा बस्नु उचित हुन्छ । तर अझै पनि हामी आशावादी छौं, अहिलको विवाद समाधान गरेर पार्टी अगाडि बढ्नेछ ।
नेकपाको हालको विवाद किन सचिवालयमा मात्र अल्झिराखेको छ ? स्थायी कमिटी, केन्द्रिय कमिटी जस्ता संरचना बाँकी नै छन् । यसका अलवा आगामी चैत्रमा महाअधिवेशन गर्ने कुरा छ, कि त्यहाँबाट विवाद समाधान गर्न सकिँदैन ?
विवाद सकेसम्म सचिवालयबाटै मिलोस भन्ने हो । त्यसो भनेर सचिवालयमा मात्रै पनि अल्झिराखेको होईन् । स्थायी कमिटमिा पनि पुगेको छ । छलफल भएको छ । ती विकल्प त अझै खुला छन् पनि । अर्कोकुरा जहाँसम्म महाधिवेशनको छ । त्यो पनि सम्भावना छ । किनकि हामीले पार्टी एकतापछिको पहिलो महाधिवेशन सहमतिमै गर्ने भनेर निर्णय गरेका छौं ।
कमरेड केपी ओलीले त भनिसक्नुभएको छ कि आउँदो अधिवेशनपछि म अध्यक्ष पनि बन्दिन र प्रधानमन्त्री पनि हुनुछैन् । तसर्थ अबको पालो त अहिले भएका नेतृत्वकै सहमतिमा जाने हो भने अहिले नै हतारो किन ? अनि फेरी अब चुनाबमा जाँदा त नेकपाको सरकारले गरेका राम्रा कामहरु देखाउनै पर्ला, अब अहिले नै केपी सरकारका कामप्रति आलोचना गर्ने हो भने भोलि जनतालाई भन्नेचाहिँ के हो ? तसर्थ आकाशतिर फर्केर थुक्ने काम बन्द गर्नुपर्छ । ओली नेतृत्वको सरकारले धेरै काम गरेको छ, मात्र गरेका कामबारे नागरिकलाई कति जानकारी दिन सकियो भन्ने हो । त्यसमा ठुलै ग्याप भएको कुरा मलाई आभास हुन्छ । त्यो काम गर्न जरुरी छ ।
जब नेकपामा विवाद बढ्न थाल्छ अनि अध्यक्षद्वयदेखि नेकपाका नेताहरु राष्ट्रपतिकहाँ धाउने शृङखला नै चल्छ, यसको मतलब नेकपाको राष्ट्रपति हो भन्ने कि राष्ट्रपति नेकपाको नियन्त्रणमा हुनुहुन्छ भन्ने हो ?
पहिलो कुरा त हिजो सामन्ती राजतन्त्रबाट आएका एकखाले मान्छेहरुलाई जनताका छोराछोरी राष्ट्रपति भएको कुरा मन परेको छैन् । तसर्थ राजतन्त्रलाई सघाउन चाहानेले अहिलेको गणतन्त्रको राष्ट्रपतिको कदमलाई विरोध गरेको हो । राष्ट्रपतिले प्रधानमन्त्रीलाई भेट्नु कुन अनौठो कुरा हो ? सत्तारुढ दलको अध्यक्ष, विपक्षी दलको अध्यक्षलाई उहाँले भेट्न नहुनी के छ र ! देशमा राजनितिक अस्थिरता हुन्छ कि भन्ने चिन्तासहित राष्ट्रपतिले भेटघाट गर्नुभएको छ । यसमा कसैले अनौठो मान्नु पर्दैन् ।
नेकपामा विवाद बढीरहँदा राजतन्त्र पक्षधरहरु सल्बलाईरहेका छन्, नेपालमा राजतन्त्र पुर्नस्थापना त हुन लागको छैन ?
नेपालमा राजतन्त्र फर्किनु भनेको त सपनामा खीर खानु जस्तै हो । अन्तिम राजा अहिले पनि जिवितै छन् । राजतन्त्रको बेलामा नेतृत्व पाएकाहरु अहिले पनि केहि हुन्छ कि भनेर लागेका मात्र हुन् । पञ्चायत कालमा हामीले पार्टीको झण्डा बोकेर हिँड्न पाईँदैनथ्यो । केहि बोल्न पाईँदैनथ्यो । लोकतन्त्रको सुन्दर पक्ष भनेको त यहि हो तत्कालिन राजाले पनि राजतन्त्र आउनुपर्छ भनेर बोल्न पाईरहेका छन् । तसर्थ यसबाट आत्तिनु पर्ने कुनै जरुरी नै छैन् ।
अन्तमा तपाईँले देखेको नेकपाको विवाद समाधानमा अबको विकल्प के-के हुन सक्छन् ?
नेकपाको नेतृत्वले विधानको पूर्णरुपमा पालना गर्नुपर्छ । निर्वाचन बेला सार्वजनिक गरिएको घोषणापत्र अक्षरसः पालना गर्नुपर्छ । तोकिएको समयमा महाधिवेशन गर्ने, कोरोनाको महामारीले थलिएको बेला सरकारले पुरक बजेट ल्याउनुपर्छ । अनि योग्य र क्षमतावान् मान्छेहरुलाई सरकारमा लैजानुपर्छ । पार्टी एकता कायम राख्न नेतृत्वले कुर्वानी गरेर अघि बढ्नुपर्छ । यसका साथै कार्यकर्ताहरुले नेतृत्वको पुच्छर समातेर मात्र हिँड्ने होईन सहिलाई सहि र गलतलाई गलत भन्न सक्नुपर्छ । अर्को महत्वपूर्ण कुरा नेतृत्वले स्वार्थ त्याग गर्न सक्नुपर्छ । यति भयो भने नेकपाको एकता पनि कायम हुन्छ र देशमा स्थिर सरकार, तथा सुखी नेपाली र समृद्ध नेपाल बन्नुको साथै मूलुकले स्थायीत्व प्राप्त गर्छ भन्ने मलाई लाग्दछ ।