दोलखा । नेकपा एमाले दोलखाले जिल्लामा बुथ कब्जा संस्कृतिको अन्त्य गर्न १३ बुँदे रणनीति अवलम्बन गर्ने भएको छ ।
बुधबार एमाले दोलखाका कार्यबाहक अध्यक्ष तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले फेसबुक पेजमार्फत एमालेले लिने १३ बुँदे रणनीति सार्वजनिक गर्नुभएको हो । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ कब्जा गरेर फर्जी मत हालेको भन्दै एमाले दोलखाले निर्वाचन आयोगमा उजुरी दर्ता गरेपछि आयोगले छानबिन गरीरहेको छ ।
उजुरीको छानबिन भईरहेको र यसको निर्णय नआउञ्जेल मतगणना नगर्न भनेपछि दोलखामा मतगणना अझै शुरु हुन सकेको छैन् ।
यस्ता छन् एमाले दोलखाका १३ बुँदे रणनीतिः
१.कब्जा भएको बुथमा पुनः निर्वाचन गराएर जनतालाई आफ्नो मत आफैँ हाल्ने वातावरण निर्माण गराउन पहल जारी राख्नेछौं ।
२.स्वच्छ, निष्पक्ष, भयरहित र निर्वाचन आयोगको निर्देशन पालना नगर्ने दोलखा प्रशासन प्रमुख, सुरक्षा प्रमुखहरूको निर्वाचनको क्रममा कर्तव्य पालना बारेको भूमिका अध्ययन गर्ने र त्यही अनुसारको व्यवहार गर्दै जाने ।
३.मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयको भूमिका सम्बन्धमा निर्वाचन प्रक्रिया शुरू भएदेखि निर्वाचनको सम्पूर्ण कार्य पूरा नभएसम्मका काम र गतिविधि अध्ययन गर्न टोली बनाउने र अध्ययनबाट आएको निष्कर्ष दोलखाली जनतालाई सार्वजनिक गर्दै जाने ।
४.संवेदनशील बुथमा मतदान अधिकृतहरू सेटिङ र भनसुनमा खटाईएको भन्ने कुराको खोजी गर्ने । कुन विधिबाट अधिकृत खटाइएको हो भन्ने कर्मचारी खटनपटन अधिकारीले जनतालाई जवाफ दिनुपर्ने आवाज उठाईरहने ।
५.बुथ कब्जा गराउन सहयोग गर्ने, कानुनी पक्रिया मिलाई दिने र निर्वाचनको क्रममा सबै ठिक छ भनेर झुटा विवरण दिईरहने तर बुथ कब्जालाई सघाईरहने अधिकृहरूलाई जनमत खोस्ने मतियार कर्मचारी घोषित गर्ने र तथ्य प्रमाणसहित उनीहरू विरूद्ध मुद्दा दायर गर्ने ।
६.मतदानस्थलमा प्रलोभन र सेटिङमा संलग्न भै कर्तव्य निर्वाह नगरी बुथ कब्जालाई सघाउने सुरक्षाकर्मीहरूको सबुत प्रमाणको आधारमा ुनिर्वाचनद्रोहीु घोषणा गरी जनतामाझ सार्वजनिक गर्ने ।
७.दोलखामा बुथ कब्जा विषयमा पत्रकार, नागरिक समाज र बौद्धिक वर्गमा अध्ययन र बहसको विषय बनाईरहन माहौल बनाउने ।
८.सधैँ बुथ कब्जा हुने बदनामित ठाउँहरूको जनतालाई लोकतन्त्र र मताधिकारको विषयमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने ।
९.निर्वाचन आयोगलाई दोलखामा सुरक्षित निर्वाचनको उपाय निकाल्न सुझाव दिईरहने ।
१०.युवा पुस्तालाई लोकतन्त्रका असल संस्कार र राजनीतिमा सक्रिय गराउन अभियान सञ्चालन गर्ने ।
११.हावी हुँदै गएको बुथ कब्जा संस्कृतिको अन्त्य गर्न निर्वाचन आयोगमा जनतासँग भएका प्रमाणहरू सम्प्रेषण गरिरहने ।
१२.दोलखामा २०७९ मंसिर ४ गते कब्जा गरिएको बुथको सम्बन्धमा निर्वाचन आयोगको निर्णय कुर्ने ।
१३.निर्वाचन आयोगको निर्णयपछि थप धारणा सार्वजनिक गर्ने ।