दोलखा । दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेद्वार भरत केसी विजयी हुनुभएको छ ।
केहि बेरअघि सार्वजनिक मत परिणाम अनुसार गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस दोलखाका सभापति वर्मा लामालाई १ हजार ८ सय १९ मत अन्तरले पराजित गर्दै केसी विजयी हुनुभएको हो । केसीले १९ हजार ४ सय १४ मत ल्याउँदा पराजित लामाले १७ हजार ५ सय ९५ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभाको २ नम्बर क्षेत्रमा पर्ने शैलुङ गाउँपालिकाको वडा नम्बर २ भुसाफेदा र कालिञ्चोक गाउँपालिका वडा नम्बर १ कालिञ्चोकमा गठबन्धनले बुथ कब्जा गरेको एमालेले आरोप लगाएको भएपनि एमाले उम्मेद्वार केसी विजयी हुनुभएको हो ।
राजनीतिक नेता र जनप्रतिनिधिको रुपमा धेरैले केसीलाई चिने पनि केसीको राजनीतिक पृष्ठभूमी र जनप्रतिनिधि हुँदा गरेका कामबारे सबैलाई जानकारी नहुन सक्छ । तसर्थ भिलेज खबरले केसीसँग गरेको कुराकानीका आधारमा केसीबारे केहि जानकारी प्रस्तुत गरेका छौं ।
राजनतिक जीवनी
केसी वि.स. २०२२ साल भाद्र ७ गते बुबा चन्द्रबहादुर केसी र आमा कृष्णकुमारी केसीको कोखबाट जन्मनु भएको हो । भीम माध्यामिक विद्यालय दोलखामा अध्ययनरत रहँदा २०३६ सालको पञ्चायती विद्यार्थी आन्दोलनमा सहभागि भएर राजनितिक जीवनको शुरुवात गर्नुभएको केसी नेपाल ल क्याम्पसमा उच्च शिक्षा अध्ययनको क्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रारम्भिक कमिटीमा बसेर काम गर्नुभएको थियो ।
कानुनमा स्नातक तह पास गरेर जिल्ला फर्कनुभएका केसीले २०४६ सालमा पार्टीको संगठित सदस्यता लिनु भएको हो । केसी तत्कालिन चरिकोट गाविसको गाउँ पार्टी कमिटी सचिव, ईलाका नम्बर ८ को ईलाका कमिटी सचिव हुँदै २०५० सालमा लालकुमार केसीको नेतृत्वमा रहेको एमाले जिल्ला कमिटी दोलखाको जिल्ला कमिटी सदस्य बन्नु भएको थियो । पार्टी जिल्ला कमिटीमा बसेर काम गर्ने क्रममा जनसाँस्कृतिक मञ्चको दुई कार्यकाल अध्यक्ष, प्रचार विभाग प्रमुख, सचिवालय सदस्य हुँदै शिव भण्डारीको नेतृत्वमा रहेको जिल्ला कमिटीमा उपसचिवको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ ।
केसी हाल नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्यको रुपमा राजनीतिक भूमिका निर्वाह गरीरहनुभएको छ ।
नेतृत्वदायी पदिय भूमिका
खेलकुद क्षेत्रमा विशेष दख्खल राख्नुहुने केसी नेपाल खेलकुद महासंघको केन्द्रिय उपाध्यक्ष तथा बागमति प्रदेश प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । हाल भने उहाँ नेपाल खेलकुद महासंघको केन्द्रिय सल्लाहकार समिति प्रमुख हुनुहुन्छ । २०५४ सालमा जिल्ला विकास समिति दोलखाको सदस्यमा निर्वाचित भएर काम गरेको अनुभव पनि केसीसँग रहेको छ ।
२०७४ सालमा भएको राज्य पुर्नसंरचनापछिको स्थानीय तहको पहिलो निर्वाचनमा काङ्ग्रेस–माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेद्वार ईश्वरनारायण मानन्धरलाई पराजित गरेर भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो । निर्वाचित भएपछि भीमेश्वर नगरपालिकाको भौतिक पूर्वाधार र शिक्षामा उत्कृष्ठ कामहरु गरेर चर्चा कमाउनु भएका केसी नेपाल नगरपालिका संघको केन्द्रिय सदस्य तथा नेपाल नगरपालिका संघ बागमति प्रदेशको प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।
भीमेश्वर नगरको मेयर हुँदा गरेका मुख्य कामहरु
वडा नम्बर–१ः राङराङथलीमा थामी संग्राहालय, भ्यूटावर, हाइकिङ्ग रुट र एकिकृत वस्ती
वडा नम्बर–२ः चम्पुजा तथा मञ्जुश्री पार्क, मुद्रा संग्राहलय
वडा नम्बर–३ः खुल्ला चिडियाखाना, कभर्डहल, रंगाशाला र सपिङ्ग कम्प्लेक्स
वडा नम्बर–४ः टहलेश्वर मन्दिर, महांकाल वृन्दावन, पाण्डव पार्क र नमुना एकिकृत वस्ती
वडा नम्बर–५ः महाङ्गकाल मन्दिरको लागि जग्गा व्यवस्थापन एवं मन्दिर निर्माण, मयूर पार्क तथा साइन्स पार्क निर्माण
वडा नम्बर–६ः भ्यूटावर, विश्व शान्ति बुद्ध पार्क, हिमालयन इन्स्टीच्यूट अफ साइन्स एकेडेमी वडा नम्बर–७ः औद्योगिक ग्राम
वडा नम्बर–८ः हात्ति छहरा पदमार्ग निर्माण
वडा नम्बर–९ः मा शिव पोखरी, सूचनामूलक प्रवेशद्वार र फिल्म सिटीसँग सम्वन्धी काम
भीमेश्वर नगरपालिकाले सार्वजनिक गरेका दस्तावेज अनुसार नगरभित्र ४६७ किलोमिटर सडक निर्माण भएको छ । १५ किमि भन्दा वढि सडक ढलान र कालोपत्रे भएका छन् । २८१ किमि भन्दा वढि नगर भित्रको सडकमा वाह्रै महिना गाडी चल्न सक्ने अवस्था रहेको छ । भौतिक पूर्वाधारको अलावा शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयका ६ कक्षासम्मका विधार्थीलाई निशुल्क पोशाकको व्यवस्था गरिएको थियो । ४३ वटा विद्यालय भवन निर्माण भए । भीमेश्वर क्षेत्रको सामाजिक सांस्कृतिक पहिचान सहितको पाठ्यक्रम तयार गरिएको छ ।
राजनितिसँगै कानुन व्यवसायलाई समेत सँगसँगै अगाडि बढाउनु भएका केसी कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसियसन दोलखा ईकाईको दुई कार्यकाल अध्यक्ष भएर काम गुर्नभएको थियो ।
राजनितिक संघर्ष/भोगाई
२०५२ देखि ६२ सम्म देशमा चलेको राज्य र तत्कालिन विद्रोही नेकपा माओवादीबिचको १० बर्षे द्वन्द्वका समयमा नेकपा एमालेका धेरै नेता कार्यकर्ताले कुटपिट, यातना, अपहरणदेखि ज्यानै गुमाउनुपर्ने घटना व्यहोर्नु परेको भएपनि जिल्ला सदरमुकामबासी भएकोले केसी कुनैपनि पक्षबाट त्यस्तो अफ्ठ्यारोमा नपरेको बताउनुहुन्छ ।
विद्यार्थी आन्दोलनका समयमा प्रहरीको सामान्य दमन तथा राजा ज्ञानेन्द्रको माघ १९ को कदमको विरोधमा चरिकोटमा आन्दोलित हुँदा प्रहरीले पक्राउ गरी ३ दिन हिरासत बसेको अनुभव केसीसँग रहेको छ ।
आगामी योजना
आफू भीमेश्वर नगर प्रमुख हुँदा काम गरेको अनुभवबाट हाँसिल भएका ज्ञान र सीपको प्रयोग गरेर आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने केसीको योजना छ । शैलुङदेखि विगुसम्म आवश्यकता अनुसारका विकास गर्ने प्रतिबद्धतासहित चरिकोटस्थित पशुपति चौलागाँई स्मृति अस्पताललाई आवश्यक व्यवस्थापन गरेर जिल्लामै स्वास्थ्य सेवाको सहज पहुँच बनाउने केसीको दाबी छ ।
आफू निर्वाचित भएपछि चारवटा पालिका रहेको निर्वाचन क्षेत्रमा स्थानीय स्रोत साधन र सम्भावनाका आधारमा शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटन जस्ता क्षेत्रबाट आर्थिक समृद्धि गर्ने केसीले योजना सुनाउनुभयो ।