पत्रकारिताको माध्यमबाट सञ्चार गरेकै कारण कुनै एक ठाउँको कुरा संसारभर पुर्याउन सकिन्छ । कुनै सूचना वा सन्देशलाई व्यापक रुपमा फैलन जसरी पत्रकारिता (आमसञ्चार) ले माध्यमको रुपमा काम गर्दछ । त्यसैगरी पत्रकारिता गर्न भाषाले माध्यमको रुपमा काम गर्ने गरेको छ । तसर्थ भाषा कुनै पनि समुदायको पहिचान हो । अर्थात आफ्नो भाषाको प्रयोग गरेर हामीले ज्ञान विज्ञानको कुरा मात्र होईन, आफ्नो संस्कार, संस्कृति, रीतिरीवाज, परम्परासहितको पहिचान पनि सबैसामु पुर्याउन सक्दछौं ।
नेपालमा दशकौंदेखि नेपाली मानक भाषाको बारेमा आन्दोलन र बहस भईरहेको छ । तथापि पश्चिमा देशहरुले प्रयोग गर्ने अङ्ग्रेजी भाषाप्रतिको मोह र अप्रत्यक्ष चलखेलले भाषिक औपनिवेशिकता लादिन सक्ने देखिन्छ । जसले गर्दा नेपालको राष्ट्र भाषाको रुपमा रहेको नेपाली भाषाको अस्तित्व सङ्कटमा पर्ने जोखिम बढ्दै गईरहेको छ । नेपाली मानक भाषालाई स्थापित गर्न सरोकारवाला सबै पक्ष लाग्नुपर्ने भएपनि एकातिर भाषाविद् भनिनेहरुकै मत विभाजन हुँदा जोखिम बढ्दै गईरहेको छ । अर्कोतिर सरकारी कामकाजको भाषाको रुपमा संविधानमै व्यवस्था गरिएको नेपाली भाषाको उपेक्षा गर्दै सरकारीसहित सबै प्रकारको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटको नाममा अनिवार्य अङ्ग्रेजी भाषाको प्रयोग गराउनुले संवैधानिक व्यवस्थाप्रति नै गम्भिर प्रश्न खडा भएको छ ।
भाषाविद्हरुको मत विभाजन र सरकारी निकायकै वेवास्ताले भाषा सङ्कटमा पर्न लागेको बेला भाषा बचाउन भूमिका खेल्न सक्ने र खेल्नुपर्ने महत्वपूर्ण निकाय भनेको आमसञ्चार क्षेत्र वा मिडिया हो । किनभने देशमा आउने अनेक समस्या र सङ्कटको समयमा नेपाली मिडियाको भूमिका महत्वपूर्ण साबित हुँदै आएको छ । त्यसैले त नेपोलियन बोनापार्टले भनेका छन,“चार विरोधी पत्रिका चार हजार संगीन भन्दा शक्तिशाली हुन्छन् ।” यसर्थ मिडियाको यो शक्ति भाषा संरक्षणमा लाग्नुपर्छ । तसर्थ नेपाली मिडियाले भाषा बचाउनका लागि अभियान चलाउनुपर्ने बेला आईसकेको छ ।
नेपालमा मात्र नभई भारतका कतिपय राज्यमा समेत बोलिने नेपाली भाषालाई छोडेर विदेशी भाषाको प्रयोग गर्नु उपयुक्त छैन् । अन्तर्राष्ट्रिय भाषाको रुपमा स्थापित अङ्ग्रेजी भाषा जान्नु र प्रयोग गर्नु अन्यथा होईन् । तर आफ्नो भाषालाई प्रयोगविहीन बनाएर अस्तित्व समाप्त गर्ने अनि विदेशी भाषालाई प्रश्रय दिने काम कदापि पनि सहि हुन सक्दैन् । राष्ट्रियताको पहिचान दिने एउटा प्रमुख तत्व भनेको भाषा हो । त्यसैले त संविधानमै किटान गरेर सरकारी कामकाजको भाषा तोक्ने गरिन्छ, तोकिएको छ ।
पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारी र वैदेशिक अध्ययनको सिलसिलामा अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा जानेहरुले सम्बन्धित देशको भाषा उत्तिर्ण गर्नुपर्ने अनिवार्य शर्त छ । अर्कोतिर विभिन्न दातृ निकायको रुपमा नेपालमा छिरेका गैर सरकारी सङ्घ संस्थाका परियोजनामा काम गर्नकै लागि पनि विदेशी भाषा (खासगरी अङ्ग्रेजी) जानेको हुनुपर्ने कारणले नेपालमा जानअन्जान रुपमा विदेशी भाषाले महत्व पाईराखेको छ । यसरी अनेक बाहानामा नेपाली भाषा मासेर अङ्ग्रेजीकरण गराउने अनि बिस्तारै नेपाली संस्कार सँस्कृतिमा समेत हस्तक्षेप गरेर आफ्नो सँस्कृति बिस्तार गराउने विदेशी राष्ट्रहरुको कुटिल चालतिर धेरैको ध्यान पुगेको देखिँदैन् ।
‘कुनै पनि परिवर्तन गर्नुछ भने शुरुवात आफैँबाट गर्नुपछर्’ भन्ने भनाई अहिले सबैको जनजिब्रोमा छ । यसको मतलब सबै मिडियाले प्रयोग गर्ने (लेख्ने, बोल्ने) भाषामा एकरुपता कायम गर्नु जरुरी छ । मिडियामा भाषिक एकरुपता कायम गर्नका लागि बेलायती पत्रकार जर्ज अर्बेलले शुरु गरेको शैली पुस्तिकाको अवधारणा सबै मिडियाले अबलम्बन गनुपर्ने देखिन्छ । अमेरिकी र ब्रिटिस गरी दुई थरी अङ्ग्रेजी मानक भाषा स्थापित भएकोमा त अमेरिकाको ‘द एसोसियटेड प्रेस’ र बेलायतको ‘बिबिसी’ ले तयार पारेका शैली पुस्तिका विश्वका धेरै मिडियाले अनुशरण गरेको पाईन्छ । हाम्रो देशमा त एउटै मानक भाषाको रुपमा रहेको नेपाली भाषा प्रयोगमा एकरुपता कायम गर्न खासै समस्या देखिँदैन् ।
नेपाली मिडियामा शैली पुस्तिाकाको प्रयोग गर्ने सन्दर्भमा राष्ट्रिय समाचार समितिले २०५१ सालमा पहिलो पटक नेपाली पत्रकारितामा शैली पुस्तिका निर्माण तथा प्रयोगको शुरुवात गरेको थियो । २०५५ सालमा गोरखापत्रले पनि शैली पुस्तिका निर्माण गर्यो भने सोहि बर्ष रेडियो नेपालले नेपालको प्रशारण इतिहाँसमा पहिलो पटक प्रशारण माध्यमको शैली पुस्तिका तयार गरी सार्वजनिक गरेको छ । यसर्थ नेपाली मिडियाको इतिहाँसमा सरकारी स्वामित्वमा रहेका ती मिडियाले शैली पुस्तिका निर्माण गरेको भएता पनि अन्य सरकारी तथा निजी क्षेत्रका मिडियाले आन्तरिक रुपमा केहि अभ्यास गर्दै आएपनि सार्वजनिक रुपमा शैली पुस्तिका निर्माण तथा प्रयोग गरेको पाईँदैन् ।
आमसञ्चार माध्यम बाहेक लेख्य भाषाको प्रयोग गर्ने विज्ञापन एजेन्सी, प्रकाशन गृह, सामाजिक सङ्घ संस्थाले त लिखित सामाग्री सम्पादन/प्रकाशनका लागि शैली पुस्तिका निर्माण गर्ने गरेको अवस्थामा मिडिया प्रायोजनका लागि शुरु भएको शैली पुस्तिका मिडियाले नै प्रयोग नगर्नुले मिडियाको गुणस्तर र भाषा संरक्षणको विषय मात्र होईन नैतिकताको प्रतिप्रश्न पनि तेर्सिएको छ । तसर्थ नेपालमा हजारौंको संख्यामा रहेका पत्रपत्रिका, अनलाईन तथा सैयौंको संख्यामा रहेका रेडियो र टेलिभिजनले शैली पुस्तिका निर्माण गरेर व्यवहारमा उतार्ने हो भने नेपाली मानक भाषाको संरक्षणमा ठूलो मलजल पुग्ने देखिन्छ ।
आम नागरिकसँग भाषाको व्याकरणीय ज्ञान नहुन सक्छ । यस्तो अवस्थामा मिडियामा देखिने र पढिने भाषा नै सहि हो भन्ने विश्वास उनीहरुमा हुन्छ । हामीलाई के थाहा छ भने आम नागरिकले मिडियालाई उद्धृत गर्दै “मैले पत्रिकामा पढेको”, “मैले रेडियोमा सुनेको” भनेर नै आफूले जानेको कुरा सही हो भनी पुष्टी गर्न कसरत गरीरहेका हुन्छन् । यदि शैली पुस्तिकाको अभावमा सम्पादकको अवस्था (मुड) अनुसार मिडियामा भाषिक प्रयोग हुन पुग्यो भने मानक भाषा स्थापित गर्न भन्दा पनि भाषिक अन्यौलता सिर्जना गर्न मिडियाको भूमिका बढ्ने कुरामा कुनै दुई मत छैन् ।
बेलायती पत्रकार सिरिल कोन्नोलीले भनेका छन, ‘साहित्य यस्तो लेखनकला हो, जसलाई बुझ्न दुई पटक पढ्नुपर्छ तर पत्रकारिता एकैपटकमा बुझिनुपर्छ ।’ यस भनाईबाट पनि पुष्टी हुन्छ, कि पत्रकारितामा प्रयोग गरिने भाषाशैली कति सरल र स्पष्ट हुनुपर्छ भनेर । मिडियापिच्छे प्रयोग हुने एउटै भाषाका फरक शब्दको अर्थ खोजेर पढ्नुपर्ने पत्रकारिताको लेखनले त्यसको भाव र भाषाको बचावट कसरी गर्न सक्ला ? तसर्थ साझा शैली पुस्तिकाको प्रयोग गर्न सकियो भने मात्र पत्रकारिता एकैपटकमा बुझिएला नत्र त साहित्य भन्दा कम क्लिष्ट पक्कै नहोला ।
हाम्रो देशको सन्दर्भमा सबैभन्दा सजिलो कुरा त के छ भने हजारौंका संख्यामा रहेका अधिकांश मिडियाको प्रकाशन, प्रशारण भाषा नेपाली रहेको छ । त्यसैगरी सरकारी कामकाजको भाषा पनि नेपाली छ । भाषागत ज्ञानको कुरा गर्ने हो भने बोल्ने कुरामा हिज्जेको ख्याल खासै गरिँदैन् । तर लेखनमा भने भाषामा प्रयोग भएको व्याकरण हेरिन्छ । हामीले पत्रकारिता गर्दा भाषामा आधारभूत ज्ञान राख्नुपर्ने भएपनि सबै पत्रकारमा व्याकरणीय ज्ञान नहुन सक्छ । त्यस्तो अवस्थामा सबै पत्रकारभित्र भाषामा विज्ञता पनि खोज्न असम्भव छ । तसर्थ मिडियाले बनाएको शैली पुस्तिका नै पत्रकारका लागि मार्गदर्शक बन्न सक्छ ।
नेपालमा पत्रकारिताको नियमन र सहजीकरण गर्ने निकायका रुपमा रहेका प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ जस्ता निकायले मिडियामा शैली पुस्तिकाको अनिवार्य प्रयोगका लागि भूमिका खेल्नुपर्ने देखिन्छ । यसको मतलब भाषा संरक्षणमा मिडियाले गुण लगाओस् भन्न खोजेको होईन् । कुनै पनि समुदायमा स्थापना भएको मिडियाले आफ्नो समुदायको भाषाको संरक्षण गर्नु त उसको सामाजिक उत्तरदायित्व पनि हो ।
शैली पुस्तिकाको निर्माण बिना नै नेपाली मिडियाहरुले प्रयोग गरेका भाषामा विविधता पाईन्छ । एउटै पदमा आसिन व्यक्तिको लागि प्रयोग गरिने आदरार्थी शब्दमा पनि एउटै मिडियामा फरक फरक आदरार्थी शब्द प्रयोग गरिनु यसको उदहारण हो । प्रधानमन्त्रीको बारेमा समाचार लेख्दा बताए, भने लगायतका क्रियापद शब्दको प्रयोग गरेर ‘तिमी’ सम्बोधन गर्ने मिडियाले के कुनै अन्तर्वार्ता लिँदा ....यस विषयमा तिम्रो धारणा के छ ? भनेर प्रश्न गर्न सक्छ त ? यसरी हेर्दा आदरार्थी शब्दमा देखिएको विविधताले पनि त अन्यौलता सिर्जना गरेको छ ।
ठूलो भूगोलमा बिस्तार भएका मिडियाले मूलधारका मिडियाका नाममा प्रयोग गरिने भाषाशैली पनि त्यस्तै खालको हुने र सानो भूगोलमा सिमित मिडियाको फरक देखिने मनोवैज्ञानिक भ्रमले पनि विभेद गरेको देखिन्छ । राष्ट्रिय अखबार, टेलिभिजन र रेडियोले त आफ्नो पहुँच क्षेत्रका आधारमा ठूलो मिडिया मान्ने हो भने विश्वका सबै ठाउँबाट हेर्न तथा पढ्न सकिने अनलाईन न्युज पोर्टललाई के मिडिया भनेर बुझ्ने हो ? तसर्थ कुनैपनि मिडियालाई मूलधार र मोफसल भनेर विभेद गर्नु उपयुक्त नहोला । सबै मिडिया मिडिया नै हो । त्यसैका आधारमा भाषाशैलीको प्रयोग गर्नुपर्छ ।
भाषा संरक्षण र मिडिया नियमनको हिसाबले प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ जस्ता अभिभावकीय निकायले दुईवटा विकल्पमध्ये एउटाको प्रयोग गर्न सके उपयुक्त हुने देखिन्छ । पहिलो विकल्पः पत्रकार आचारसंहिता जस्तै नेपाली भाषामा प्रकाशन तथा प्रशारण हुने मिडियाका लागि दुवै निकायले साझा शैली पुस्तिका निर्माण गरेर अनिवार्य अनुशरण गराउने । दोश्रो विकल्पः मिडिया सम्बन्धित निकायमा दर्ता गर्ने बेलामा नै अनिवार्य शैली पुस्तिका निर्माण गरी सम्बन्धित निकायमा पेश गर्नुपर्ने व्यवस्था गर्ने । यसो गर्न सके ‘एक पन्थ, दो काज’ भनेझैं एकातिर मिडिया व्यवस्थापन र अर्कोतिर भाषा संरक्षण दुवैतर्फ लाभ पुग्ने हुने देखिन्छ ।