दोलखा । नेकपा एमाले दोलखाले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात तथा असहयोग गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने अधिकार पार्टी अध्यक्ष नर बहादुर श्रेष्ठलाई दिएको छ ।
सोमबार सम्पन्न जिल्ला कमिटीको आठौं पूर्ण बैठकले निर्वाचनमा असहयोग गर्ने सङ्गठित सदस्यदेखि जिल्ला कमिटीसम्मका नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्नेदेखि, निलम्बन तथा निष्कासन गर्नेसम्मको अधिकार अध्यक्ष श्रेष्ठलाई दिएको हो । माथिल्लो कमिटीका सदस्यहरुलाई पनि कारबाहीका लागि सिफारिस गर्ने अधिकारी अध्यक्ष श्रेष्ठले पाउनुभएको छ ।
बैठकले निर्वाचनमा अन्तर्घात तथा असहयोग गर्ने सङ्गठित सदस्यको विवरण जिल्ला पार्टी अध्यक्षलाई गोप्य रुपमा बुझाउन वडा तथा पालिका कमिटीलाई निर्देशन गरेको छ । निर्वाचनको समयमा गद्धार गर्ने पार्टीका जिम्मेवार व्यक्तिको बारेमा सूचना वा तथ्य पेश गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै बैठकले पार्टी र पार्टीका नेता विरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक र विवादास्पद स्टाटस लेखी आम पार्टी पङ्तिलाई निराश र भ्रम सिर्जना गर्ने पार्टीका जिम्मेवार नेता कार्यकर्ताको विवरण सङ्कलन गरीआवश्यक कारबाही गर्ने भएको छ ।
आठौं बैठकका निर्णयको बारेमा नैतिक प्रश्न उठ्न सक्ने देखिएपछि गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भएको अन्तरघात र असहयोगको छानविन गर्न बनेको कार्यदललाई २१ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन पनि बैठकले निर्देशन गरेको छ ।
गत मंसिर ४ र १५ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा ‘ख’ बाट एमालेबाट भरत केसी निर्वाचित हुनुभएको छ भने प्रतिनिधिसभामा एमाले उम्मेद्वार बालकृष्ण शिवाकोटी ३ सय १५ मतको झिनो अन्तरले पराजित हुनुभएको छ भने प्रदेशसभा ‘क’ मा जिल्ला पार्टी अध्यक्ष समेत रहनुभएका श्रेष्ठ फराकिलो मत अन्तरले पारजित हुनुभएको छ ।
निर्वाचनको गम्भिर समिक्षा भएकै कारण पुस ९ र १० गते दुईदिनका लागि बोलाईएको बैठक थप एक दिन लम्बिएको थियो ।
बैठकपछि नेकपा एमाले दोलखाले जारी गरेको विज्ञप्ती