दोलखा । उद्योगी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको दोलखा उद्योग वाणिज्य सङ्घ नौ महिनादेखि अवैधानिक अखडा बनेर बसको छ ।
संस्थाको विधान अनुसार तीन बर्षे कार्यकाल २०७९ बैशाखमा पूरा भएपनि वर्तमान कार्यसमितिले नौ महिनासम्म अधिवेशन नगरेर आफ्नै विधानको समेत बर्खिलाप गरेको हो । सङ्घका निवर्तमान अध्यक्ष सुन्दर कार्कीले बुधबार सङ्घ अवैधानिक भएको भन्दै अधिवेशन गराउन माग गरेर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि सङ्घ अवैधानिक रहेको सार्वजनिक भएको हो ।
कार्यकाल सकिएको सङ्घका सचिव बिमल श्रेष्ठले भिलेज खबरसँग कुराकानी गर्नुहुँदै सङ्घ अवैधानिक भएको स्वीकार गर्नुभयो । श्रेष्ठले भन्नुभयो,“विशेष परिस्थितीमा पनि गत असोजमा अधिवेशन गर्नुपर्ने थियो । निर्वाचन लगायत विविध कारणले गर्न सकिएन तसर्थ सङ्घको वैधानिकतामाथि प्रश्न उठ्नु स्वभाविक हो ।” उहाँले आगामी माघ ५ गते सङ्घको नियमित बैठक बसेर अधिवेशनको मिति तय गर्ने बताउनुभयो ।
अधिवेशनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सङ्घका अध्यक्षलाई बोलाएर अधिवेशन गराउन निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो । “उजुरी परे लगत्तै मैले अध्यक्षलाई बोलाएर तत्काल अधिवेशन बोलाउन निर्देशन दिएको छु । माघ ५ गते बैठक राखेर अधिवेशन तय गर्ने भन्नुभएको छ । यदि त्यसो भएन भने कानुन बमोजिम हामी अर्को विकल्पमा जान्छौं”, उहाँले भन्नुभयो ।
वर्तमान आर्थिक अवस्थाका कारण व्यवसायिक क्षेत्र धरासयी बनिरहेको बेला उद्योगी व्यवसायीहरुको हक हित संरक्षणको उद्धेश्यले स्थापित सङ्घ आफैँ अवैधानिक बनेपछि आवश्यक पहलकदमी समेत लिन नसकेको कतिपय व्यवसायीको गुनासो छ । प्रत्यक नयाँ आर्थिक बर्षको तीन महिनाभित्र बार्षिक साधारणसभा गर्नुपर्नेमा वर्तमान कार्यसमितिले तीन बर्षमा एउटा पनि साधारणसभा नगरेको पाईएको छ ।
कानुनका जानकारहरुले भने कार्यकाल सकिएको वर्तमान कार्यसमिति अवैधानिक भईसकेको भन्दै नयाँ तदर्थ समिति गठन गरेर अधिवेशन गर्ने जिम्मावारी दिनुपर्ने बताएका छन् ।