दोलखा । जिल्लामा हाल सञ्चालनमा रहेका सबै क्रसर उद्योगहरु अवैधानिक रहेको भन्दै जिल्ला समन्वय समिति दोलखाले शुक्रबारदेखि बन्द गराएको छ ।
नदीजन्य पदार्थ उत्खनन्, बिक्री वितरण तथा व्यवस्थापन अनुगमन समितिको अनुगमनपछि जिल्लामा अवैधानिक रुपमा सञ्चालनमा रहेका १० वटा क्रसर उद्योगहरु बन्द गराएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले जानकारी दिनुभयो । उहाँका अनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार दर्ता र नविकरण नभएका क्रसर उद्योगहरु बन्द गरिएको हो ।
सञ्चालनमा रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने कुनै पनि उद्योग विधिसम्मत नचलेको पाईएको छ ।
अनुगमनपछि भीमेश्वर नगरपालिकामा सञ्चालित भीमेश्वर गिटी वालुवा वासिङ उद्योग, मलेपु रोडा ढुङ्गा उद्योग, तामाकोशी गाउँपालिकामा सञ्चालित दोलखा जलदेवी क्रसर उद्योग एण्ड सप्लायर्स, तामाकोशी रोडा ढुङ्गा उद्योग एण्ड सप्लायर्स, दोलखा श्रीएकता रोडा ढुङ्गा उद्योग र एस.के. रोडा ढुङ्गा उद्योग बन्द गरिएको छ ।
त्यसैगरी कालिञ्चोक गाउँपालिकामा सञ्चालनमा रहेका साङ्बा खोला क्रसर उद्योग, मिलीजुली क्रसर उद्योग, भीमेश्वर क्रसर इन्डष्ट्रिज र गुमुखोला क्रसर उद्योग बन्द गरिएको छ ।
बन्द गरिएका क्रसर उद्योगहरु नियम अनुसार दर्ता तथा नविकरण भएको भए सात दिनभित्र पेश गर्न समितिले व्यवसायीलाई भनेको छ । गृह मन्त्रालयले परिपत्र गरपछि समितिले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरेको थियो ।