दोलखा । नेपाल पत्रकार महासङ्घ दोलखा जिल्ला शाखाको ११ औं साधारणसभा शनिबार चरिकोटमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सदस्य गङ्गा बहादुर कार्कीले दोलखाका विविध समस्याको बारेमा आफूले अध्ययन गरीरहेको र समाधानका लागि सबैको साथ सहयोगको अपेक्षा रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले स्थानीय तहले मिडियाहरुसँग संस्थागत रुपमा सहकार्य गर्न चाहेको उल्लेख गर्नुहुँदै जिल्लाका मिडियालाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्लास्थित रेडियो, अनलाईन, पत्रपत्रिका लगायतका मिडियाहरु आर्थिक सङ्कटमा परेको भन्दै स्थानीय तह लगायतका सरकारी निकायले आवश्यक नीति बनाएर सहकार्य गर्न मिडिया सम्बद्ध अगुवाहरुले जोड दिएका छन् ।
अध्यक्ष दीपशङ्कर चौलागाँईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासंघका प्रदेश सदस्य श्याम खतिवडा, नेपाल पत्रकार महासङ्घ दोलखाका पूर्व अध्यक्ष जीवन लामा, जिल्ला सहकारी सङ्घ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत र प्रेसचौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साधारण सभाको अवसरमा कोरोना महामारीमा योगदान गर्नु हुने पशुपति चाैलागाँई स्मृति अस्पताल चरिकोटमा कार्यरत स्वास्थ्यकर्मीहरु उर्मीला चौलागाई र प्रतिमा भटराईलाई सम्मान गरिएको छ ।