दोलखा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस आईतबार चरिकोटमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेर मनाईएको छ ।
प्रेस चौतारी नेपाल दोलखा शाखाको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले शुभकामना मन्तव्य राख्नुहुँदै पत्रकारको कलम आर्थिक समृद्धिको दिशातिर केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा उपस्थित सञ्चार सम्बद्ध व्यक्तिहरुले आमसञ्चार माध्यमको संख्यात्मक भन्दा गुणात्मक बृद्धि विकास तथा श्रमजिवी पत्रकारको हकहितमा सबै पक्षले पहलकदमी गर्नुपर्ने बताएका छन् । मिडिया बिनाको समाज परिकल्पना गर्न नसकिने भन्दै जिल्लामा रहेका सबै किसिमका मिडियाको संरक्षणमा स्थानीय सरकार, राजनीतिक दल, सञ्चार सम्बद्ध सरोकारवाला निकायको ध्यान पुग्नुपर्नेमा उनीहरुको रहेको जोड रहेको छ ।
प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाँई, सचिव दिल बहादुर केसी, प्रेस चौतारी नेपाल दोलखाकी उपाध्यक्ष रविता महत, सचिव तारा बहादुर महत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने मुल नाराका साथ स्थापन दिवस मनाईएको हो । प्रेस चौतारी नेपालले श्रमजिवी पत्रकारहरुको पेशागत हकहितमा वकालत गर्दै आएको छ ।