दोलखा । अधिवेशनसहितको साधारणसभाको तयारी भईरहैको बेला दोलखा उद्योग वाणिज्य सङ्घको कार्यालयमा बिहीबार दिउँसो तालाबन्दी गरिएको छ ।
नयाँ थप गरिएका १ सय ५ जना सदस्यको वैधानिकताको विषयलाई लिएर केहि असन्तुष्ट सदस्यहरुले सङ्घमा तालाबन्दी गरेको विगठित कार्यसमितिका अध्यक्ष तथा अध्यक्षका उम्मेद्वार इन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो । विधानमा रहेको व्यवस्थाबारे समेत अनभिज्ञ देखिएका श्रेष्ठले तालाबन्दी गर्ने टोलीले आफूलाई ब्रिफिङ गरेपछि आफैँले जिल्ला प्रशासनमा जानकारी गराएको र सोहि बमोजिम प्रशासनले छलफलका लागि सरोकारवालाई बोलाएको भिलेज खबरलाई बताउनुभयो ।
“हाम्रो कार्यसमिति बैठकले निर्णय गरेर नयाँ थपिएका सदस्यलाई पनि अधिवेशनमा सहभागि गराउने भनेका थियौं, विधानले एक बर्ष पूरा नभएका सदस्य अधिवेशनमा सहभागि हुन नपाउने भनेर तालाबन्दी गर्नुभएको छ ।”, श्रेष्ठले भन्नुभयो । आफैँले हस्ताक्षर गरेर गरेको निर्णयको वैधानिकताबारे अनभिज्ञता देखाएका श्रेष्ठको अभिव्यक्तिले पनि उहाँकै कार्यकुशलतामाथि नैतिक प्रश्न उठेको छ ।
कार्यसमितिको निर्णयले दिएको मतदाता नामावली प्रकाशन गरेपछि दाबी विरोधको लागि तोकिएको समयभित्र कुनै निवेदन नपरेपछि वैधानिक रुपमा कुनै समस्या नरहेको निर्वाचन समितिले जनाएको छ ।
बुधबार मनोनयनको सबै प्रक्रिया पूरा भई उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने बेलामा गरिएको तालाबन्दी आफ्ना प्रतिस्पर्धीहरुको हारको मानसिकता बाहेक केहि नरहेको अध्यक्ष पदका उम्मेद्वार दिनेश बस्नेतको भनाई छ । नयाँ सदस्य भनिएकाहरु एक बर्ष पूरा भई नविकरणको समेत एक बर्ष हुन लागिसकेकोले अधिवेशनमा सहभागि हुन कुनै समस्या नरहेको बस्नेतले बताउनुभयो ।
तालाबन्दीको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले राजनीतिक दल, अधिवेशनका उम्मेद्वार लगायत सरोकारवाला पक्षसँग अहिले छलफल शुरु गर्नुभएको छ ।
सङ्घको अधिवेशन फागुन १३ गर्नेगरी तयारी भईरहेको बेलामा तालाबन्दी भएको हो ।