दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिम बुधबारबाट चरिकोटमा शुरु भएको छ ।
मेलुङ गाउँपालिको आयोजना तथा सामुदायिक क्षमता विकास केन्द्र सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो । जिल्लास्तरीय मेलमिलाप अनुगमन समितिका संयोजक समेत रहनुभएका जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले तालिमको उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्नुहुँदै न्यायाधिश श्रेष्ठले मेलमिलापको तालिमबाट व्यक्ति, परिवार र समाजमा सद्भाव र एकअर्कामा गरिने सम्मानपूर्ण व्यवहारले शान्ति कायम गर्न ठूलो योगदान गर्ने बताउनुभयो ।
कार्यक्रममा मेलुङ गाउँपालिका उपाध्यक्ष तथा स्थानीय न्यायिक समिति संयोजक गायत्री आचार्यले पालिकाभित्रका विवादलाई समाधान गर्ने सन्दर्भमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने भन्दै मेलमिलापकर्तालाई प्रोत्साहन गर्ने खालका गतिविधिमा गाउँपालिका सदैव सचेत रहेको बताउनुभयो ।
कतिपय पुराना मेलमिलापकर्ताहरु विविध कारणले मेलमिलाप कार्यमा क्रियाशील हुन नसकेको अवस्थामा नयाँ मेलमिलापकर्ता उत्पादनका लागि तालिम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष आचार्यको भनाई छ । फागुन २४ गतेसम्म सञ्चालन हुने तालिममा पालिकाका ७ वटै वडाका जम्मा २७ जनाको सहभागिता रहेको छ । तालिममा प्रशिक्षकहरु उद्धब प्रसाद अधिकारी, उमा थापा र तारा बहादुर महतले सहजीकरण गर्नुहुने आयोजकले जनाएको छ ।
तालिम उद्घाटन सत्रमा गाउँपालिकाका प्रवक्त्ता एवम् वडा नम्बर ७ अध्यक्ष नवराज खड्का, सामािजक विकास समितिका संयोजक तथा वडा नम्बर १ का अध्यक्ष इश्वर कोईराला, वडा नम्बर ४ का अध्यक्ष सोम बम्जन, वडा नम्बर ५ का अध्यक्ष ललित बहादुर मगर, दोलखा जिल्ला अदालतका श्रेस्तेदार शिव कुमार पाेखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटी लगायतको सहभागिता रहेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय न्यायिक समितिले न्याय सम्पादन गर्ने सन्दर्भमा एक बर्षसम्म कैद सजाय हुनसक्ने फौजदारी मुद्धासहित ११ किसिमका विवादहरु मेलमिलापको माध्यमबाट मात्र समाधान गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था रहेको छ ।