दोलखा । तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र तोक्ने विषयमा राजनीतिक दलहरुले आधिकारिक धारणा दिन हिचकिचाएका छन् ।
फागुन २९ गते बस्ने गाउँसभाको बैठकले पालिका केन्द्र तोक्ने तयारी गरेको भएपनि शनिबारसम्म नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आधिकारिक धारणा सार्वजनिक नगरेका हुन् । गाउँसभाको उपाध्यक्षसहित १३ जना गाउँसभा सदस्य रहेको नेपाली काङ्ग्रेसले आईतबार वा सोमबार विहान पार्टीको बैठक बसेर आधिकारिक धारणा बनाउने पालिकाका पार्टी सभापति तथा वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण प्रसाद फूयाँलले जानकारी दिनुभयो ।
त्यसैगरी सत्ता गठबन्धनमा आबद्ध अर्को ठूलो दल नेकपा माओवादी केन्द्रले पनि आधिकारिक धारणा बनाउन बाँकी रहेको छ । पार्टीका पालिका इन्चार्ज बासुदेव पोखरेलले जनप्रतिनिधिलाई नै स्वविवेक प्रयोग गर्न दिने सम्भावना रहेको बताउनुभयो । यद्यपि छौँडेमा पालिका केन्द्र तोक्न माओवादी केन्द्रका जनप्रतिनिधिले रुचि देखाएका छन् । गाउँसभामा माओवादी केन्द्रका ८ जना सदस्य रहेका छन् ।
गाउँसभाको अध्यक्षसहित ७ सदस्य रहेको नेकपा एकिकृत समाजवादी भने वडा नम्बर ४ मालुमा केन्द्र बनाउने पक्षमा रहेको पालिका अध्यक्ष तथा नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो ।
गाउँसभामा ११ सदस्यसहित दोश्रो ठूलो दल रहेको नेकपा एमालेले पनि आधिकारीक धारणा सार्वजनिक गरेको छैैन् । गाउँसभामा सत्ता गठबन्धनका दलको दुई तिहाई भन्दा धेरै मत रहेकोले एमालेको मत निर्णायक नहुने भएपछि आधिकारिक धारणा सार्वजनिक गर्नुको कुनै अर्थ नरहेको नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटी अध्यक्ष उर्मिला खड्काको भनाई छ ।
भिलेज खबरसँग कुराकानी गर्नुहुँदै गाउँसभाका अध्यक्ष तथा नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष प्रोणप्रताप केसीले मालुमा केन्द्र बनाउने पक्षमा सहयोग गर्न अपिल गर्नुभएको छ । फागुन २९ गतेको गाउँसभाको बैठकले मतदान गरेरै भएपनि पालिका केन्द्र तोक्ने तयारी गरेको छ । पालिका केन्द्रको लागि जफेको छौँडे, वडा नम्बर ४ मालुको वडा कार्यालय आसपास र जफेको मानेडाँडा प्रस्तावित भएका छ ।