दोलखा । चरिकोटस्थित दोलखाकै जेठो गौरीशङ्कर बहुमुखी क्याम्पसले बुधबार आफ्नो ४२ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले क्याम्पसले दिने शैक्षिक गुणस्तर अङ्कमा मात्र नभई असल नागरिक निर्माण पनि केन्द्रित हुनुपर्ने बताउनुभएको छ । असल नागरिक निर्माण गर्न सके सबै निकायमा राम्रो काम हुने भएकोले देशको सुशासन र समृद्धिमा टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले क्याम्पस भौतिक रुपमा सम्पन्न बनाएको उल्लेख गर्नुहुँदै शैक्षिक गुणस्तर बृद्धि गर्नका क्याम्पस प्रशासन र सञ्चालक समितिलाई निरन्तर खबरदारी गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य भरत केसी, नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सभापति पूर्ण बहादुर तामाङ, नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दाहाल, प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, क्याम्पस सञ्चालक समिति सदस्य रमेश खतिवडा, क्याम्पस प्रमुख शान्त केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२०३८ सालमा स्थापना भएको क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म १ हजार ५ सय ३ जना विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख शान्त बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी तथा स्नातकोत्तर तहमा शिक्षाशास्त्र र व्यवस्थापन शंकायतर्फ एमविएस विषयको अध्यापन हुने गरेको छ ।