दोलखा । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभाले अमृत राउतको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ ।
बुधबार चरिकोटमा आयोजित सभाले राउतको नेतृत्वमा १२ सदस्यीय सञ्चालक समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । समितिमा निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर, सदस्यहरु शंकरलाल श्रेष्ठ, घनश्याम रिजाल, श्रीकृष्ण बस्नेत, गोविन्द मानन्धर, विश्वमणि चौलागाँई, रमेश खतिवडा, डा.जानुका न्यौपाने, रामकृष्ण केसी रहनुभएको छ ।
त्यसैगरी रामजी चौलागाँई सदस्य तथा क्याम्पस प्रमुख शान्त केसी समितिको सदस्य सचिवको रुपमा रहनुभएको छ । समितिमा जिल्ला समन्वय समिति, भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष, क्याम्पसमा रहेको प्राध्यापक सङ्घका अध्यक्ष, विद्यार्थी प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि पदेन सदस्य रहनेछन् ।
क्याम्पस सञ्चालक समितिको कार्यकाल तीन बर्ष रहने कानुनी व्यवस्था रहेको छ । यसअघि निवर्तमान अध्यक्ष मानन्धरले दुई कार्यकाल क्याम्पस सञ्चालक समितिको नेतृत्व गर्नुभएको थियो ।
२०३८ सालमा स्थापना भएको क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म १ हजार ५ सय ३ जना विद्यार्थीहरु अध्ययनरत छन् । यस क्याम्पसमा स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी तथा स्नातकोत्तर तहमा शिक्षाशास्त्र र व्यवस्थापन शंकायतर्फ एमविएस विषयको अध्यापन हुने गरेको छ ।