दोलखा । पशुपति चौलागाँई स्मृति अस्पताल चरिकोटले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ सेवा शुरु गरेको छ ।
बढ्दो क्रममा रहेको नसर्ने रोगको जोखिम समयमै पहिचान गरी निदान गर्ने उद्धेश्यले सञ्चालित कार्यक्रम चैत्र १२ गतेदेखि शुरु गरिएको अस्पताल प्रमुख डा.ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत सुगर (मधुमेह), प्रेसर, बोसोपन लगायतका कारणले मुटु, मिर्गौला, कलेजो, मस्तिष्क, आँखामा क्षति पुर्याउने भएकोले सम्बन्धित विषयको जाँच र निदान गरिन्छ ।
यो कार्यक्रम अन्तर्गत स्वास्थ्य जाँच गर्न चाहाने व्यक्तिले अग्रिम टिपाएर समय लिन सक्ने अस्पतालले जनाएको छ । ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ मार्फत पशुपति चौलागाँई स्मृति अस्पतालमा नसर्ने रोगको जाँच गर्नका लागि ३० बर्ष उमेर नाघेको, कुनै दिर्घरोग पहिचान नभईसकेको र दोलखा जिल्लाबासी नागरिक हुनुपर्नेछ ।
यहि कार्यक्रम अन्तर्गत शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाण्डौंसँगको सहकार्यमा हृदयघात भएको बिरामी समयमै अस्पताल पुगेमा ७५ हजार बढी मुल्य पर्ने औषधि निःशुल्क दिएर गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा रिफर गरिने डा.श्रेष्ठले भिलेज खबरलाई बताउनुभयो ।
मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा बागमती प्रदेश सरकारले २०७६ बाट लागू गरेको यो कार्यक्रम दोलखा जिल्लामा पहिलो पटक कार्यान्वयनमा आएको हो । सेवा शुरु गर्ने अन्तिम तयारी भईसकेको अवस्थामा २०७६ मा कोभिड १९ को महामारीका कारण सेवा सुचारु गर्न नसएिको अस्पतालका सूचना अधिकारी शान्ति प्रसाद न्यौपानेले बताउनुभयो । बागमती प्रदेश सरकारको बार्षिक बजेट कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन भएको उहाँको भनाई छ ।