काठमाण्डौं । गत वैशाख २० गतेदेखि ओजस थिएटर रातोपुलमा प्रदर्शन सुरु गरिएको नाटक ‘मृत्यु कुण्ड’ सोमबारबाट बन्द भएको छ ।
नेपालको राजनीतिक परिस्थिती र बार्षिक रुपमा सरकारले ल्याउने बजेट लगायतका विषयमा केन्द्रित नाटक आगामी आर्थिक बर्षको बजेट सार्वजनिक तथा गणतन्त्र दिवसको दिनसम्म प्रदर्शन गरिएको ओजस थिएटरका प्रबन्ध निर्देशक सागर कार्कीले जानकारी दिनुभयो ।
देशभित्रै केहि गर्नुपर्छ भन्ने सोच बोकेका युवाहरु नै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक परिस्थितीलाई नाटकले देखाउन खोजेको छ । एउटा नेपाली युवाले देशमै केहि बनेर र गरेर देखाउँछु भन्ने आफ्ना सारा सपनालाई तिलाञ्जली दिएर वैदेशिक रोजगारीमा जानुपर्ने परिस्थिती रहेको तीतो यथार्थ नाटकमा प्रष्ट देखिन्थ्यो ।
रविन दोङको लेखन तथा निर्देशन रहेको नाटक प्रमोद बाबुले निर्माण गर्नुभएको हो । २७ दिनको अवधिमा कलाकर्मी, समाजसेवी, राजनीतिज्ञ, विद्यार्थी, सञ्चारकर्मी लगायत १ हजार ५ सय बढी दर्शकले नाटकको अवलोकन गरेका छन् । बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य राजन मुकारुङ, प्राध्यापक डाक्टर सुरेन्द्र केसी लगायतले नाटकको अवलोकन गर्नुभएको छ ।
नाटकमा विशाल महर्जन, अजय बान्तवा राई, सबिना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदिप शिवाकोटी र सानुमाया तामाङको अभिनय छ । त्यसैगरी निस्वम थापा मगर, बिटी महर, गोबिन्द टिआर, हेमन्त लामिछाने, बसन्त पोखरेल, विरेन्द्रसिंह कुसुवाह, ओसन कार्की, एचबि मगर, एलिसा न्यौपाने, शेखर ओजस र श्याम कार्कीले पनि नाटकमा अभिनय गरेका छन् ।