दोलखा । तामाकोशी गाउँपालिकाले चालु आर्थिक बर्ष नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् बापत प्राप्त हुने करोडौं राजस्व गुमाएको छ ।
सरोकारवालाको वेवास्ताले गाउँपालिकाको वडा नम्बर–३ जफेमा पर्ने ढोलीखोला र तामाकोशी नदीको बायाँपट्टीको क्षेत्रबाट प्राप्त हुने राजस्व गुमाएको हो । अघिल्लो आर्थिक बर्ष उडहिल कन्स्ट्रक्सनले २ करोड ४४ लाख रुपैयाँमा ठेक्का पारेको क्षेत्रमा नदीजन्य पदार्थको स्टक बाँकी रहेको भन्दै जेष्ठ १० गतेसम्म राजस्व उठाएपछि गाउँपालिकाले चालु बर्ष ठेक्का लगाउन नसक्दा करोडौं राजस्व गुमेको हो ।
उडहिल कन्स्ट्रक्सनले २९ हजार ९ सय घनमिटर नदीजन्य पदार्थ स्टक रहेकोले उक्त स्टकको कर आफूले उठाउन पाउनुपर्ने भन्दै पालिकामा निवेदन दिएकोमा गाउँपालिकाले २०७९ भदौसम्म विक्रि वितरण गरीसक्न २०७९ असार ३० गते पत्राचार गरेको थियो । कार्यपालिका बैठकको निर्णय बमोजिम गाउँपालिकाले काम नगरी उडहिल कन्स्ट्रक्सनलाई २०७९ असोजदेखि २०८० जेठ १० गतेसम्म करिब साढे ८ महिना कर उठाउन दिएको हो ।
जेठ ११ गते उडहिलले गाउँपालिकालाई पत्र लेखेर आफूसँग स्टक भएको सामाग्री सोहि क्षेत्रमा रहेको एकता रोडा ढुङ्गा क्रसर उद्योगलाई बेचेको र उक्त उद्योगबाट निकासी हुने सामानको निकासी कर पालिकालाई सङ्कलन गर्न भनेको छ । तर जेठको पहिलो साता नै कर सङ्कलनका लागि गाउँपालिकाबाट कर्मचारी पठाईएको भएपनि उद्योग सञ्चालकले गाउँपालिकाका कर्मचारीलाई कर उठाउन नदिई फिर्ता पठाएको प्रमुख प्रशासकीय अधिकृत बद्री शर्मा वाग्लेले भिलेजखबरलाई जानकारी दिनुभयो ।
कर सङ्कलन गर्न पठाएका कर्मचारीलाई कर उठाउन नदिई नदीजन्य पदार्थको चोरी तस्करी बढेपछि यसको रोकथामका लागि प्रहरी प्रशासनलाई केहि दिनअघि पत्राचार गरिसकिएको र आवश्यक कारबाहीको पर्खाईमा रहेको गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले बताउनुभयो ।
यस विषयमा बुझ्न आईतबार साँझ दुई पटक फोन गर्दा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक दिपक खड्काको फोन उठेन् ।
पालिका नेतृत्वले गाउँपालिकाको बैठकको निर्णय कार्यान्वयन नगरी करिब साढे ८ महिना अवैधानिक रुपमा नदीजन्य पदार्थ बापतको कर सङ्कलन गर्न दिई गाउँपालिकालाई करोडौंको आर्थिक क्षति पुर्याएको छ । त्यसैगरी उत्खनन् गर्ने समय एक महिना पनि बाँकी नरहेको बेला चोरी निकासी भएको बाहानामा प्रहरीलाई देखाएर गाउँपालिकाको नेतृत्व पानीमाथिको ओभानु बन्न खाजेको छ ।
यी दुवै तथ्यले गाउँकार्यपालिका कार्यालय प्रवेशको मुलढोका जस्तै मानिने करिब ५ किलोमिटरको दुरीमा रहेको ढोलीखोला क्षेत्रमा करिब साढे ८ महिना निःशुल्क रुपमा उडहिललाई कर सङ्कलन गर्न दिनु र आर्थिक बर्षको अन्ततिर चोरी निकासीको बाहाना पार्नुले गाउँपालिका नेतृत्वको पनि मिलेमतो रहेको हुनसक्ने देखिएको छ ।