दोलखा । विगु गाउँपालिका वडा नम्बर–३ बुलुङस्थित शारदा माध्यामिक विद्यालयले विषयगत शिक्षकको पदपुर्ति नगरिदिँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा समेत सबै विषयको नियमित पठनपाठन हुन नसकेपछि बाध्य भएर सोमबारदेखि आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताएका छन् । एक दुई विषय बाहेकको पढाई नै नभएको विद्यार्थीहरुले बताउने गरेको दुई विद्यार्थीका अभिभावक उद्धब आचार्यले बताउनुभयो । “ लामो समयदेखि रिक्त शिक्षकको पदपुर्ति नगरी विद्यालय व्यवस्थापनले बालबालिकाको भविष्यमाथि खेलवाड गरेको छ”, आचार्यले भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरीले ४ जना शिक्षकको रिक्त दरबन्दी पदपुर्ति गर्न व्यवस्थापन समितिले चासो नदिँदा पठनपाठन प्रभावित भएको स्वीकार गर्नुभयो । उहाँका अनुसार आधारभूत तहका तीन र माध्यामिक तहको एक गरी ४ ओटा शिक्षक दरबन्दी खाली रहेको छ ।
विगु गाउँपालिका शिक्षा शाखाका अधिकृत लक्ष्मी प्रसाद रिजालले शिक्षक पदपुर्तिको विज्ञापनका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय गरी पालिकामा अनुमति माग्नुपर्नेमा अनुमति माग नभएको बताउनुभयो । व्यवस्थापन समितिले प्रधानाध्यापक परिवर्तन गर्न खोजेपछि व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकबिचको असमझदारीले अहिलेको अवस्था निम्तिएको रिजालको भनाई छ ।
विद्यार्थीहरु आन्दोलित भएपछि पालिका शिक्षा शाखाले व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई सोमबार बेलुकासम्म सरोकारवालाको बैठक बसेर समस्या समाधान गर्न भनेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक फरक फरक राजनीतिक दलमा आस्था राख्ने भएपछि व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर खड्काले आफ्नो नातेदार पर्ने शिक्षकलाई विद्यालयको प्रधानाध्यापक बनाउने चाहाना राखेको एक अभिभावकले बताउनुभयो । बहालवाला प्रधानाध्यापक ठकुरी २०७० सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
यस बिषयमा बुझ्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कालाई सोमबार साँझ दुई पटक फोन सम्पर्क गर्दा खड्काको फोन उठेन् ।