दोलखा । तामाकोशी गाउँपालिकाका अधिकांश जनप्रतिनिधि र कर्मचारी तालिमका लागि भन्दै नगरकोट घुम्न गएपछि पालिकाले दिने सेवा मङ्गलबारदेखि करिब ठप्प जस्तै बनेको छ ।
गाउँपालिकासँगको साँझेदारीमा हेफर प्रोजेक्टले सञ्चालन गरेको ‘तामाकोशी कृषि तथा पशु व्यवसाय प्रबर्द्धन कार्यक्रम’ तालिममा सहभागि हुन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न शाखाका प्रमुखहरु नगरकोट गएपछि सेवाग्राही भने मर्कामा परेका छन् । करिब १५ दिन अगाडि योजनाको काम सकेर भुक्तानी लिन पटक पटक गाउँपालिका आउँदा प्रमुख प्रशासकीय अधिकृत नै नभेटिएपछि सास्ती खेप्नुपरेको भन्दै वडा नम्बर–६ स्थित घोरनागी पोखरी संरक्षण उपभोक्ता समितिका अध्यक्ष आनन्द फुयाँलले आक्रोस व्यक्त गर्नुभयो ।
“प्रमुख प्रशासकीय अधिकृत कहिले काठमाण्डौं, कहिले के कार्यक्रम, कहिले के तालिम भन्दै पालिकामा नबसेपछि हामीले कती दुःख पाउने हो ? बिदा बस्दा पनि कति बस्ने भन्ने नियम त होला नि !” फुयाँलले भन्नुभयो ।
त्यसैगरी योजनाको भुक्तानीका लागि फाईल बोकेर बुधबार गाउँपालिका आउनुभएका वडा नम्बर–४ को जगतअम्बिका मन्दिर संरक्षण उपभोक्ता समिति सचिव दुर्गा कुमार खड्काले पनि भुक्तानी दिने कर्मचारी नभेटेपछि रित्तो हात फर्कनु परेको गुनासो गर्नुभयो ।
एकातिर आर्थिक बर्षको अन्तिम हुनै लाग्दा योजना सम्पन्न गरेर भुक्तानीका लागि पालिकाले समेत ताकेता गर्नुपर्नेमा काम सम्पन्न गरेर आएका उपभोक्ताहरु समेत रित्तो हात फर्कनुले पालिका प्रशासन कति हदसम्म गैरजिम्मेवार छ भन्ने पुष्टी हुन्छ । अर्कातिर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि पालिकामै आयोजना गर्न सकिने तालिम नगरकोट लैजानुले ‘देश पनि हेरिने, मुख पनि फेरिने’ भन्ने उक्तिलाई चरितार्थ गरेको स्पष्ट देखिन्छ ।
दायाँबाट वडा नम्बर ५ का वडा अध्यक्ष शम्भु फुयाँल, वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद फुयाँल लगायत ।
बुधबारदेखि नगरकोटमा सुरु भएको तीन दिने आधारशीला तालिममा पालिका अध्यक्ष प्रोणप्रताप केसी, उपाध्यक्ष सीर्जना सुवेदी, प्रमुख प्रशासकीय अधिकृत बद्री शर्मा वाग्ले, इन्जिनियर राजकिशोर यादव, कृषि अधिकृत विदुर प्रसाद तिमल्सिना, सूचना प्रविधि अधिकृत पवनराज फुयाँल, पशु विकास शाखा प्रमुख लिला बहादुर केसी सहभागि भएका छन् । त्यसैगरी वडा अध्यक्षहरुसहित कतिपय कार्यपालिकाका सदस्य तथा वडा सदस्यहरु समेत तालिम सहभागि हुन भन्दै नगरकोट पुगेर घुमघाम गरेका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद फुयाँल र कार्यपालिका सदस्य सुमन मिजार ।
पालिकाको पैसामा परियोजनाको रजाँई, तालिमको नाममा पालिकामाथि नै खर्चको बोझ
गाउँपालिकासँगको साँझेदारीमा हेफर प्रोजेक्टले ‘तामाकोशी कृषि तथा पशु व्यवसाय प्रबर्द्धन कार्यक्रम’ सन् २०२३ को जनावरी २४ देखि २०२४ को जुन ३० तारिखसम्म सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ । करिब डेढ बर्षको अवधिमा झण्डै चार करोड अर्थात ३ करोड ९४ लाख ७५ हजार ६ सय ७१ रुपैयाँ खर्च हुनेछ । जसमध्ये ७५ प्रतिशत अर्थात २ करोड ९३ लाख ७० हजार गाउँपालिकाले व्यहोर्नुपर्नेछ भने २५ प्रतिशत अर्थात १ करोड १ लाख ५ हजार ६ सय ७१ हेफर प्रोजेक्टले व्यहोर्ने छ ।
परियोजनाले चालु आर्थिक बर्षभित्र एक करोड रुपैयाँ पालिकाले व्यहोर्न भनेको भएपनि रकम अभाव भन्दै गाउँपालिकाले कृषिमा २५ लाख र पशुमा २५ लाख गरी जम्मा ५० दिने तयारी गरेको छ । लेखा प्रमुख रामकुमार कार्कीका अनुसार पालिकाले हालसम्म ५० लाखको २० प्रतिशत हुन आउने १० लाख रुपैयाँ रकम पेश्की स्वरुप परियोजनालाई उपलब्ध गराएको छ ।
हेफर प्रोजेक्टसँग भएको परियोजना सम्झौताको एक अंश ।
पालिकाको सिङ्गो टिम टिम तालिम भन्दै नगरकोट गएपछि सामाजिक सञ्जालमै पालिकाको आलोचना हुन थालेको छ ।
हेफर प्रोजेक्टको परियोजना तामाकोशी गाउँपालिकामा असल शासन समन्वय समिति दोलखाले सञ्चालन गरीरहेको छ । सोहि परियोजना मेलुङ गाउँपालिकामा सामुदायिक विकास मञ्च दोलखाले सञ्चालन गरीरहेको छ । यसअघि ठूलो रकमको साँझेदारी गैरसरकारी संस्थासँग गर्न उपयुक्त नरहेको निष्कर्षसहित भिमेश्वर नगरपालिकाले उक्त परियोजना अस्वीकृत गरेको थियो ।