भाषा सँस्कृतिको जननी हो भने सँस्कृति हरेक समुदायको पहिचान मानिन्छ । नेपाल आफैँमा बहुजाति, बहुभाषी र बहुधर्म सँस्कृतिको देश भनेर चिनिन्छ । यहि देशभित्रका हरेक ठाउँको आ–आफ्नै मौलिक पहिचान रहेको छ । सँस्कृति हाम्रो व्यवहारमा झल्किने कुरा हो । तथापि सँस्कृतिलाई जोगाई रहनका लागि भौतिक रुपमा कतिपय साँस्कृतिक सम्पदाको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ । यीनै भौतिक रुपमा स्थापित साँस्कृतिक सम्पदाले सँस्कृतिको हस्तान्तरण तथा पुस्तान्तरणमा समेत ठूलो टेवा पुर्याउने गर्दछन् ।
दोलखाको भीमेश्वर नगरपालिका साँस्कृतिक तथा धार्मिक सम्पदासहित सँस्कृतिले भरिपूर्ण नगरीको रुपमा चिनिँदै आएको छ । क्षेत्री, नेवार, तामाङ, थामी लगायतका विभिन्न जातजातिको बसोबास रहेको यो नगरपालिका यीनै जातिहरुले मान्ने धर्म, सँस्कृति, चाडपर्व अनि मेला जात्राका कारण साँस्कृतिक रुपमा सम्पन्न भएको कुरामा दुई मत छैन् । तर यी संस्कार सँस्कृतिलाई उत्तिकै मात्रामा संरक्षण, संबर्द्धन र यथोचित प्रचारप्रसारको आवश्यक छ ।
“दोलखाको इतिहाँस नलेखी नेपालको इतिहाँस पूरा हुँदैन” भन्ने इतिहाँस शिरोमणि बाबुराम आचार्यको भनाईबाट दोलखाको ऐतिहाँसिक तथा धार्मिक र साँस्कृति महत्व कति छ भनेर बुझ्न खासै अफ्ठ्यारो नहोला । अर्कोतिर आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने साक्षत शक्तिशाली दोलखा भीमसेनको विशेषतासहितको जनविश्वासका कारण पनि धार्मिक महत्व बढ्दै गएको पाईन्छ ।
दोलखा भीमेश्वरको मन्दिर परिसर ।
खरिढुङ्गाको शिवपोखरी, महाङ्काल,.टहलेश्वरी महादेव, बुढाभीमसेन मन्दिर यहाँका धार्मिक स्थल हुन् । वडा नम्बर १ को राङराङथलीमा रहेको थामी सङ्ग्रहालय, भूमेथान सहितको तिलक पोखरी र वडा नम्बर ४ मा निर्माणाधिन पाण्डव पार्कले यहाँको अर्को परिचय बोकेर उभिएका छन् ।
भीमेश्वर नगरपालिका क्षेत्री, नेवार, तामाङ, थामी, ब्राह्मण लगायतका विभिन्न जातजातिको बसोबास भएको क्षेत्र हो । जातिय विविधतासँगै भाषिक, धार्मिक, साँस्कृतिक पहिचानका लागि मन्दिर, गुम्बा, चैत्य, स्तुपा, जातिय सङ्ग्रहालय लगायतको विकास र संरक्षणमा स्थानीय सरकारले चासो दिँदै आएको छ । सरोकारवालाको चासोकै कारण यीनै सम्पदा हेर्न र घुम्न आन्तरिक र बाह्य पर्यटकहरु भीमेश्वर नगरपालिका भित्रिँदा नगरपालिकाको मात्र नभएर जिल्लामै पर्यटन व्यवसायमार्फत आर्थिक समृद्धिमा टेवा पुग्ने नगरपालिकाको अपेक्षा छ । प्राचीन तथा ऐतिहाँसिक दोलखा बजारमा रहेको प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर सहितका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुमा बर्षेनी हजारौं पर्यटक आउँने गरेका छन् ।
नेपालमै नेवारी समुदायको उद्गमस्थल भनेर मानिने प्राचीन दोलखा बजारमा बर्षैभरी नेवारी सँस्कृतिमा आधारित चाडपर्व, मेला, पर्व, जात्रा चलिरहेका हुन्छन् । मच्छिन्द्रनाथको रथ तान्ने जात्रा, गाईजात्रा, भैरवकुमारीको जात्रा, खड्गजात्रा लगायतका दर्जनौं चाड तथा मेलापर्वहरु मनाउने गरिन्छ । मच्छिन्द्राथको रथ तान्ने जात्राले मच्छिन्द्रनाथ भनेर चिनिने सहकालका देवतालाई खुसी पारेपछि पानी पर्ने र अन्नपात राम्रोसँग फल्ने सँस्कृतिका जानकार तीर्थनारायण जोशीको भनाई छ ।
हराएको २८ बर्षपछि राजा जयइन्द्रसिंह देवको बज्रधर मुर्ति ।
मध्यकालिन समयमा दोलखा राज्यमा राजा जयइन्द्रसिंह देवले राज्य गरेको ईतिहाँस छ । राजा जयइन्द्रसिंह देवले नेपालमै पहिलो पटक चाँदीको मोहोर बनाएर अर्को इतिहाँस कायम गर्नुभएको ईतिहाँसका जानकार स्थानीय शान्तकृष्ण श्रेष्ठले बताउनुभयो । राजा जयइन्द्रसिंह देवको पालामा दोलखा राज्यका जनताहरु सुखी र खुसी राख्नको लागि सभ्यतामा आधारित समाज निर्माण गरी सभ्य र सुसँस्कृत बनाईएको विश्वास गरिन्छ ।
चरिघ्याङस्थित चरिघ्याङ गुम्बा पनि भीमेश्वर नगरपालिकाको अर्को साँस्कृतिक सम्पदाको रुपमा चिनिएको छ । खासगरी तामाङ समुदायको संरक्षणमा रहेको यो गुम्बा २०७२ सालको भूकम्पबाट ध्वस्त बनेकोमा पुरातत्व विभागले पुनःनिर्माण गरेको छ । यो गुम्बालाई विसं १६५८ मा तत्कालीन राजाले लालमोहर प्रदान गरेको र विसं १८१८ फागुन ९ गते पृथ्वीनारायण शाहले प्राचीन गुम्बाको सूचीमा सूचीकृत गर्न लगाएको इतिहाँस रहेको छ ।
भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतिस्थित राङराङथलीमा गोलाकार स्वरुपमा बनेको तिलक पोखरी भूमेथानसहित बनेको छ । राङराङथलीलाई थामी जातीको उद्गम थलोको रुपमा मानिन्छ । यहाँ अहिले पनि थामी जातिले परम्परागत भुमे पूजा गर्दै आएका छन् । यहाँ नेपालकै पहिलो थामी सङ्ग्रहालय निर्माण भएको छ । थामी जातिका पुर्खाले बस्ती बसालेको भग्नावशेष संग्रहालय निर्माणस्थलमा फेला परेको थामी समुदायका अगुवाहरुले बताएका छन् ।
यहाँ भेटिएका भग्नावशेषले यसलाई पुष्टि गरेको स्थानीय अगुवा गोपाल थामीले बताउनुभयो । त्यसवेला प्रयोग गरिएको चुलो, पानी पिउनका लागि प्रयोग गरिएको पोखरी, बस्न प्रयोग गरिएको ओढार पनि फेला परेका हुन् । यीनै विशेषताका कारण राङराङथली तिलक पोखरी र थामी सङ्ग्रहालय थामी जातिको साँस्कृतिक पक्षसँग जोडिएका महत्वपूर्ण सम्पदा बनेका छन् ।
भीमेश्वर नगरपालिका वडा नं १ राङराङथलीमा निर्मित थामी सङ्ग्रहालय ।
यसरी विभिन्न जाति, धर्म तथा सँस्कृतिसँग जोडिएर बनेका साँस्कृतिक सम्पदालाई भीमेश्व नगरपालिकाले महत्वका साथ निर्माण, पुनःनिर्माण र संरक्षण गर्दै आईरहेको छ । यति मात्र नभई यी संस्कार सँस्कृतिलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर विद्यालय तहमा पठनपाठन गराउने प्रबन्ध गर्न सके यी भौतिक साँस्कृतिक सम्पदा भत्किए पनि नागरिकको मानसपटलमा यो सँस्कृति र साँस्कृतिक सम्पदा जिवित बनिरहने छन् ।