सियो खोइ सियो
ऐले यहिँ थियो....... ।
राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेख्नुभएको यो बाल कविता मैले मेरो स्मरणमा रहेसम्म कक्षा दुईमा पढेको हो । र अहिले पनि यो ताजा जस्तै लाग्छ ।
खासमा मलाई यो कवितालाई झन् ताजा बनाउने काम हिजो बुधबार (२७ असार २०८०) दोलखाका कतिपय पत्रकार तथा मिडियाका फेसबुक पेज र ग्रुपहरुमा सार्वजनिक भएको जरायोको तस्बिरले गरेको हो । बुधबार राति अबेरसम्म पत्रकारसहित विभिन्न व्यक्ति तथा मिडियाका पेज र ग्रुपहरुमा देखिएको तस्बिर बिहीबार बिहानै एकाएक गायब भएका छन् ।
आफ्नो फेसबुकमा पहिलो पटक ‘शैलुङ र भीमेश्वरको बिच चर्नावती खोलामा जे देखियो त्यहि कैद भयो’ भनेर भीमेश्वर नगरपालिकाका सवारी चालक शिव खड्काले पोष्ट गर्नुभएको हो । आफ्नो फेसबुक वा फेसबुक पेजमा चर्णावती खोलामा जरायो भेटिएको भनी फोटोसहित पोष्ट गर्नेहरु अधिकांशले शिव खड्कालाई स्रोत उल्लेख गरेर नै पोष्ट गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका निवर्तमान अध्यक्ष समेत रहनुभएका पत्रकार जीवन लामाले आफूले पोष्ट गरेको तस्बिर पोष्ट उल्लेख गरे जस्तो चर्णावती खोलाको नभएको भन्दै क्षमा मागेर पोष्ट हटाएको जानकारी दिनुभएको छ । अन्य अधिकांश मिडिया वा व्यक्तिले सुटुक्क पोष्ट हटाएका छन् ।
किन हटाईए जरायोको तस्बिरसहितका फेसबुक पोष्ट ?
भीमेश्वर नगरपालिकाका सवारी चालक शिव खड्काले पोष्ट गरेका जरायोका तस्बिरहरु दोलखाको शैलुङ र भीमेश्वर नगरपालिकाको सिमाना चर्णावती खोलाको नभएको पुष्टी भएपछि अधिकांशले पोष्ट हटाएका हुन् ।
यस्तो छ जरायोको तस्बिरको वास्तविकता
फेसबुकमा गुड बुल गाइडेड नामक फेसबुक पेजमा दुईओटा जरायो खोला तर्दै गरेको भिडियो रिलको रुपमा राखिएको छ । यो पेजमा संयुक्त राज्य अमेरिकाको कोलोराडो भन्ने ठाउँको ठेगाना उल्लेख छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
जरायोले दोलखाको पत्रकारितामा दिएको सन्देश
पत्रकार भन्ने पहिचान पत्रकारिता पेशाको पहिचान हो । यसको मतलब पत्रकारको व्यक्तिगत जीवन र विचार हुँदैन भन्ने बुझ्न पक्कै पनि मिल्दैन् । तर पनि पत्रकारलाई मिडियाको आधिकारिक व्यक्ति भनेर आम मानिसले बुझ्ने भएकोले हामीले गरेका सार्वजनिक विषयका पोष्टहरु पनि उत्तिकै अर्थपूर्ण मानिन्छन् । पत्रकार र पत्रकारिता क्षेत्रबाट धेरै राम्रा कामहरु भएका छन् । तर रातारात गरिएको पोष्ट बिहान बिहानै हटाउनुपर्ने अवस्था सिर्जना हुनु दोलखाका पत्रकार र पत्रकारिता क्षेत्रकै लागि एउटा लज्जाको विषय बन्न पुगेको छ ।
एकातिर सत्य तथ्य नबुझी पोष्ट गर्न हतारिनु र अर्कातिर जानकारी नै नदिई सुटुक्कै पोष्ट हटाउनुले पत्रकारिताको कस्तो अभ्यास भईरहेको छ भन्ने उदहारण बनेको छ । ‘अनुजा बानिँया काण्ड’ भोगेको बिबिसी नेपाली सेवासहितको नेपाली मिडियाका लागि जरायोको विषय सानो देखिए पनि यसले दिएको सन्देश ‘अनुजा बानिँया काण्ड’ को भन्दा पक्कै पनि सानो छैन् ।
चोरी पत्रकारिता अर्थात अरुले लेखेको समाचार स्रोतको उल्लेख बिना नै साभार गरेर प्रकाशन गर्ने घटना बढ्दो क्रममा रहेका गुनासा सार्वजनिक भईरहेको बेला जरायोको तस्बिर काण्डले यसलाई पुष्टी गर्न सघाएको छ । स्रोतको सम्पर्क बिना र आधिकारिक पुष्टी नगरी सामाजिक सञ्जालमा पोष्ट गर्ने मिडिया र मिडियाकर्मीले स्रोतलाई दोष दिएर आफू उम्कन खोज्नु भनेको पानीमाथिको ओभानो बन्न खोज्नु जत्तिकै हो ।