दोलखा । गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको खर्चको विवरण नबुझाउने दोलखाका १३ जना उम्मेद्वार जरिवानामा परेका छन् ।
मङ्गलबार निर्वाचन आयोगले समयमा खर्चको विवरण नबुझाउने उम्मेद्वारहरुको नामावली सार्वजनिक गरेकोमा दोलखाका १३ उम्मेद्वार पनि परेका हुन् । जस अनुसार प्रतिनिधिसभातर्फका ७ र प्रदेशसभातर्फका ६ उम्मेद्वार जरिवानाको सूचीमा रहेका छन् ।
जरिवानाको सूचीमा पर्ने प्रतिनिधिसभाका उम्मेद्वारहरु खिम बहादुर शिवाकोटी (नेकपा माले), लोक बहादुर खड्का (नेपाली काङ्ग्रेस वि.पी), जनार्दन पोखरेल (जनसमाजवादी पार्टी, नेपाल), ठाकुर बहादुर बुढाथोकी (स्वतन्त्र), राम बहादुर सुवेदी (स्वतन्त्र), टंक बहादुर खाती (स्वतन्त्र) र गोपाल नेपाली ( लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) रहेका छन् ।
त्यसैगरी प्रदेसभातर्फका उम्मेद्वारहरु भीमसेन बजगाँई (नेपाल आमा पार्टी), सुरेश कार्की (जनसमाजवादी पार्टी नेपाल), टिका बहादुर तामाङ (स्वतन्त्र), जित बहादुर जिरेल (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल), शान्तकुमार खत्री (नेकपा माले) र अमृत बहादुर चौलागाँई (नेपाल आमा पार्टी) जरिवानामा परेका छन् ।
निर्वाचन आयोगले निर्वाचन (कसुर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँ जरिवाना तोकेको छ । गत २०७९ को मंसिर ४ मा भएको निर्वाचनको खर्च विवरण २०८० को बैशाख ६ देखि १२ गतेभित्र सम्बन्धित निर्वाचन कार्यालयमा लिखित जानकारी गराउन भनिएकोमा जानकारी नगराउने उम्मेद्वारलाई निर्वाचन आयोगले जरिवाना तिराउन लागेको हो ।
सात दिनभित्र जरिवाना तिरेको भौचरसहित खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउन आयोगले भनेको छ ।