दोलखा । कालिञ्चोक गाउँपालिकाले कुभिन्डेमा पालिकाको स्थायी केन्द्र तोके पनि तत्काल कुनै काम कारबाही अगाडि बढाउन नपाउने भएको छ ।
पालिकाको वडा नम्बर–४ कुभिन्डेलाई केन्द्र तोकिएको ठाउँ राष्ट्रिय वन क्षेत्रमा पर्ने भएकोले नेपाल सरकारबाट भोगाधिकार नलिएसम्म कुनै पनि संरचना निर्माण गर्न नपाउने डिभिजन वन कार्यालय दोलखाका प्रमुख थिर बहादुर कार्कीले जानकारी दिनुभयो । भिलेज खबरसँग कुराकानी गर्नुहुँदै डिभिजन प्रमुख कार्कीले भन्नुभयो,“गाउँसभाले गरेकै निर्णयका आधारमा जग्गा नाप जाँच वा भवन बनाउन जग खन्ने जस्ता काम सुरु भएमा कानून अनुसार हामीले रोक्नुपर्ने हाम्रो कर्तव्य हुन्छ ।”
जग्गा प्राप्तीका लागि राष्ट्रिय गौरवको कार्यक्रम वा प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने, वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको तयारी, वन तथा वातावरण मन्त्रालयको स्वीकृति, मन्त्रीपरिषद्बाट स्वीकृत गरेर वन विभागसँग सम्झौता गरी तोकिएका सर्तको पालना गर्नुपर्ने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने डिभिजन प्रमुख कार्कीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले सामुदायिक वनसँग सहमति लिएर वनको जग्गामा पालिका केन्द्र तोकिएको बताउनुभयो । जग्गा प्राप्ती ऐन बमोजिम भोगाधिकारका लागि वातावरणीय प्रभाव मुल्याङ्कनको काम भईरहेको र प्रतिवेदन तयार भएपछि कार्यपालिकाबाट निर्णय गरेर मन्त्रीपरिषद्मा लैजाने शिवाकोटीको भनाई छ ।
धरान उपमहानगरपालिकाले साबुन उद्योग सञ्चालनका लागि वनको जग्गा प्राप्त गर्न नसकेको स्मरण गर्नुहुँदै डिभजन प्रमुख कार्कीले जग्गा प्राप्तीका लागि कानुनमा तोकिए बमोजिमका सर्तहरु पूरा गर्न सहज नरहेको बताउनुभयो ।
यहि श्रावण २२ गतेको गाउँसभाले दुई तिहाई बहुमतसहित वडा नम्बर ४ स्थित कात्तिके सामुदायिक वन क्षेत्रमा पर्ने कुभिन्डेलाई स्थायी केन्द्र तोकेको छ ।