दोलखा । तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र जफेको छौँडे बजारमा बनाउनु उचित हुने भन्दै स्थानीयले सक्रियता देखाएका छन् ।
छौँडेलाई केन्द्र तोकेमा स्थानीयले पालिकाको भौतिक संरचना निर्माण सम्पन्न नहुञ्जेलसम्मको लागि आफ्ना घरहरु निःशुल्क प्रयोग गर्न दिने भएका छन् । गाउँसभामा पालिकाको स्थायी केन्द्र तोक्ने विषयले प्राथमिकता पाउन लागेको चर्चा चलिरहेको बेला सोमबार बसेको स्थानीयहरुको बैठकले निःशुल्क घर उपलब्ध गराउने निर्णय गरेको हो ।
छौँडेमा रहेको प्रहरी चौकी, पशु सेवा केन्द्र, स्वास्थ्य इकाइको भवन, सामुदायिक वनको भवन बाहेक स्थानीयले व्यक्तिगत घरका करिब ३ दर्जन कोठा निःशुल्क प्रयोग गर्न दिने निर्णय भएको स्थानीय प्रदिप महतले जानकारी दिनुभयो ।
यसअघि गत फागुनमा केन्द्र तोक्ने विषय गाउँसभामा पेश भएपछि छौँडेमा २५ रोपनी सार्वजनिक जग्गा रहेको र आवश्यक परे स्थानीयबासीले ३३ रोपनी जग्गा दिने निर्णय गरिसकेका छन् ।
वि.स.२०२३ सालदेखि दोलखा तथा रामेछापका दर्जनौं गाविसहरुको हाट बजार केन्द्रको रुपमा व्यापारिक गतिविधि हुने गरेको, प्रहरी चौकी, पशु सेवा केन्द्र, नागरिक आरोग्य केन्द्र, विद्यालय लगायतको सार्वजनिक सेवा केन्द्रहरु रहेकोले पनि छौँडे उपयुक्त हुने स्थानीयको निष्कर्ष रहेको छ ।
गत फागुन २९ गतेको गाउँसभामा जफेको मानेडाँडा, मालुको डाडागाउँ र जफेको छौँडे बजारमध्ये कुनै एक ठाउँलाई केन्द्र तोक्ने विषयमा छलफल भएको भएपनि केहि जनप्रतिनिधि मतदान प्रक्रियामा सहभागि नहुने जनाएपछि गाउँसभाको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।