दोलखा । चरिकोट बजारका अधिकांश खाद्यन्न पसलमा म्याद गुज्रिएको पेय पदार्थ भेटिएको छ ।
भीमेश्वर नगरपालिकाले आईतबारदेखि शुरु गरेको चाडपर्व लक्षित बजार अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रिएको पेय पदार्थ भेटिएको हो । दशैँ तिहार जस्ता चाडमा अत्याधिक खपत हुने कोकाकोला, फेन्टा, स्प्राईट, ड्यु, स्लाईस, पेप्सी, मिरिन्डा लगायतका पेय पदार्थ म्याद गुज्रिएको अवस्थामा फेला परेको नगरपालिकाका बजार निरिक्षण अधिकृत माधव प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
म्याद गुज्रिएको अवस्थामा भेटिएका पेय पदार्थ सम्बन्धित पसलमै सिल नखोली नष्ट गरिएको छ । त्यसैगरी चामल, चिउरा, मसला, चियापत्ति, मुराई, पानपूरी मसला, पापड लगायतका बस्तुहरु जफत गरिएको सुवेदीले बताउनुभयो ।
अनुगमनको क्रममा कतिपय पसलमा म्याद गुज्रिएका सामान राखिएको, नगरपालिकामा व्यवसाय दर्ता नभएको, साईनबोर्ड नभएको, मुल्य सूची नभएको जस्ता समस्या देखिएको छ । म्याद गुज्रिएको पेय पदार्थ धेरै भेटिएपछि चरिकोटमा रहेका पेय पदार्थका डिलरमै समेत पुगेर अनुगमन गरिएको छ ।
पहिलो पटकका लागि म्याद गुज्रिएका सामान जफत गरेर सचेत गराईएको र तोकिएको समयभित्र निर्देशन गरिएका काम नभएका पुनः अनुगमन गरेर कानुन बमोजिम कारबाही गरिने अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख कमला बस्नेतले बताउनुभयो । चाडपर्वको बेला व्यापारीले अस्वस्थकर खानेकुरा बेच्न सक्ने जोखिम धेरै रहेकोले कडाईका साथ बजार अनुगमन गरिएको उहाँको भनाई छ ।
आईतबार र सोमबार गरी चरिकोटका तीन दर्जन बढी पसलको अनुगमन गरिएको छ । अनुगमनमा भीमेश्वर नगरपालिकाकी अनुगमन समिति संयोजक कमला बस्नेत, निरिक्षण अधिकृत माधव प्रसाद सुवेदी, दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव सुरेश उप्रेति, जिल्ला प्रशासनका प्रतिनिधि, प्रहरी प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको छ ।