रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक विस्तारको कामले गति लिएको छ । लकडाउनमा रोकिएको काम अहिले धमाधम भइरहेको छ ।
मैलुङदेखि स्याफ्रुबेसीसम्म १९ किलोमिटर सडक चौडा गर्ने कामले तीव्रता पाएको गल्छी–त्रिशूली– मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । यो सकड विस्तारको काम गर्न भार कन्स्ट्रक्सन/सिद्धिसाही जेभीलाई ठेक्का दिइएको छ । साढे दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
अहिले करिब ६ देखि नौ मिटर चौडाइ रहेको सडकलाई १२ मिटर चौडाइको बनाउने काम भइरहेको आयोजना प्रमुख भण्डारीले बताए । अहिलेसम्म तीन किलोमिटर सडक विस्तारको काम सम्पन्न भएको छ । यो सडक विस्तारका लागि एक अर्ब ४५ करोड लाग्ने अनुमान छ । सडक विस्तारअन्तर्गत अहिले नाला खन्ने, सडक चौडा गर्ने, रिटेनिङ वाल लगाउने काम भइरहेको छ । त्यसका लागि १२ वटा स्काभेटर, दुई सय ५० भन्दा बढी कामदार खटिएको आयोजनाले जनाएको छ । सडक सञ्चालन गरेर नै काम भइरहेको आयोजना प्रमुख भण्डारीले बताए ।
राष्ट्रिय प्राथमिकताप्राप्त मैलुङ–स्याफ्रुबेसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । रसुवागढी जोड्ने यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती– कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ भने बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।
पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा २२ घुम्ती पार गर्नुपर्छ भने यो सडकमा एउटा पनि घुम्ती छैन । काठमाडौदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्रु १७ किमि रहेको छ । काठमाडौ ंबाट बेत्रावती–धुन्चे– रसुवागढीको दूरी एक सय ४५ किलोमिटर रहेको छ भने काठमाडौ ंबाट बेत्रावती–मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी एक सय २२ किलोमिटर मात्र हुनेछ ।
यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने हुँदा कन्टेनरचालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित भएको छ ।